काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुभएको छ । डिप्लोमा इञ्जिनियर्स एसोसिएसन नेपाल (डिन) केन्द्रीय समितिद्वारा आयोजित राष्ट्रिय भूकम्प सुरक्षा दिवस तथा प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भूकम्पपछि पुनः निर्माणका साथै भौतिक संरचना निर्माण गर्दा भूकम्पीय जोखिम कम हुने गरी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सम्पूर्ण इञ्जिनियरका साथै प्राविधिक क्षेत्रका जनशक्तिको भूमिका महŒवपूर्ण हुने भन्दै मन्त्री गुरुङले प्राविधिक क्षेत्रका कानुन तथा मापदण्डको कार्यान्वयन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गरी दिगो विकासलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले डिनलाई संस्थागत गराउने सम्बन्धमा आएका मागमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इञ्जिनियरिङ क्षेत्रको विविधता, डिन तथा प्राविधिक क्षेत्रको एकीकृत संरचना आजको आवश्यकता भएको बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर सुरेश आचार्यले भौतिक पूर्वाधारको गुणस्तरीयतामा वृद्धि गरेमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने भन्दै संघीयता कार्यान्वयनको अनुभूति दिलाउन स्थानीय तहमा प्राविधिकको सहभागितामा जोड दिनुभयो । प्रशासनिक क्षेत्रका कर्मचारीको सीप अभिवृद्धिका लागि नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जस्तै इञ्जिनियरिङ क्षेत्रमा सिफारिस भएका कर्मचारीको सीप विकासका लागि इञ्जिनियरिङ प्रशिक्षण आवश्यक रहेको उहाँको भनाइ थियो ।
डिनका सल्लाहकार डा. राजेन्द्रप्रसाद अधिकारीले प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै दिगो पूर्वाधार निर्माणमा प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । डिन प्राविधिक समिति संयोजक इञ्जिनियर खड्ग केसीले भूकम्पीय जोखिमयुक्त मुलुकमा भूकम्पको जोखिम थेग्न सक्ने भौतिक पूर्वाधार नहुँदा समस्या आएको भन्दै सरकार, विकास प्राविधिक तथा समुदायबीच सहकार्य, समन्वयको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता