काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेश गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । वैकल्पिक ऊर्जा तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा बदलिएको परिस्थिति सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक’ संसद्मा पेश गर्न लागेको छ । मन्त्री बस्नेतले ९८ प्रतिशत घरधुरीमा विद्युतीकरण भइसकेको भन्दै आगामी डेढ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्याउने गरी सरकारले काम गरिरहेको दाबीसमेत गर्नुभयो ।
राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुर्याउन समस्याग्रस्त दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धनअन्तर्गत सञ्चालित योजनाबाट विद्युतीकरण गरिने उहाँले उल्लेख गर्नुभयो । हाल बत्तीमा मात्रै विद्युत्को उपयोग भइरहेको गुणस्तर सुधार गरी खपत बढाउन सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको उहाँको भनाइ थियो ।
हालै युएईमा सम्पन्न कोप-२८ ले पनि सन् २०३० सम्म नवीकरणीय ऊर्जा प्रयोग र उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको भन्दै मन्त्री बस्नेतले आन्तरिकरूपमा पनि सोही नीतिअनुसार नै अघि बढ्ने बताउनुभयो । निजी क्षेत्रको जायज माग सम्बोधन गर्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशील संघसंस्था वा व्यवसायीसँग पनि सरकारले मिलेर काम गरिरहेको पनि उहाँले दाबी गर्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले १६औँ पञ्चवर्षीय योजनाले ऊर्जा क्षेत्रका योजना पनि समेट्ने भएकाले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रलाई प्रविधिसँग जोडेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि प्रविधिको उपयोग बढाएर काम गर्नुपर्ने बताउनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वैकल्पिक ऊर्जालाई नवीकरणीय ऊर्जा केन्द्रित बनाउन नीति निर्माणका क्रममा रहेको बताउनुभयो । जल तथा ऊर्जा आयोगकी सचिव सरिता दवाडीले साना योजना स्थानीय तहमा हस्तान्तरण गरी वैकल्पिक ऊर्जा केन्द्र अब ठूला योजनामा केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । नेपालस्थित बेलायती राजदूत रोब फेनले नेपालले कार्बनोत्सर्जनको लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जाको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउनुभयो । बेलायतले नेपालको वैकल्पिक ऊर्जाको क्षेत्रमा एक करोड ८० लाख पाउण्ड अनुदान सहयोग गरेको पनि उहाँले स्मरण गराउनुभयो । नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले दूरदराजमा रोजगारीका अवसर सिर्जना गर्न गुणस्तरीय विद्युत् पहुँचमा जोड दिनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशभरका ३६ लाख घरधुरीमा वैकल्पिक ऊर्जाको पहुँच पुगेको जानकारी दिँदै पाँच सय निजी कम्पनीले वैकल्पिक ऊर्जाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । वैकल्पिक ऊर्जा क्षेत्रमा ३० हजारले रोजगारीको अवसर पाएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा केन्द्रमा २० वर्ष सेवा गरेका पाँचजना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । केन्द्रका निर्देशक डा. सूर्यकुमार सापकोटा, निर्देशक रुद्रप्रसाद खनाल, वरिष्ठ अधिकृत सन्तोष राई, प्रशासकीय अधिकृत सविता अर्याल, सवारी चालक सूर्य स्याङ्तानलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको हो ।
त्यस्तै, नवीकरणीय ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने सिम्पल इनर्जी प्रालि, खिम्ती ग्रामीण विद्युत् सहकारी तथा भेञ्चर वेष्ट टु इनर्जी प्रालिलाई सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कारबाट पुरस्कृत गरिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार हालसम्म वैकल्पिक ऊर्जाका आयोजनाबाट उत्पादित विद्युत्को जडित क्षमता ८८ मेगावाट पुगेको छ । पछिल्लो २७ वर्षमा सञ्चालित विविध अनुदानका योजनामार्फत् लगानी भएका सौर्य तथा लघु जलविद्युत् आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता