काठमाडौं । नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले एसोसिएसनको रजत जयन्तीका अवसरमा सम्पूर्ण उत्पादक, प्रशोधनकर्ता, उपभोक्तालगायत सरोकार सबैलाई शुभकामना दिँदै हाल दुग्ध क्षेत्रको समस्या समाधान संवदेनशील रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको दुग्ध क्षेत्र प्रवद्र्धनमा एसोसिएसनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले समस्त दुग्ध क्षेत्रबारे कार्यपत्र प्रस्तुत गर्दै हाल नेपालको डेरी क्षेत्र सबैभन्दा कठिन र चुनौतीको अवस्थामा रहेको भन्दै डेरी क्षेत्रलाई बचाउन सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो । एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहृलाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा एसोसिएसनका महासचिव हेमचन्द्र खनाल, मूल समारोह समितिका संयोजक दीपप्रसाद धमलालगायतले पनि डेरी क्षेत्रका समस्याबारे चर्चा गर्नुभएको थियो ।
सो अवसरमा आफ्नो क्षेत्रबाट दुग्ध क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।
जसअन्तर्गत राष्ट्रिय सम्मान पाउनेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की, घरेलु डेरी उद्योगतर्फबाट भंैसेपाटी डेरी उद्योगका दिपक सञ्जेल, साना डेरी उद्योगतर्फ गजुरमुखी दर्शन डेरी उद्योग, इलामका अशेषकुमार बुढाथोकी, मझौला डेरी उद्योगतर्फबाट पर्रोहा दूध डेरी उद्योग, रूपन्देहीका शिवलाल भुसाल, ठूला डेरी उद्योगबाट धमला डेरी प्रोडक्ट्स प्रालि भक्तपुरका दीपप्रसाद धमला रहेका छन् । त्यस्तै, मरणोपरान्त सम्मान भने एसोसिएसनका सदस्य सिताराम गोकुल मिल्कका अध्यक्ष स्व. विश्वनाथ केडियालाई प्रदान गरिएको छ ।
उत्कृष्ट प्रदेशतर्फ बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, दीर्घसेवा सम्मानतर्फ एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रगोपाल श्रेष्ठ, उत्कृष्ट कृषि पत्रकार सम्मानतर्फ हिमालय टाइम्सका पत्रकार, आर्थिक ब्युरो चिफ लेखनाथ पोखरेल, न्युज लाइन मिडिया प्रालिका राजु भट्ट, कृषि अनलाइनका सम्पादक बैकुण्ठ भण्डारी, टक्सार म्यागेजिनका रवि थापा रहेका छन् ।






