मौलिकता गुमाएको माघे सङ्क्रान्ति

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बढ्दो आधुनिकता र पश्चिमा संस्कृतिका कारण पछिल्लो समय मौलिक संस्कृति हराउँदै गएका छन् । परम्परादेखि मनाइँदै आएका चाडपर्व होस्, या रीतिरीवाज अहिले त्यसको महत्वनै नदिएको पाइन्छ । बागलुङका मगर तथा छन्त्याल जातिले आजको दिन अर्थात् माघे सङ्क्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने गर्थे । बागलुङ बजारमा निकै ठूलो तामझामका साथ मेलानै लाग्ने गर्थ्याे तर अहिले धेरै ठाउँ सुनसान छन् । खास गरि माघे सङ्क्रान्तिमा आफन्तसँग भेटघाट हुने, खुसी साटासाट गर्ने र होरे कापै (डम्फु बजाएर नाच्ने नाच) खेल्ने प्रचलन थियो । पछिल्लो समय निसीखोला गाउँपालिका-१ को लेबाङ, ५ को निसी र ६ को भल्कोट गाउँमा बाहेक अन्य ठाउँमा होरे कापै खैलने प्रचलन हराएको छ ।

होरे कापे खेल्ने विधि र प्रक्रिया हुने गरे पनि युवा पुस्तामा त्यो ज्ञान छैन । माघे सङ्क्रान्तिसहित मौलिक परम्परा हराउँदै गएपछि बुढापाकाहरु चिन्तित बनेका छन् । डेढ दशक अगाडिसम्म मुख्य बजारदेखि ग्रामीण क्षेत्रमा भव्य रुपमा बनाइने माघे सङ्क्रान्ति पर्व अहिले हराउँदै गएको तमानखोला गाउँपालिका-३ का वीरबहादुर बुढा मगरले गुनासो पोख्नुभयो । पहिलेको जस्तो गाउँमा चाडपर्व मनाउनेहरुनै कम भएको भन्दै यहाँ भएकाहरुले पनि खास्सै चासो नदिने उहाँको भनाइ छ । अहिलेको चाडपर्वमा कुनै रौनकतानै नभएको बुढा मगर बताउनुहुन्छ ।

“हामी मगर जातिहरुको सबैभन्दा ठूलो पर्व हो माघे सङ्क्रान्ति, अहिलेका मान्छेले बुझ्दैनन्, यो पर्वले धेरै महत्व बोकेको छ, हाम्रो जातिको पहिचानसँग जोडिएको पर्व हो, तर कसले बुझ्ने ?, अहिलेको माघे संङ्क्रन्तिमा कुनै रौनकतानै छैन, न रमाइलो छ, न पहिलेको जस्तो संस्कृति बोकेको,” बुढा मगरले भन्नुभयो - “कापे खेल्ने, मान्यजनबाट आशिष् लिने, तरुल, रोटी र खिर खाने चलन थियो, गाउँहरु डम्फुको तालले गुञ्जिन्थे, तर अहिले सबै तिर सुनसान छ ।”

ढोरपाटन नगरपालिका - ६ का ७५ वर्षीय केशवबहादुर छन्त्यालले युवा पुस्ताले माघे सङ्क्रान्तिको महत्व नबुझ्दा मौलिक परम्परा लोप हुने अवस्थामा पुगेको बताउनुभयो । आफूहरुको पालासम्म पूर्खाहरुले जोगाउँदै आएको संस्कृति अहिले संरक्षण गर्न मुस्किल परेको सुनाउनुभयो । पहिले-पहिले गाउँमा स्थानीयहरुले माघेसक्रान्तिका लागि तरुल रोप्ने गरेको भन्दै अहिले आयातित तरुलमा निर्भर भएको उहाँको भनाइ छ । माघे सङ्क्रान्तिका दिन नयाँ कामको सुरुवात गरे शुभ हुन्छ भन्ने मान्यता राख्दै आए पनि अचेल कसैले मतलब नगर्ने छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो - “यो बेला गाउँ-गाउँमा मेला लाग्थ्यो, मेलामा तरुनी तन्नेरी भेट हुने, गीत गाउने चलन थियो, गीतबाटै परम्परा जोगाउने खालका सन्देश दिइन्थ्यो, रमाइलो पनि निकै गरिन्थ्यो तर अहिले हाम्रो पालाको जस्तो हर्षोल्लास छैन, वर्षमा बाह्र वटा सङ्क्रान्ति हुन्छ, त्यस मध्ये सबैभन्दा विशेष र महत्वपूर्ण रुपमा माघको सङ्क्रान्तिलाई लिन्छ, दिनानु दिन हाम्रा संस्कार संस्कृति र परम्परा लोप हुँदै गएका छन्, यस्ता पर्वलाई सरकारले पनि संरक्षण गर्नका लागि पहल गर्नु पर्छ ।

ADVERTISEMENT

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले माघे सङ्क्रान्ति पर्वलाई संरक्षण गर्नका लागि पालिकाले पहल गरेको बताउनुभयो । निसीखोलामा अहिलेसम्म धेरै संस्कृतिहरु संरक्षण हुँदै आएकोमा अब थप व्यवस्थित र मौलिक रुपमै मनाउने गरि नागरिकलाई सजक बनाइ रहेको बताउनुभयो । माघे संक्रातिको साइनो खानपानसँग जोडिएको भन्दै ग्रामीण क्षेत्रमा अझ बढी मनाइने उहाँको भनाइ छ ।

“यो वर्ष कहिलेबाट मनाउँदै आएको भन्ने त हामीहरुले एकिन गर्न सकेका छैनौँ, तर पहिले हाम्रा अग्रजहरुले जे जसरी मनाउँदै आउनु भएको थियो, सोही अनुसार हामीहरुले मनाउँदै आएका छौँ, नयाँ पुस्ताका युवाहरुलाई पनि यस्ता महत्व बोकेका मौलिक संस्कृतिको संरक्षण गर्न आकर्षित गरेका छौँ” अध्यक्ष घर्ती मगरले भन्नुभयो - “निसीखोलाको केही वडाहरुमा जनजाति समुदायको बाहुल्यता रहेको हुँदा माघे सङ्क्रान्तिको रौनिक अझै छ, पालिकाले हरेक वर्ष मौलिकता जोगाउनका लागि बजेटसमेत विनियोजन गर्दै आएको छ ।”

माघे सङ्क्रान्ति पर्वमा वन तरुल, खिर, घिउ, चाकु, तिलको लड्डु खाने प्रचलन रहँदै आएको छ । यस्ता खानाको परिकारले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्ने स्वास्थ्यकर्मीको भनाई छ । माघ जाडो याम सकिएर गर्मी सुरु हुने महिना भएको हुँदा माघेसक्रान्तिमा खाने परिकार स्वास्थ्यका लागि लाभदायिक हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज