
✍️ बाबुराम खनाल
‘कृष्णप्रसाद भट्टराई दक्षिण एशियाकै विलक्षण नेता हुन् ।’ यो प्रसंग विश्व विख्यात पत्रकार मार्कटलीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सटिक मूल्याङ्कन गर्दै ‘बीबीसी हेयरबुक’ मा उल्लेख गरेका हुन् । उनले भट्टराईलाई आफ्नो मित्र भन्न पनि छुटाएका छैनन् । पूर्वप्रधानमन्त्री भट्टराईले झण्डैझण्डै दुई दशक नेपाली काङ्ग्रेसको नेतृत्व गरे । पार्टीभित्र प्रेमपूर्वक ‘किशुनजी’ ले विभूषित भट्टराई दुईपटक प्रधानमन्त्री बने तर छोटो छोटो समयका लागि । किशनुजी योगेश्वर भट्टराईका छोरा श्रीपति भट्टराईका सन्तति हुन् । श्रीपति गोर्खाली राजा पृथ्वीनारायण शाहहरुको पुरोहित्याइँ गर्थे । नेपालको एकीकरणसँगै श्रीपति पनि काठमाडौं पुगे । उनै किशुनजीको जन्मजयन्ती (डिसेम्बर २३) को सन्दर्भमा यो आलेख पाठक समक्ष पस्किने जमर्को गरिएको छ । यहाँ खासगरी साध्य प्राप्तिको साधनको पवित्रताबारे छोटो चर्चा गरिन्छ ।
नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई अर्थात् किशुनजी बनारसमा जन्मे–हुर्के । अङ्ग्रेजी भाषामा समेत दख्खल राख्ने उनी २००७ सालको जनक्रान्तिमा जनकपुर कब्जा गर्ने जिम्मेवारीमा परे । शासनमा जवाफदेहिता रहनुपर्ने दायित्ववोध त्यही क्रान्तिकै अवसरमा उनले प्रकट गरेको प्रसङ्ग उनकै कृति ‘मेरो म’ मा उल्लेख छ । राणा शासन ढालिएपछि बनेको विधायिकी संंस्था सल्लाहकार सभाको सदस्य चयन भएका किशुनजी २०१६ सालमा सभामुखको जिम्मेवारी बहन गर्न पुगे । आमचुनावमा गोरखामा हारे पनि मनोनित कोटाबाट उनी प्रतिनिधि सभामा सदस्य भएको कारणले यो सम्भव भएको हो ।
पत्र-पत्रमा विभाजित हुनेहरुको भिडमा किशुनजीले दुई परस्परविरोधी लाग्ने व्यक्तित्व निर्माण गरे । उनी कुशल राजनेता र आध्यात्मिक र गहिराई छिचोल्ने एक मौलिक विलक्षण प्रतिभा भएका व्यक्तित्व थिए । त्यही भएका कारण प्रजातन्त्रको अपहरणपछि चौध वर्ष जेल बसे । विसं २००७ सालपछिका केही क्याबिनेटहरुमा भारतीय प्रत्यक्ष प्रभाव राम्ररी देखेका किशुनजीले स्वाधिन सङ्घर्षको बाटो रोजे । सत्याग्रहको मार्ग रोजे निर्वासन होइन जेल रोजे । उनको जीवनको सर्वाधिक ठूलो प्राप्ति यही हो र वास्तवमा हुनुपर्ने पनि यही हो ।
साध्य प्राप्तिको साधनको पवित्रता किशुनजीको जीवनको पर्याय बन्यो । नेपालको भूराजनीतिक अवस्थिति राम्रोसँग बुझेकै कारण धपक्कै बलेको महेन्द्रको पञ्चायतीकालमा पनि उनी आफ्नो आदर्शबाट रत्तिभर विचलित भएनन् । चरम अभावमा बाँचे । बरू उनी कालकोठरीमा बोरा बेरिन पनि तयार भए तर आफूमा भएको स्वाभिमानलाई किन्चित तलमाथि हुन दिएनन् । यही बाटो महेन्द्रनारायण निधि र सुवर्ण शमशेरले पनि पछ्याए । किशुनजीले लक्ष्य प्राप्तिको माध्यमको चिन्तन् बदलेनन् ।
साध्य प्राप्तिको साधनको पवित्रता किशुनजीको जीवनको पर्याय बन्यो । नेपालको भूराजनीतिक अवस्थिति राम्रोसँग बुझेकै कारण धपक्कै बलेको महेन्द्रको पञ्चायतीकालमा पनि उनी आफ्नो आदर्शबाट रत्तिभर विचलित भएनन् । चरम अभावमा बाँचे । बरू उनी कालकोठरीमा बोरा बेरिन तयार भए तर स्वाभिमानलाई तलमाथि हुन दिएनन् ।
किशुनजीको व्यक्तित्व सरल थियो तर उनी सरलमात्र थिएनन् । एक जटिल व्यक्तित्वशाली पनि थिए । कतिपय मान्छेहरु उनलाई देखिने किशुनजी र नदेखिने किशुनजीका रूपमा व्याख्या विश्लेषण गर्थे । सिद्धान्त लेख्ने, बोल्ने र कण्ठ गर्नेहरुको जमातमा भट्टराई हल्काफुल्का पनि लाग्थे तर आफ्नो मूल कार्यभारमा उनी अत्यन्त निष्ठावान् थिए । उनी ठट्टा गर्थे तर जोकरहरु अरू थिए । दिवंगत भइसकेका प्राध्यापक डिपी भण्डारीले जीवनको उत्तरार्धमा एउटा म्यागजिनमा लेखेका थिए विशाल चिन्तन् भएका मान्छेलाई संकीर्ण चिन्तन् भएका मान्छेले चिन्न सक्दैन । किशुनजीको जन्म पचास वर्षअघि भयो । उनी राजनेताहरुको माझमा सन्त जस्ता र सन्तहरुको माझमा महान् राजनीतिज्ञ जस्ता देखिन्थे ।
युगले बिर्सन नहुने युगपुरुष आज करिब करिब ओझेलमा पर्दै छन् । न उनको इतिहास हस्तान्तरण राम्ररी हुन सक्यो न अर्को पुस्तामा पुस्तान्तरण हुन सक्यो । यो विडम्बनापूर्ण स्थिति आजको धरातलीय यथार्थ हो । वर्तमानको पीडाले पुनः किशुनजी खोजेको छ तर किशुनजी भेट्न धेरै गाह्रो भयो । माटो बुझेका दार्शनिक राजनेता स्वाधीन सङ्घर्ष र त्यागका प्रणेता ओझेल पारिनुहुँदैन । व्यक्ति एक व्यक्तित्व अनेक भएका किशुनजीलाई राजनीतिक दलको सीमाभन्दा माथि राखिनुपर्छ । विलक्षण राजनेता भएकै कारण अन्तरिम कालमा भारत भ्रमण गएका प्रधानमन्त्री किशुनजीको पाउ छोएर दुईजना संघीय क्याविनेट मिनिस्टरले उनको अभिभावदन गरे । बीपी कोइरालापछि भारतीय समकक्षीसँग राय बझाएर राष्ट्रिय स्वार्थको विषयलाई मुखर गर्न सक्ने अरू प्रधानमन्त्री सायदै भए होलान् ।
किशुनजीको विचारले अमरता प्राप्त गर्यो । जुन आजको नेपालको दुरावस्ता छ, यो बाह्रबुँदेको परिणाम हो । कतिपय मान्छेहरु २०४७ को संविधानलाई पुनः ब्युताउनुपर्छ पनि भन्छन् । यसो हुनुमा यो संविधान नेपालको संवैधानिक इतिहासमा नेपाली मस्तिष्क, नेपाली कलम र नेपाली मसीले लेखिएको एकमात्र संविधान हो । अहिले लोकतान्त्रिक गणतन्त्र छ यसको विकल्प खोज्ने भनेको चाँहि होइन । मात्रै मौलिक इतिहास कोट्याएको हो ।
नेपालको अहिलेको सामाजिक अवस्था हेर्यौँ भने संस्था सबै लथालिंग देखिन्छन् । संस्थागत निर्णहरु नाम मात्रका हुने भए । राष्ट्रिय सवालका विषयमा दलहरु खुइलिँदै गए । २०४८ सालमा नेपाल टेलिभिजनको एक अन्तर्वार्ताकारले किशुनजीलाई तपाईंहरुलाई त भारतमुखी भन्छन् नि भनेर जिज्ञासा राख्दा किशुनजीले जवाफ हाँसेर जवाफ फर्काउँदै भने नेपाल नै भारततिर फर्केको छ । हाम्रा नदी नालाहरू भारततिरै बग्छन् भनेर जिज्ञासा मेटाएका थिए । तर, ठूला-ठूला राष्ट्रवादी भनिनेहरूले किशुनजीलाई भारतमुखीको ट्याग पनि भिराए तर तिनै नेताहरुलाई ‘रअ’ का इन्स्पेक्टरहरुले उठबस गराएको देख्न पाइयो । किशुनजीले सीमा नदीलाई साझा नदीभन्दा विरोध गर्नेहरु महाकाली सन्धिपछि ठूला-ठूला दरबारमा बस्नसक्ने भए ।
अरबपति पनि भए । त्यसो त दरबारले पनि किशुनजीलाई अराष्ट्रिय तत्व नभनेको होइन तर त्यही दरबारले दोस्रो जनआन्दोलनको राप तापमा किशुनजीलाई प्रधानमन्त्रीको रूपमा प्रयोग गर्न खोज्यो । किशुनजीसँग जबरजस्त दुई भिन्न व्यक्तित्वको कुरा माथि नै गरियो । उनी राजनेता थिए त्यस कारण सत्ता प्राप्ति उनको ध्येय हुन्थ्यो तर किशुनजी सत्ता प्राप्तिलाई भन्दा अध्यात्मको निर्देशनलाई पालना गर्थे । पदका आकांक्षी जरुर थिए तर पदका लागि कहिँ कतै झुकेनन्, झुक्नै चाहेनन् । उनलाई कसैले अराष्ट्रियभन्दा न उनी खिस्स परे न कसैले राष्ट्रवादी भन्दा मख्ख नै भए ।
किशुनजीले दरबारसँग संघर्ष गरे र पनि संवैधानिक राजा उनले सदा स्वीकार गरे तर त्यही राजतन्त्रले किशुनजीलाई चौध वर्ष जेलमा सढायो । अन्तर्घातका कारण दुई-दुई पटक काठमाडौं एकबाट चुनाव हराइएका भट्टराई सम्झेर उनै मार्कटलीले किशुनजीलाई अन्याय भएको टिप्पणी गर्न बिर्सेका छैनन् । विसं २०५६ को चुनावमा किशुनजीलाई पोस्टब्वाई बनाएर नेपाली कांग्रेस होमियो । पर्साबाट प्रतिनिधि सभामा विजयी भए । सामान्य बहुमतको सरकारको नेतृत्व लिए । विधिको विडम्बना गणतन्त्र फ्रान्सको भ्रमणको निर्धारित कार्यक्रमलाई दश दिन माग्दाखेरी पनि नदिएर राजीनामा मागियो र उनले पार्टीभित्र विग्रह नआओस् भनेर संसद्बाटै राजीनामाको घोषणा गरेर दरबार छिरे ।
निरंकुश राजासँग जुधेका किशुनजीले गणेशमानको गाण्डिव धनुले सबलाई हिर्काउन सक्थे तर किशुनजी आफ्नाहरूसँग लडेनन् । पार्टीलाई विभाजित हुन दिएनन् । यहाँ उनको अध्यात्मले काम गर्यो । नेपाली जनताभन्दा ठूलो परिवार उनको कोही थिएन । राष्ट्रिय स्वार्थबाहेक उनको कुनै ध्येय थिएन । सार्वभौम नेपाली जनता र न्याय उनको अभिष्ठ थियो । उनको आत्माले अमरत्व प्राप्त गरोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच