मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी महिलालाई कम्तीमा आठ सन्तान जन्माउन अपिल गर्नुभएको छ । विश्व रुसी जनकाउन्सिललाई सम्बोधन गर्दै पुटिनले यस्तो बताउनुभएको हो । उहाँले रुसी महिलाले धेरै बच्चा जन्माउनुपर्ने र ठूलो परिवारलाई ‘आदर्श’ बनाउनुपर्ने बताउनुभएको थियो ।
पुटिनले आगामी दशकहरूमा रुसको जनसंख्या बढाउने लक्ष्य राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग अझै पनि ठूला परिवारमा विश्वास गर्ने धेरै समुदाय छन् । उनीहरूका चार, पाँच वा सोभन्दा बढी सन्तान छन् । हाम्रा हजुरआमा, हजुरआमा र हजुरआमाका सात, आठ वा अझ बढी बच्चाहरू थिए ।’
पुटिनले रुसले ठूला परिवारलाई ‘जीवनको मार्ग’ का रूपमा अपनाएर त्यस्ता परम्पराहरूलाई जीवित राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले परिवार राज्य वा समाजको आधारमात्र नभएर धार्मिक दृष्टिकोणले पनि सही रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै रूसी सार्वजनिक संगठन र परम्परागत धर्महरूले परिवारलाई बलियो बनाउनमा ध्यान केन्द्रित गर्नुपर्छ र यो युगौं पुरानो रूसको भविष्य हुनुपर्छ ।’
पुटिनको यो भनाइ युक्रेनसँगको युद्ध भएको २० महिनाभन्दा बढी भएको बेला आएको हो । र, यस युद्धमा कयौं रुसी सैनिक मारिएका छन् । नोभेम्बरमा बेलायतको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा तीन लाखभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको थियो ।






