काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जिम्मेवारी निर्वाह नगर्ने वीर अस्पतालका कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा शुक्रबार आयोजना गरिएको पुस्तक हस्तान्तरण एवं मेमोग्राफी सेवाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले निजी स्वार्थका लागि वीर अस्पताललाई बदनाम गर्दै हिड्ने, जिम्मेवारी निर्वाह नगर्ने, वीरका विषयमा नकारात्मक समाचार लेखाउने कर्मचारीलाई कारवाही गर्ने बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘वीर अस्पतालमा दिन रात काम गर्ने कर्मचारी पनि छन् । अर्कोथरि कामै नगरेर आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्ने कर्मचारी छन् । कामचोर र वीर बदनाम गराउने कर्मचारीलाई ऐन संसोधन गरेर भए पनि ठेगान लगाइन्छ ।’ विभिन्न स्वार्थसमूहले आफ्नो स्वार्थ पूरा नहुँदा अस्पतालमा ताला लगाउनेसम्मको अनुशासनहिन काम भएको पाइएको बताउदै स्वास्थ्य मन्त्री बस्नेतले अर्को पटक कुनै पनि बहानामा विरामीको उपचार प्रभावित पारेर ताला लगाइए ठीक नहुने चेतावनी दिनुभयो ।
जनताको भरोसाको केन्द्रका रुपमा रहेको वीर अस्पतालको सेवा सुधार्न आफू तल्लिन रहेका बेला वीर अस्पताल बदनाम गरेर आफ्नो स्वार्थ पूरा गर्न पल्केका कर्मचारी मन्त्रीका विरुद्वमा विरामीको खानाको बजेट काट्यो भन्दै बदनाम गराउन खोजेकोमा आक्रोस व्यक्त गर्दै अर्थ मन्त्रालयबाट बजेट कटौती गर्ने बेला केही कमजोरी भएको हुन सक्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘म वीर अस्पतालसहित देश भरिका अस्पतालमा विपन्नलाई कसरी निःशुल्क सेवा दिन सकिन्छ भनेर लागिरहेको छु । तर, मेरा विरुद्व नै स्वास्थ्य मन्त्रीले वीरका विरामीको खानाको बजेट काट्यो भनेर समाचार लेखाए । यस्तो झुटको खेती धेरै दिन चल्दैन ।’ अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा बजेट कटौती गर्दा वीरको १३ वर्ष उपशिर्षकको बजेट कटौतीमा परेको उक्त रकम अर्थले पठाइसकेको बताउदै स्वास्थ्य मन्त्रीले विरामीको खानाको बजेट काट्यो भनेर समाचार लेखाएर आफूलाई बदनाम गर्ने काम वीरकै बदमास कर्मचारीले गरेको बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘फटाहाहरूलाई कारवाही गर्ने औषधि मसँग छ । वीर अस्पताल बदनाम गरेर रमाउनेहरूको औषधि कसरी गर्नुपर्छ मलाई राम्ररी थाहा छ ।’ मन्त्री बस्नेतले वीरको सेवा सुधार गर्न आफु लागिपरेको बताउदै निकट भविश्यमै मुटुरोगको उपचारका लागि अत्याधुनिक उपकरण जडान गर्ने र जलन उपचारको सेवा विस्तार गरिने बताउनुभयो । कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले स्वास्थ्य मन्त्रीले विरामीको खानाको बजेट कटौती नगरेको प्रष्ट पार्दै अर्थले उक्त शीर्षकको बजेट छुटाएकोले भर्खरै अर्थले वीरलाई साडे चार करोड ५० लाख बजेट दिइसकेको बताउनुभयो । वीर अस्पतालले विरामीको खाना कहिल्यै नरोकेको उपकुलपति डा. बस्नेतले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements