हाम्रा लागि भ्रष्टाचार महाअभिसाफ हुँदै आएको छ । हामीले कल्पना र संकल्प सधैं भ्रष्टाचाररहित समाजको गर्दै आएका छौं तर यथार्थ हामीले गरेको संकल्पजस्तो छैन, त्यसको ठीकविपरीत हुँदै आएको छ । म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्नेजस्ता संकल्प गरिएका थिए तर त्यसो भन्ने सरकारकै कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचार भएको थियो । अब त नेपाली जनताले कुनै पनि नेताले म भ्रष्टाचार हुन दिन्न भन्छ भने सबैभन्दा ठूलो कमेडीका रूपमा लिन्छन् । पञ्चायतकालमा प्रधानमन्त्री हुनुभएका लोकेन्द्रबहादुर चन्दलाई उहाँको स्वच्छ छविका कारण त्यसबेला ‘मिस्टर क्लिन’ भन्ने गरेको सुनिन्थ्यो तर प्रजातन्त्र आएपछि उहाँले आफ्ना छोराका नामको करोडौंको ऋण सरकारबाट मिनाहा गराएको चर्चा चलेपछि उहाँको उक्त जनउपाधिमा तुषारापात हुन पुगेको थियो ।
यसरी हेर्दा प्रजातन्त्र भ्रष्टाचारका लागि लाइसेन्स जस्तो बनेको छ । आफ्नो स्वच्छ छविलाई जीवनभरि बँचाएर दिवंगत बनेका र निधनपछि पनि कसैबाट कुनै प्रकारको आक्षेप लाग्न नपाएका नेताहरू वास्तवमै छँदैछैनन् भन्न सकिन्छ । अपवादका रूपमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई, भीमबहादुर तामाङ, नेकपा एमालेका मनमाहोन अधिकारी जस्ता केही नाममात्रै यस पंक्तिमा देखापर्न सक्छन् । यस्तालाई सधैं सम्मान गर्न सक्नुपर्छ । खसी बाख्रीलाई एकै धोक्री गर्नु हुँदैन । कोही सांसदमात्र भए होलान् कोही मन्त्री भए होलान् र कोही स्थानीय तथा प्रदेश तहमै मात्र सीमित भए होलान् तिनको पहिचान गरी जनताका नजरमा पुर्याएर तिनलाई सम्मानित नजरले हेर्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्छ । तर, यस्ता मानिस अत्यन्त थोरै छन् ।
भ्रष्टाचारबाट बद्नामी कमाएकालाई जनताको नजरमा पुर्याउनु झनै आवश्यक छ । राष्ट्रका शत्रुका रूपमा रहेका यिनीहरूलाई राष्ट्रले नै दण्डित गर्नुपर्ने हो तर यही बिन्दुमा कमजोरी भएका कारण भ्रष्टाचारीहरू हाम्रो समाजमा खुलमखुला हिँडिरहेका छन्, यस्तो अवसर पाइरहेका छन् । भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्नेबाट तिनलाई कारबाही हुन नसक्नु, नहुनुमा कुनै कारण लुकेकै होला । गहिरिएर हेर्नै पर्दैन सामान्य दृष्टिले हेर्दामात्रै त्यहाँभित्रको रहस्य थाहा भइहाल्छ । कालेकाले मिलेर भाले खाने सिद्धान्त नै कारक हो भनिरहनै पर्दैन । देशमा भ्रष्टाचार बढाउने मुख्य कारण यही हो । यसमा सबैको मत मिल्ने गर्दछ ।
लिविया नामको देशमा कर्णेल गद्दाफीले चार दशक जति शासन गरे । त्यो देशको विकास पनि अकल्पनीय रूपमा भएको थियो । सात हजार किलोमिटर टाढादेखि नहर खनेर पानी ल्याई मरुभूमिलाई हराभरा बनाइएको थियो । जनतालाई निब्र्याजी कर्जा सापटी दिने परम्परा विकास गरिएको थियो । यति हुँदाहुँदै गद्दाफीले अर्बाैं डलर आफ्नो निजी बनाएका थिए । परिवारकाले ऐयासी जीवन बिताएका थिए । अन्त्यमा जनताले सडकमा घिसारेर उनैले बोकेको पेस्तोल खोसेले गोली हानेर मारे । हाम्रोमा त जनताका लागि अलिकति पनि काम नगरी आफ्नो घैला भर्ने काम मात्र भइरहेको छ । यो प्रवृत्ति आजको होइन उहिल्यैदेखि विकसित हुँदै आएको छ । तर, यसो भन्दैमा हटाउनेतर्फ नलागी बढाउँदै लग्नाले वर्तमान समय इतिहासमै सबैभन्दा जटिल मोडमा आइपुगेको छ ।
जसले यसलाई निराकरण गर्नुपर्ने हो त्यहीबाटै भ्रष्टाचारलाई मलजल गर्ने काम भइरहेको छ । देश जर्जर भइसकेको छ तर देश चलाउनेहरू अतालिएका छैनन् । भ्रष्टाचारविरुद्धको दिवस मनाउने सन्दर्भमा बल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक प्रकारको स्वीकारोक्तिका रूपमा चाहेजति गर्न नसकेको धारण राख्नुभएको छ । भ्रष्टाचार भनेजसरी शून्य सहनशीलतामा झर्दैन, त्यो तुरुन्तै सम्भावना भएको कुरो होइन तर प्रयास भने हुनुपर्छ । राणा प्रधानमन्त्रीहरूको भोग विलास ऐसआरामको बयान धेरै पढ्न पाइन्छ, ती सबै यथार्थ हुन् केही थोरैमात्र अतिरञ्जना थपिएका होलान् । त्यो निरंकुश राणाहरूको शासन थियो तर हाल जनताको शासन लोकको शासन लोकतन्त्र छ ।
यति भएर पनि सत्तामा बस्ने र तिनका निकटस्थहरूको भोगविलास र ऐसआराम जुद्धशमशेरको भन्दा कम छैन । अन्त्यमा पश्चाताप भएर जुद्धशमशेर जोगी भई हिँडेका थिए । त्यसको पुनरावृत्ति अब होला भन्ने नठानौं तर भ्रष्टाचार गर्नेहरूले कुनै न कुनै दिन पश्चातापको आगोमा पिल्सिनुपर्छ । तिनले अहिले नै त्यस्तो सोच्न सके भ्रष्टाचार स्वतः घटेर जानेथियो । भ्रष्टाचारविरुद्धको दिवस सन्दर्भमा यस्तो प्रतिबद्धता तिनले एक मतले व्यक्त गर्न सक्नुपथ्र्यो । यो मानिसको मनोवृत्ति हो । सबैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्ने र त्यसलाई सम्झेर भ्रष्टमनोवृत्ति त्याग्ने हो भने भ्रष्टाचार समाप्त हुन अरू कुनै उपायको अवलम्बन गरिरहनै पर्दैन ।






