म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकहरूको भिड लागेको छ । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कात्तिक महिनाको तथ्यांकलाई आधार मान्ने हो भने मुस्ताङको होटल र पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । दशैँ तिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहृयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार कात्तिकमा ७३ हजार ८७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्यांक राख्ने व्यवस्था मिलाएको छ । विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार दशैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार ९०१ सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए ।
छ हजार ४०८ मोटरसाइकल, छ हजार २८९ कार–जिप तथा ७५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले अधिकतम् दैनिक चारदेखि पाँच हजार पाँच सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएका जानकारी दिनुभयो ।
बेनी-जोमसोम सडकमार्गका अलावा पोखरा-जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिनुभयो । ‘विगतका वर्षमा दशैँैँतिहार याममा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि धेरै दुःख पाए’, उहाँले भन्नुभयो, ‘यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे ।’ शरद्याम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts