काठमाडौं । कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । अर्न एण्ड लर्न कार्यक्रममा इजरायल पुग्नुभएका जोशी सम्पर्कविहीन बन्नुभएको थियो । ७ अक्टोबर २०२३ मा इजरायल गाजा सीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी चारजना घाइते भएका थिए भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उहाँको अवस्था अझै अज्ञात छ । उहाँको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । तर, उहाँको रिहाइ हुन सकेको छैन ।
परराष्ट्रमन्त्री एनपी साउद आफैँ उहाँको रिहाइका लागि पहल गर्न कतार पुग्नुभएको थियो । कतार पुगेर त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो । तर, सरकारले गरेको पहलहरूले सार्थकता पाउन सकेको छैन । नेपालले उहाँको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएको छ ।
सभामुख देवराज घिमिरेले समेत जोशीको जीवनरक्षा र रिहाइका लागि नेपालका लागि इजराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा गत बुधबार अपिल गर्नुभएको थियो । ‘नेपालको संसद् र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ उहाँले भन्नुभएको थियो । सभामुख घिमिरेले प्रतिनिधिसभामा जोशीको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरू इजराइलमा शीघ्र शान्तिको पक्षमा रहेको बताउनुभएको थियो । हमासले युद्धमा सामेल नभएका इजराइली र विदेशी गरी दर्जनौँ मुक्त गर्दा पनि जोशीलाई बन्धक नै बनाएको छ ।
गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि जोशी सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुनु दुःखद रहेको बताउनुभएको थियो । उहाँले जोशी व्यक्तिगत रूपमा पनि परिचित रहेको उल्लेख गर्दै उहाँको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिनुभएको थियो । राजदूत गोल्डवेरगरले जोशीको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसद्बाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राख्नुभएको थियो ।
परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग भेटवार्ता गर्नुभएको थियो । दोहामा भएको भेटमा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले बताउनुभएको थियो । प्रधानमन्त्री अल थानीले नेपाली विद्यार्थी जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि एक महिनाअघि विपिन जोशीका आमा–बुवालाई भेट्नुभएको थियो । छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा-बुवाले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताउनुभएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरू ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल जानुभएको थियो । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन हुनुभएको थियो । इजरायली सेना र तेलअबिवस्थित नेपाली राजदूतावासले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उहाँको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।
यसैबीच जोशीको सकुशल उद्धारको माग गर्दै आइतबार प्रदर्शन गरिएको छ । आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन् । ललितपुरको लगनखेलबाट सुरु गरिएको ¥याली जावलाखेलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । जोशीको जन्मदिनका अवसरमा कार्यक्रम आयोजना गरिएको उहाँका दाजु वासुदेव जोशीले जानकारी दिनुभयो ।






