हावा अर्थात् प्राणवायु सर्वत्र सजिलै उपलब्ध हुनुपर्ने र हुने आवश्यक तत्व हो । सर्वत्र र सजिलै उपलब्ध हुने भनिनाको अर्थ यसको अनुपस्थितिमा जीवनको अस्तित्व नै संभव छैन । केही समयको निमित्त कुनै स्थान विशेषमा उपस्थितिका लागि मान्छेले आफूलाई आवश्यक पर्ने प्राणवायु अक्सिजनको प्रबन्ध गरेर उपलब्ध नहुने स्थानमा जान सक्छ । यस्ता उदाहरण अपवाद हुन् । त्यसैले विनामूल्य विनापरिश्रम प्राप्त हुने जीवनको आवश्यक तत्व हावा हो । त्यसपछिका जीवनको निमित्त आवश्यक तत्व प्राणीले कमाउनुपर्दछ । कमाउनुको अर्थ त्यो प्राप्त गर्न श्रम गर्नु पर्दैछ, कर्म गर्नुपर्दछ । त्यो सुकर्म वा कुकर्म दुवै हुन सक्छ । निश्चितरूपमा यी तत्व प्राप्त गर्न गरिने कुकर्मले निर्धालाई पीडा दिने गर्दछ । त्यसैले समूहमा वा टोलीमा रहने प्राणीहरूमा स्वतः केही न केही नियम बनेका हुन्छन् ।
दाना अर्थात् भोजन भएपछि बासस्थानको आवश्यकता हुन्छ । हावा पछिको दोश्रो महत्वपूर्ण तत्व दाना अर्थात् भोजन हो । त्यसपछि छाना अर्थात् बासस्थानको आवश्यकता पर्ने गर्दछ प्राणीलाई । यो बासस्थानले प्राणीलाई रक्षा गर्ने गर्दछ, सुरक्षित भएको अनुभूति दिने गर्दछ । मानवबाहेक अन्य प्राणीहरूको आधारभूत आवश्यकता सामान्यतया यही समाप्त हुने गर्दछ । तर मानवलाई त्यसपछि नाना पनि अत्यावश्यक तत्व हो । चाहे दाना, छाना, नाना भनियोस् वा गाँस, बाँस, कपास भनियोस् यी जीवनका निमित्त न्यूनतम आवश्यकता हुन् । यीनको अभावमा मान्छेको अस्तित्व कल्पना गर्न सकिन्न । भोकले आकुलव्याकुल खुला आकाशमुपन निःवस्त्र कुनै मान्छे भेटिँदा हुने अनुभूति सामान्य पक्कै हुँदैन । यसै अर्थमा दाना, छाना र नानाविनाको मान्छेको अस्तिवको कल्पना गर्न सकिन्न भनिएको हो ।
संग्रहित उपयोगी वस्तुहरू सबै धन हुन्, आफूसँग अभाव भएको वस्तु आफ्ना संग्रहका अन्य वस्तुसँग साट्नु विनिमय हो । यस्ता विनिमयले अर्थतन्त्र निर्माण गर्दछन्, अनि अर्थशास्त्रको अस्तित्व सामुन्ने आउँदछ । अर्थतन्त्र र अर्थशास्त्र एउटै होइनन् तर दुवै एक अर्काको पर्याय भन्ने धारणा धेरैमा पाइन्छ ।
जुन वस्तु प्राप्त गर्न मूल्य लाग्छ श्रम लाग्छ त्यो वस्तु भविष्यको निमित्त, आफ्नाको निमित्त सञ्चय गर्ने गरिन्छ । यस किसिमले सञ्चय गरिएका वस्तुहरू र तिनीहरूको विनिमयले अर्थतन्त्रको अवधारणा जन्मन्छ । यदि श्रम नगरी प्राणवायु जस्तै सित्तैमा, सहजै दाना, छाना र नाना पनि प्राप्त भइदिने भएको भए अर्थको कुनै अर्थ हुने थिएन । अर्थ नै नभएको अवस्थामा अर्थतन्त्रको अवधारणा नै सम्भव थिएन ।
अनि यी आधारभूत तत्व वा वस्तुहरूको निमित्त प्रयत्न आवश्यक नहुँदा विकास, प्रगति केही हुने थिएन । दाना, छाना र नानाको निमित्त आवश्यक वस्तुको संग्रह, सञ्चय गर्ने र विनिमय गर्ने प्रवृत्ति भएकले नै मानव समाज अन्य प्राणीको समाजभन्दा उन्नत र फरक छ । समाजिक ढाँचामा संरचनामा बस्ने अन्य प्राणी छन् जो खाना सञ्चय गर्दछन । अझ एक प्रकारका कमिलाहरू खेती पनि गर्दछन् तर यीनीहरू विनिमय गर्दैनन् । विनिमय गर्ने समाजिक ढाँचामा रहने हालसम्मको प्राणी मान्छे नै हो ।
संग्रहित उपयोगी वस्तुहरू सबै धन् हुन, आफूसँग अभाव भएको वस्तु आफ्ना संग्रहका अन्य वस्तुसँग साट्नु विनिमय हो । यस्ता विनिमयले नै अर्थतन्त्र निर्माण गर्दछन, अनि अर्थशास्त्रको अस्तित्व सामुन्ने आउँदछ । अर्थतन्त्र र अर्थशास्त्र एउटै होइनन् तर दुवै एक अर्काको पर्याय भन्ने धारणा धेरैमा पाइन्छ । अर्थतन्त्र आर्थिक इकाइको अर्थिक क्रियाकलाप हो भने अर्थशास्त्र ती अर्थतन्त्रहरूको अध्ययन गर्ने शास्त्र हो । अर्थशास्त्रले अर्थतन्त्रहरूको अध्ययन अनुसंधान गर्ने गर्दछ । ती अध्ययन अनुसंधानहरूको सहायताले अर्थतन्त्र सुधार्ने बाटा पहिल्याउँछ ।
नीतिहरू प्रतिपादन गर्दछ, निर्णय गर्ने क्षमता अभिवृद्धि गर्दछ । विभिन्न आर्थिक इकाइहरूको अध्ययन गरेर त्यहाँ भएका समस्या, विशेषता पहिल्याउने अनि समस्याका समाधानका बाटा दिने काम अर्थशास्त्रको हो । विषेशताहरूको थप विकास गरेर आर्थिक पक्ष सवल गराउने काम अर्थशास्त्रको हो । अर्थतन्त्र वास्तविक अभ्यास हो भने अर्थशास्त्र त्यसको सैद्धान्तिक आधार निर्माण गर्ने शास्त्र हो । आर्थिक इकाइको व्यक्तिदेखि परिवार हुँदै राष्ट्र अनि विश्वसम्म विस्तार हुन्छ भन्ने मान्यता पाइन्छ । व्यक्ति जब परिवारमा हुन्छ त्यसबेला सवैभन्दा सानो आर्थिक एकाइ परिवार नै हुन्छ व्यक्ति हुँदैन । परिवारमा भएका व्यक्तिका आर्थिक क्रियाकलाप व्यक्तिव्यक्तिका अलग हुँदैनन् । ती क्रियाकलाप परिवारका सबै सदस्यको सामूहिक हुन्छ । कुनै एक्लो परिवारविहीन व्यक्ति आफैँमा एक परिवार हो । किनभने अपवादबाहेक कुनै न कुनै समयमा उसले परिवार बनाउँछ । परिवार भइसकेपछि हरेक आर्थिकलगायत पक्रियाकलाप परिवारका साझा हुन्छन । पूर्वीय मान्यतामा परिवार एक इकाइ हो, प्रत्यक्ष कमाई हुने क्रियाकलाप गर्ने परिवारको सदस्यलाई उसका जीवन सहज बनाउन अन्य प्रत्यक्ष कमाई नहुने सदस्यले काम गरेको हुन्छ ।
जनताको जीवनयापनको निमित्त आर्थिक क्रियाकलाप आभारभूत आवश्यकता हो । राज्यले आफूमा रहेका सबै आर्थिक इकाइका अर्थतन्त्रको जर्गेना अनि सुधार गर्नुपर्ने हुन्छ । अनि यो सबै चक्रको आरम्भ भनेको दाना, छाना र नानाको जोहो नै हो भनेर सारसंक्षेप निकाल्न सकिन्छ ।
परिवारको यही विशेषताले उनीहरूलाई एक अर्कामा स्नेह, प्रेम बन्धनले बाँधेको हुन्छ । यो बन्धनमा सबैको सबैप्रति कर्तव्य हुन्छ । अमिवा जस्तो आफ्नो शरीर भाग लगाएर दुई वा ज्यादा परिवारमा परिणत नभएसम्म सबै सदस्यहरूको काम कर्तव्य अनि अधिकार साझा हुन्छ । आर्थिक क्रियाकलापमै बलियाले निर्धालाई अन्याय गर्ने शोषण गर्ने विकृति पैदा हुन्छ । यो विकृतिलाई रोक्न अनि सबैलाई न्यायोचित वातावरण दिन समाजमा अर्को संरचनाको आवश्यकता हुन्छ । त्यो संरचना हो शासन, राज्य अनि शासक । अवधारणानुसार शासकको प्रमुख काम भनेको राज्यमा रहेका स्थायी वा अस्थायी नागरिकलाई अन्याय अत्याचारमा पर्न नदिनु हो । नागरिकहरू व्यक्तिवाचक संज्ञा र जनता समूहवाचक संज्ञा भएकाले नागरिकलाई सरलरूपमा जनता सम्बोधित गर्ने गरिन्छ ।
त्यसैले अन्याय अत्यचारबाट नागरिकको रक्षा गर्ने कर्तव्य हो । जनताको जीवन सरल बनाउने, उनीहरूको स्वास्थ्य, शिक्षा आदिको निमित्त काम गर्ने शासकको काम हो । शासकका, शासनका अ-आफ्नै तरिका हुन्छन् । ती तरिकाहरूको अध्ययन गर्ने, समस्याको समाधान खोज्ने काम गर्ने शास्त्र राजनीति शास्त्र हो । विभिन्न विचारक चिन्तकले राजनीतिका निमित्त प्रणाली निकालेका छन । ती सबैलाई तन्त्र प्रत्यय लगाउने गरिन्छ ।
दाना, छाना र नानाको निमित्त गरिने श्रम अर्थात कर्मले उपयोगी वस्तु संकलन हुन्छ । त्यो उपयोगी वस्तु मोलमा वा अन्य वस्तुको साटोमा हुने आदानप्रदानले अर्थतन्त्र पैदा हुन्छ । त्यो कर्म सुकर्म या कुकर्म दुवै हुनसक्छ । कुकर्मले अन्यप्रति अन्याय थिचोमिचो हुन्छ । त्यसैले कुकर्म रोकिनु पर्दछ त्यो रोक्न शासकको आवश्यकता हुन्छ । शासकले शासनमार्फत कुकर्म मात्र रोक्दैन, जनताहरूको उचित जीवनयापनका निमित्त पनि काम गर्दछ । यसका लागि नियम-कानुन आदिको निर्माण गरेर जनताको पालनपोषण गर्नु शासकको कर्तव्य हो । अनि जनताको जीवनयापनको निमित्त आर्थिक क्रियाकलाप आभारभूत आवश्यकता हो । राज्यले आफूमा रहेका सबै आर्थिक इकाइका अर्थतन्त्रको जर्गेना अनि सुधार गर्नुपर्ने हुन्छ । अनि यो सबै चक्रको आरम्भ भनेको दाना, छाना र नानाको जोहो नै हो भनेर सारसंक्षेप निकाल्न सकिन्छ । यो सारसंक्षेपले देखाउने कुरा के हो भने धेरै आर्थिक इकाइहरूको अर्थतन्त्रले अर्थशास्त्रको आवश्यकता हुन्छ । अर्थशास्त्रले अर्थतन्त्रहरूको समस्याको समाधान निकाल्दा त्यसलाई लागू गर्ने संरचनाको आवश्यकता हुन्छ । त्यसको निमित्त राज्य, शासक अनि शासनको अवधारणा पैदा हुन्छ । त्यो अवधारणाले गर्ने काम राजनीति हो ।
त्यो राजनीति सञ्चालन गर्न अनेकौं सिद्धान्त छन् र सबै सिद्धान्त नागरिकहरूको भलोको निमित्त प्रादुर्भाव भएको मान्यता हुन्छ । तन्त्र प्रत्यय लागेका यस्ता सिद्धान्तको अध्ययन, अनुसन्धान गरेर समस्याको समाधानका बाटा खोज्न राजनीतिशास्त्र जिम्मेवार छ भन्ने धारणा रहेको छ । सबैभन्दा माथि नागरिकहरूको हित हुन्छ र हुनुपर्दछ । त्यो हितको निमित्त अर्थशास्त्र र अर्थशास्त्रले पहिल्याएको समाधान लागू गर्न राजनीति हो । वर्तमान मान्यता अन्य सबै कुरा राजनीतिअन्तर्गत हुन्छन् भन्ने छ । तर, वास्तवमा दाना, छाना र नानाअन्तर्गत सबै रहेका हुन्छन् कि भनेर सोच्ने अवस्था भने आइसकेको छ ।
आर्थिक समस्यामा आधारित आन्दोलनले अन्य सबै कुरा परिवर्तन गर्न सकेको देखिन्छ । त्यसैले अर्थशास्त्रको अधिनमा अन्य सबै शास्त्र रहेका हुन्छन् । अनि अर्थशास्त्र भने व्यक्ति व्यक्तिको दाना, छाना र नानाको माग अनि आपूर्तिको अधिनमा रहेको हुन्छ । कौटिल्यले अर्थशास्त्रमा राजनीति निर्देश गरे । कार्ल माक्र्सले अर्थशास्त्रको आधारमा राजनीतिक वादको सिर्जना गरे पुँजी कितावबाट । सिर्जना गरे भन्नुभन्दा त्यसबेला भएको आर्थिक असन्तोषले पैदा गरेको धारणालाई सिद्धान्त दिए भन्न ज्यादा उपयुक्त होला ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements