काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गर्नुभएको छ ।
विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उहाँको जिकिर थियो ।
शनिबार काठमाडाैँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरु मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहो¥याउनु भयो । उहाँले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘हाम्रो विगत १५ वर्षको अभ्यासले प्रमाणित ग¥यो–गणतन्त्र मात्रै होइन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता हाम्रो देशको सन्दर्भमा अनुपयुक्त रहेछ भन्ने मात्रै होइन, असफल भएको छ । देशलाई थप क्षति हुन नदिनका लागि, बलियो राष्ट्रियताको लागि पहिलो कुरा त मेरो आग्रह छ–ठूलो राजनीतिक दल हौं भन्ने गणतन्त्रको संवाहक हुँ भन्नेहरुले कोर्स करेक्शन गर्न तयार हुनुप¥यो, नयाँ सम्झौताका लागि तयार हुनुप¥यो । राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भएन भनेको हामीले पछाडी फर्किउँ भनेको होइन । त्यो बुझनुभएन । हामीले पछाडि फर्कने कुरा गरेको होइन । तर यही बसिराख्न पनि सकिन्न । अब देशले यो धान्न सक्दैन । अब हिजोका पनि राम्रा, आजको पनि राम्रा कुराहरु समेटेर अब नयाँ सम्झौतामा जानुप-यो । र हामीले नयाँ बाटो तयार पारेर अगाडि जानुप¥यो भनेर राप्रपाले भनेको हो । त्यसकारण हामीले पछाडि फर्कने कुरा गरेको छैनौं । र यही बस्न पनि हामी मञ्जुर छैनौं । अब देशलाई नयाँ बाटोमा लैजानुपर्छ । जहाँ अब माओवादीदेखि राजासम्मसँगै रहने व्यवस्था अब हामीले निर्माण गर्नुपर्छ ।’
अध्यक्ष लिङदेनले यथास्थितिमा आफूहरु बसिरहने पक्षमा नरहेको पनि बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts