दुर्गम गाउँमा डेढ दर्जन झोलुङ्गे पुल बनेपछि फेरिदै स्थानीयको दैनिकी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । “हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गर्थ्याैँ, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।” निसीखोला गाउँपालिका-६ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारी गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नु पर्छ । तीन वर्ष अगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ-घर गर्नु हुन्थ्यो । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ ।

पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर दैनिकीनै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने ममता दिनमा १०/१२ पटक खोला वारपार गर्नुहुन्छ । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उहाँमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पिरले पनि सताउन छोडेको छ । पुल बनेपछि मान्छेसँगँ पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उहाँ बताउनुहुन्छ । पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताउनुभयो ।

वि.सं. २०७६ साल यता निसीखोलामा झण्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाई दिएको छ । गाउँपालिकाको ठाउँ-ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरि रहेको छ । निसीखोला गाउँपालिका-४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गथ्र्यो तर पुल नहुँदा स्थानीयले झाण्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए ।

अहिले जोगिथुम्पाका-बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकैछिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोलानै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दंग परेको स्थानीय तिर्थबहादुर क्षेत्रीले बताउनुभयो । पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उहाँ बताउनुहुन्छ ।

क्षेत्रीले भन्नुभयो - “लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय-समयमा खोला तर्दा केही ज्यान पनि गुमाए, तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठमो फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन् ।”

ADVERTISEMENT

चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म वडा नम्बर १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नम्बर २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नम्बर ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नम्बर ४ मा कारीखोलाघाट, वडा नम्बर ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नम्बर ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ । संघीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उहाँले बताउनुभयो ।

पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९/८० देखि हालसम्म निर्माण भएका सात वटा झोलुङ्गे पुलको एक करोड ७६ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको गौतमले बताउनुभयो । संघीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नकसको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताउनुभयो । नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । निसीखोलामा स-साना दर्जनौ खोलाहरु रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उहाँको भनाइ छ । पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँच/दश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।

“पाँच वर्ष अगाडिसम्म निसीखोला क्षेत्रमा थोरै मात्र झोलुङ्गे पुल थिए, थोरै पुलमा धेरै जनताले यात्रा गर्नु पर्ने बाध्यता थियो, ठाउँ-ठाउँमा काठका साँघु हालेर खोला वारपार गर्ने गर्थे, त्यसी यात्रा गर्दै धेरैले ज्यानसमेत गुमाए” अध्यक्ष घर्ती मगरले भन्नुभयो - “जब स्थानीय सरकार आयो त्यस यता धेरै पुल बने, अझै बन्ने क्रममा छन्, पुलले नागरिकलाई सहज बनाउने त भयोनै ज्यान पनि बचाउछ, समय पनि बचाउछ, आवश्यक पर्ने ठाउँमा पनि क्रमैसँग पुल बन्ने छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज