काठमाडौं । भरतपुर महानगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषले सहकार्य गर्ने भएका छन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच महानगरका युवालाई लगानी गरी रोजगारी प्रदान गर्न दुई संस्थाबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ । कोषले सुरक्षण कार्यक्रममार्फत् बैंक वित्तीय संस्थाले प्रवाह गरेको लघु तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, साना मझौला उद्यम कर्जालगायतका अन्य विविध कर्जा सुरक्षण गर्दै आइरहेको छ । सूचना प्रविधि तालिमका लागि बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो अधिकतम् पाँच लाखसम्मको कर्जा तीन वर्ष अवधिका लागि प्रशिक्षार्थीले प्राप्त गर्नेछन् । उक्त कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ ।
कर्जाको पहिलो वर्षको ब्याज र कर्जा सुरक्षण शुल्कमा महानगरको अनुदान रहने प्रस्तावनामा उल्लेख छ । अनुदान प्रयोजनका लागि महानगरले आफ्नो क्षेत्रभित्रका प्रशिक्षार्थीमा प्रवाहित कर्जाको २५ प्रतिशत रकम सुरक्षण कोषका रूपमा निक्षेप तथा कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था छ । सुरक्षण कोषको स्वामित्व महानगरमै रहने र कोषको सुरक्षण दायित्व समाप्तिपछि बाँकी रकम महानगरमा नै फिर्ता हुने गरी कार्यक्रममा प्रस्तावित गरिएको छ ।
स्वदेशी बसाइ विदेशी कमाइ, बैंकको लगानी सरकारी जमानी भन्ने मूल नारासहित सूचना प्रविधिसँग सम्बन्धित स्थानीय तथा अनलाइन रोजगारी बजारमा उपलब्ध रोजगारीका लागि शिक्षित युवालाई आवश्यक सीप विकास गराउने उद्देश्यले कार्यक्रम तय गरिएको र प्रस्तावित कार्यक्रमबाट तालिमका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रशिक्षार्थीले सहज र सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र कोषका अन्य कर्मचारीको उपस्थिति थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts