काठमाडौं । नेपाल धागो उत्पादक संघ विरोधमा उत्रिएको छ । स्वदेशबाट हुने निर्यातमा र स्वदेशमै सबैभन्दा ठूलो रोजगारी सिर्जना गर्नेमा अग्रणी स्थान ओगट्न सफल सिन्थेटिक धागो उद्योगको नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेकोमा आपत्ति जनाउँदै संघ श्रमिकसहित आन्दोलनमा उत्रिएको हो ।
नेपालका स्पिनिङ मिलमध्ये दुई स्पिनिङ मिल्सको विद्युत्को लाइन काट्दा उद्योगमा कार्यरत मजदुरको दैनिक रोजीरोटी खोसिएको संघले जनाएको छ । रोजगारदाता र प्राधिकरणको द्वन्द्वका कारण श्रमिकको रोजगारी प्रभावित हुनु नहुने भन्दै तत्काल श्रमिकको रोजगारीको ग्यारेन्टीको माग गरिएको छ । उद्योग बन्द हुँदा उद्योगमा कार्यरत श्रमिक आन्दोलदनमा उत्रिन सरकारले बाध्य बनाएको भन्दै तत्काल उद्योग सञ्चालन गर्ने बैठक तथा छलफलमा जुट्न नेपाल धागो उत्पादक संघले माग गरेको छ ।
संघका अनुसार सरकारको निर्देशनमा उद्योगमा कार्यरत मजदुरको ख्यालै नगरी प्राधिकरणले लाइन काट्दा करिब छ हजार श्रमिकको रोजगारी गुमेको छ । सरकारले पुस ६ गतेदेखि स्पिनिङ मिल्सको लाइन काटेको हो । सरकारले विद्युत् लाइन काटेपछि तत्काल उद्योग चल्ने/नचल्ने टुंगो छैन । उद्योगहरूले दूरदराजका गाउँगाउँबाट पिछडिएका वर्गलाई छ महिना तालिम दिएर दक्ष जनशक्ति तयार पारेका थिए । उद्योग बन्द भएपछि कतिपय श्रमिक अलपत्र परेका छन् भने एक हजारले जागिर नै छाडिसकेका छन् । जागिर छाडेका एक हजार दक्ष जनशक्ति तयार पार्न अर्को छ महिना लाग्ने र थप १० करोड रुपैयाँ खर्चनुपर्ने हुन्छ ।
संघद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘दैनिक छ करोडको धागो उत्पादन तथा निर्यात हुँदै आएकोमा लाइन काटिएपछि विदेशबाट उद्योगका अर्डर धमाधम क्यान्सिल हुनथालेका छन् । अब उद्योग सञ्चालनमा आए पनि उद्योग नोक्सानीमात्रै होइन, श्रमिकमाथि परेको घातको कुनै मूल्यको अनुमान गर्न नै सकिने अवस्था छैन । यस वर्ष पाँच अर्बकोे पनि धागो निर्यात नहुने अवस्था सिर्जना भएको छ ।’ छलफलबाट टुंगाउन सकिने टं«क र डेडिकेटेड लाइनको महसुल विवादका कारण हजारौं श्रमिकको पेटमा लात हानेर सरकारले निर्ममता देखाएको भन्दै संघले भत्र्सनासमेत गरेको छ ।
संघले भनेको छ, ‘उद्योगको विद्युत् लाइन काटिँदा उद्योगमा कार्यरत मजदुरकोे रोजीरोटीमात्रै खोसिएको छैन, एकातिर सरकारको ठूलो राजस्वसमेत गुमेको छ, स्वदेशमा बिक्री गर्ने हो भने दैनिक ७८ लाख रुपैयाँ राजस्व गुम्न पुगेको छ भने अर्कोतर्फ नेपालमा सञ्चालित ढाका, होजियारी, टेक्सटायल उद्योगमासमेत धागोको अभाव सिर्जना भएको छ । उद्योग बन्द भई उत्पादन हुन नसक्दा नेपाली बजारमा विदेशी धागोको मूल्यसमेत वृद्धि भएको छ । यसको अर्थ अब धागोमा पनि विदेशकै भर पर्नुपर्ने अवस्था आएको छ ।’







Breaking news with related posts