काठमाडौं । आफैँ नेतृत्वको सरकारका कामबाट स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्ण सन्तुष्ट हुनुहुन्न । यसको स्वीकारोक्ति उहाँ आफैँले सार्वजनिक रूपमा बारम्बार गरिसक्नु भएको छ । सरकारका कामलाई अझै प्रभावकारी बनाउने योजना पनि उहाँसँगै छ । प्रभावकारी काम गर्न नसकेका मन्त्री फेर्ने । जुन कुरा पनि उहाँले लामो समयदेखि सार्वजनिक रूपमा व्यक्त गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले मन्त्री फेरेर भए पनि सरकारका कामलाई थप प्रभावकारी बनाउने घोषणा गरेकै महिना दिन बढी भइसक्यो । तर, अहिलेसम्म मन्त्री फेर्ने कुनै छाँटकाँट छैन । बरु मन्त्रिपरिषद् पुनर्गठनको विषय विस्तारै ओझेलमा पर्न थालेको छ । मन्त्री फेर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसले कुनै ‘सिग्नल’ नदिएपछि प्रधानमन्त्रीको मन्त्री फेर्ने चाहना हालसम्म अधुरै रहेको हो । आलोचना भइरहे प्रभावहीन मन्त्रीलाई फिर्ता बोलाउनेबारे कांग्रेसले कुनै चासो देखाएको छैन । अझै कम्तीमा साढे दुई महिना यही मन्त्रिमण्डलले निरन्तरता पाउने निश्चितप्रायः छ । कांग्रेसले आगामी महासमिति बैठकलाई कारण देखाएर अहिले मन्त्रिमण्डल हेरफेरप्रति चासो दिएको छैन । कांग्रेस मात्रै होइन अर्को सत्ता साझेदार दल एकीकृत समाजवादी पनि अहिलेका मन्त्रीहरूले कम्तीमा एक वर्षे कार्यकाल पूरा नगरेसम्म फिर्ता बोलाउने मनस्थितिमा देखिँदैन ।
सत्ता सहयात्रीले साथ नदिँदा मन्त्रिमण्डल हेरफेर गरेर सरकारको कामलाई तीव्रता दिने प्रधानमन्त्री ‘प्रचण्ड’को चाहना अझै केही महिना अधुरै रहने देखिएको छ । उसो त एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ स्वयंले गत साउनमै मन्त्रीलाई कार्यसम्पादन मूल्यांकन फाराम भर्न लगाउनुभएको थियो । यसमा उत्तीर्णलाई पुरष्कृत र अनुत्तीर्णलाई कारबाही गर्ने पनि बताउनुभएको थियो । तर, साउनपछि प्रधानमन्त्रीले आफैँले गरेको वाचालाई कार्यान्वयन गर्न सक्नुभएको छैन ।
तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छैन : गुरुङ
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताउनुभएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले अहिले नै मन्त्री परिवर्तन गरिहाल्ने परिस्थिति नरहेको स्पष्ट पार्नुभयो । मन्त्री फर्ने नभई भएकाले काम देखाउनुपर्ने उहाँको भनाइ थियो । ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’ उहाँले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषयमा पनि सहमतिकै आधारमा टुंगो लगाइने बताउनुभयो । ‘मैले प्रमुख तीन दलका तीन नेताहरूलाई नै यो तपाईंहरूको विषय हो भन्दै आएको छु,’ उहाँले भन्नुभयो, ‘यसमा केही विषयमा मात्रै मतभिन्नता छ । अब टुंगोमा पुग्नुपर्छ ।’ सकभर सहमति, नभए प्रक्रियामा गएर भए पनि टिआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ थियो ।
मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीको मात्रै हातमा छैन : साह
नेकपा (माओवादी केन्द्र)का सचिव गणेश साह मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीको हातमा मात्रै नरहेको बताउनुहुन्छ । सत्ता सहयात्रीले नचाहीकन मन्त्री फेरिने सम्भावना नरहेको उहाँले बताउनुभयो । अहिले सत्ता सहयात्रीहरू मन्त्री फेर्ने मनस्थितिमा नदेखिएको उहाँको भनाइ छ । ‘मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीको हातमा मात्रै छैन । मन्त्री फेर्ने कुरा गठबन्धनसँग सम्बन्धित दलहरूको इच्छामा भरपर्छ,’ उहाँले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘कांग्रेसले नचाहीकन हुँदैन । वा अरू सहयात्री पार्टीले पनि नचाहीकन हुँदैन । गठबन्धनका सबै पार्टीहरूले आफ्नो मन्त्री फर्ने मनस्थिति बनाएको देखिँदैन ।’ प्रधानमन्त्री प्रचण्डको बाँकी कार्यकालभर प्रमुख मन्त्रालय फेरिने सम्भावना नरहेको उहाँको विश्लेषण छ । ‘प्रधानमन्त्रीज्यूको बाँकी कार्यकालभर प्रमुख मन्त्रालयमा मन्त्री फेरिने सम्भावना एकदमै न्यून देख्छु,’ उहाँले भन्नुभयो, ‘केही सामान्य मन्त्रालयका मन्त्री फेरिन सक्छन् । त्यो पनि अरू पार्टीमै भर पर्छ ।’
गठबन्धन र सरकार दुवैसँग असन्तुष्ट जनमत
जनमत पार्टी गठबन्धन र सरकार दुवैसँग सन्तुष्ट छैन । गठबन्धन र सरकारसँग जनमतले सरकारबाट बाहिरिने तयारी गरेको छ । मधेश सरकारबाट बाहरिएको जनमत संघीय सरकारबाट पनि बाहिरिने तयारीमा छ । जनमत सत्ता गठबन्धनका बैठकमा समेत जान छाडेको छ । यसअघि माघ ११ गते भएको राष्ट्रियसभा चुनावमा पनि जनमत एक्लै लडेको थियो । मंगलबार बसेको गठबन्धन बैठकमा समेत जनमत सहभागी भएन । जनमतले मधेशमा सरकारको नेतृत्व माग गरेको छ । आलोपालो सहमतिअनुसार मधेश सरकारको नेतृत्व अब आफूहरूले पाउनुपर्ने जनमतको दाबी छ । मधेशमा जसपा नेतृत्वको सरकार छ । जसपाले एक वर्ष नेतृत्व गरेपछि जनमत र कांग्रेसले दुई/दुई वर्ष नेतृत्व गर्ने सहमति बनेको जनमतको दाबी छ । जनमतबाट संघमा संघीय मामिला मन्त्री अनितादेवी हुनुहुन्छ ।
इतिहासले सम्झिने गरी काम गरेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको दाबी गर्नुभएको छ । बुधबार नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्षमा इतिहासले सम्झिने गरी काम अघि बढाएको दाबी गर्नुभयो । सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललितानिवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुन काण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्य शक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास गरेको उहाँको भनाइ थियो । ‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको छ । यसबीचमा सरकारले कतिपय इतिहासले सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू पनि अघि बढाएको छ,’ उहाँले भन्नुभयो । मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकता ऐन, दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शैय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार, पाठ्यपुस्तकको उपलब्धतादेखि मलको आपूर्तिसम्म सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका पहलकदमीका केही उदाहरण रहेको उहाँले बताउनुभयो । सरकारले चालेका सुधारात्मक कदमहरूकै कारण अहिले क्रमशः अर्थतन्त्र संकटबाट लयमा फर्किरहेको दाबीसमेत गर्नुभयो ।
गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको टिप्पणी गर्नुभयो । गठबन्धनका दलहरूबाट देश बनाउने कुराभन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्रै बढी सुनिएको उहाँको भनाइ छ । ‘एमालेलाई छेक्न आठ/दश वटाको गठबन्धन बनाएका छन् । उनीहरूबाट कहिल्यै देश बनाउने कुरा सुन्नुभएको छ ?’ उहाँले भन्नुभयो, गठबन्धन जोगाउने भन्छन् । देश बनाउने होइन, गठबन्धन जोगाउने ।’ एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने उहाँले बताउनुभयो । ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । यिनीहरूले गर्न सकेनन् भने त फेरि उठ्न परिहाल्छ,’ उहाँले भन्नुभयो, ‘२०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ ।’ अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह/पूर्वाग्रह नराख्न आग्रह गर्नुभयो । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो ।






