काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको दाबी गर्नुभएको छ ।
वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, 'आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।'
जनतालाई भूगोल, जातजाति र धर्म संस्कृतिमा खण्डित गर्ने विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति नपर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
उहाँले राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरावस्थाको मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने उहाँले बताउनु भयो ।
पूर्वराजा शाहले जातजाति धर्म संस्कृतिमा खण्डित नभएर विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति नगर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, 'आफ्नो घर उजाड पारेर अरूको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घर द्वार, आफ्नै गाउँ बस्ती र आफ्नै बनाउने तिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ । हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौँ । हामी सबैको भलाई यसैमा छ ।'
बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उहाँको भनाइ थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा