काठमाडौं । आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएकाे छ ।
बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिनुभयो ।
यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नु पर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । उहाँले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताउनुभयो ।

“बीमितले अनावश्यक रुपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन थाले,” उहाँले भन्नुभयो, “त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हाैँ ।” उहाँका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने छ ।
सहभुक्तनी प्रणाली सङ्घीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल र सबै निजी तथा सामुदायिक अस्पतालमा लागू हुनेछ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार सातजना बीमामा आबद्ध रहेको र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सक्रिय बीमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।
यस्तै अति गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts