✍️ केशव चौलागाईं
तिहार हामी सबै हिन्दूहरूको दोस्रो ठूलो चाड हो । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म धुमधामका साथ तिहार पर्व मनाउने गरिन्छ । यस पर्वको धार्मिक, सांस्कृति, सामाजिक एवं वैज्ञानिक महत्व छ । तिहार शब्द हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान गर्ने गरिन्छ । तिहारलाई यमपञ्चक, दीपावली, दीवाली नामले पुकारिन्छ ।
पौराणिक कथन अनुसार सौर्यपुत्र यमराज आफ्नी बहिनी यमुनाकोमा नगएको धेरै समय भएको थियो । दाजु यमराज मत्य लोकमा बस्दथे भने बहिनी यमुना पृथ्वी लोकमा बस्दथिन् । दाइलाई धेरै पटक बोलाउँदा पनि नआएको देखेर बहिनी यमुना थकित भएकी थिइन् । एक दिन यमुनाले कागलाई चिठी लेखेर दाजुलाई आउन निम्ता पठाइन् । यमराज भैँसीमा चढेर बहिनीको घरमा आए । त्यही यमराजले कागलाई चिठी पठाएर यमराज बहिनीको घरमा आएको दिनलाई काग तिहार मानियो । यमराज पाँच दिनसम्म बहिनीकै घरमा बसी अन्तिम दिन कार्तिक शुक्ल द्वितीयामा टीका, माला लगाई सगुनसहित बिदाबारी भए । यसै दिनलाई भाइटीका भनियो ।
लक्ष्मीपूजालाई सुखरात्रि पनि भनिन्छ । गाईको गोवर र गहुँत दुवैलाई पवित्र मानिन्छ । गाईलाई पशुधन, गौमाता, लक्ष्मी, गाईजात्रा, गाईप्राणी, गाईपाला, गौप्राणी, धनधान्यकी देवी, ऐश्वर्यकी प्रतीक जस्ता प्रतीकात्मक शब्द पनि प्रयोग गरिन्छ ।
यसमराज पाँच दिन पृथ्वी लोकमा बसेको हुनाले यमपञ्चक भनिएको भन्ने बुझाइ छ । रहँदा बस्दा यमराज बिहनीको सम्मानबाट प्रसन्न भई जे मन लाग्छ वर मागभन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने साथै सबै दाजुभाइ दिदीबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयू, कीर्ति, आरोग्य वृद्धिहोओस् भन्ने वर मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भातृपूजा गर्ने गराउनेको सदा उन्नति हुने तथा कीर्ति पनि फिजिने वर दिइ आफ्नी बहिनीसँग बिदा भई गएकोले प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको पाइन्छ ।
(क) काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार पर्व पर्दछ । कागलाई सत्यवादी, भविष्यद्रष्टा, सन्देशबाहक, चतुर सकुनशास्त्रका वक्ताको रूपमा लिइन्छ । भगवान् विष्णुको वाहन गरुण, लक्ष्मीको वाहन लाटोकोसेरो, सरस्वतीको वहान हंश, कार्तिकेयको वाहन मयूर भएझैँ यमराजको दूतको रूपमा कागलाई मानिन्छ । पितृकार्यमा अनिवार्यरुपमा कागबाली (खाना) दिने विधान छ । भगवान् धन्वन्तरी प्रदुर्धाव हुनुभएको हुनाले कागतिहारलाई धनतेरस पनि भन्ने गरिन्छ । यस दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव यमराज प्रशन्न भई आरोग्यता एवं दीर्घजीवन प्रदान गर्दछन् भन्ने मान्यता रहेको छ । काग यमराजको प्रिय भक्त हो ।
कागको समान दृष्टि, अन्नबालीमा लागेका किरा खाइदिने, काकगवेषणा, काकन्याय, काकबलीजस्ता कागसम्बन्धी सम्मानका शब्दहरू प्रयोग भएको पाइन्छ । यसदिन घरमा पाकेको खानेकुरा सालका पात वा टपरीमा काग आउने ठाउँमा कागलाई बोलाएर खान दिने चलन छ ।
(ख) कुकुर तिहार
कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुर तिहार पर्व मनाइन्छ । कुकर तिहारलाई नरक चतुर्थीको नामले पनि चिनिन्छ । कुकुर यमराजको प्रिय भक्त, आज्ञापालक, रक्षक, स्वामीभक्त, दैवी विपत्तिको पूर्वसुचकको काम गर्ने प्राणी हो । यस दिन तोरीको तेल, मर्दन गरी स्नान गर्नाले छालाको रोग र चिसोबाट बच्न सकिन्छ । कुकुरलाई नुहाइ सफा बनाएर टीकामाला लगाएर मनपर्ने खानेकुरा खान दिने चलन छ ।
(ग) गाई तिहार
कात्र्तिक कृष्ण पक्षको औँसीका दिन गाई तिहार पर्व मनाइन्छ । यसदिन बिहानै घर आँगन लिपपोत गरी सफासुग्घर भएर नित्यकर्म गरी दुर्भाग्य लक्ष्मीको प्रार्थना गरिन्छ । दुर्भाग्य लक्ष्मीको पूजापछि गोलक्ष्मीको समन्त्रक पूजा गरिन्छ । कर्म गरे पनि दुर्भाग्यले नछोडने भएकोले दुर्भाग्यलाई हटाई सौभाग्यवृद्धिका लागि सौभाग्य लक्ष्मीको पूजा गरिन्छ । धूपदीप गरेर गाईका सिङ, खुरमा तेल लगाई शरीरमा विभिन्न रङ र पुष्पले पूजा गरिन्छ । गाईलाई फलफूल, रोटी, पिठो अन्न, साग, पसाएको हरियो धान खान दिने चलन छ । गौदूग्धलाई अमृत समान मानिन्छ । घ्यूलाई अयुर्वै घृतम भनिन्छ । बाँचुन्जेल गोरसपान गरेर मृत्युपर्यन्त वैतरणी पार गराउने सहाराको रूपमा मानिन्छ ।
लक्ष्मीपूजालाई सुखरात्री पनि भनिन्छ । गाईको गोबर र गहुँत दुवैलाई पवित्र मानिन्छ । गाईलाई पशुधन, गौमाता, लक्ष्मी, गाईजात्रा, गाईप्राणी, गाईपाला, गौप्राणी, धनधान्यकी देवी, ऐश्वर्यकी प्रतीक, जस्ता प्रतीकात्मक शब्द पनि प्रयोग गरिन्छ । सुख, सम्पत्ति, धन, ऐश्वर्य अभिवृद्धिको मनोकामनाका साथ माता लक्ष्मीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।
साँझ दीप प्रज्वलन गरेर घर झिलीमिली बनाउने गरिन्छ । घरमा चार सुर, कोठा, चोटा, ढोका, झ्याल, आँटी, गग्रेटो, भर्याङ, खाट, दराज, जलाशय, धारा, गाईबाख्रा बाँध्ने किला सबै ठाँउमा दीप प्रज्ज्वलन गर्ने चलन छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकार हटाएर उज्ज्यालो दीपतर्फ लगि आत्मिकरूपमा सुख-सन्तोष प्रदान हुने गर्दछ । मिठामिठा भाकामा पौराणिक कहानी भन्दै देउसी र भैलो खेल्ने चलन यद्यपि छँदैछ । लोकभाकामा होस वा आधुनिक पारामा होसा देउसी भैलोले हामी सबैलाई रमाइलो बनाएको छ ।
यसदिन विशेषगरी लक्ष्मी माताको पूजा गरिन्छ । घरमा भएका गरगहना, धन सम्पत्ति, सबै एकै ठाउँमा जम्मा गरी तामाको खडकौलोमा लक्ष्मीको फोटो राखी मूलबाटामा, घरको मूलढोका अगाडि विभिन्न रङबाट रङगोली बनाइ रातोमाटो र गोबरको प्रयोग गरी लक्ष्मीको पाइला बनाएर भण्डारसम्म लगिन्छ । लक्ष्मीलाई विधिविधानसित पूजा गरी प्रसन्न पारिन्छ । माता लक्ष्मीको प्रसादस्वरूप धन प्राप्त हुने विश्वासका साथ दराज, भण्डार, सन्दुक, सेफ, ट्याङ्का आदिमा स्वस्तिक चिह्न बनाउने वा शुभलाभ लेख्ने चलन छ । लक्ष्मीका साथ कुवेर, कात्र्तिकेय, श्रीचक्रको पनि पूजा गर्ने चलन छ ।
भगवान् रामचचन्द्रले लोककल्याणको भावनाले रावण लगायत विविध असुरहरूको नास गरेपछि कार्तिक कृष्ण पक्षको औँसीको दिन अयोध्याका राजाको रूपमा राज्यारोहण गरेको खुशीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्गा होस् वा यमराजले यमपञ्चकका पाँचदिन आफ्नी बहिनी यमुना कहाँ बसेका कारण यस समयमा मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासका साथ खुशी मनाउँदै दीपावली गर्ने चलन आरम्भ भएर होस् । दीपावलीको चलनले समाजमा मनोरञ्जनका साथै आपसी सद्भाव बढाएको छ ।
(घ) गोरु तिहार
गोरु तिहारलाई गोवर्धन पूजा वा हल तिहार पनि भनिन्छ । गोवर्धन गोकुल नजिकैको एक पर्वत हो । श्रीकृष्ण भगवान् गोकुलमा गाईहरूसँग बस्दथे । गोपालहरू इन्द्रको पूजा गर्दथे । इन्द्रबाट गोपालहरूले केही पाउँदैनथे । कृष्ण भगवान्ले एक दिन केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेर सल्लाह दिए । सबै गोपालहरूले राजी भएर गोवर्धन पर्वतको पूजा गर्न लागे । आफ्नो सट्टा गोवर्धन पर्वतको पूजा गरेको देखेर इन्द्रले गोकुलमा असिना पानीको वृष्टि गराए । भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई हातमा उचालेर सबै गोकुल वासीलाई आश्रय दिए ।
त्यसै समयदेखि गोवर्धनपूजा आरम्भ भएको पौराणिक मान्यता रहेको पाइन्छ । संस्कृतमा गौ भनेको गाई, गोवर्धन, गोकुल, गोपाल त्यतिबोला गाईलाई दिइने सम्मान सूचक शब्द हुन् । घरघरमा गाईको गोबरले गोवर्धन पर्वत बनाई पूजा गरिन्छ । गोरु तिहारका दिन वर्षभरि खाने अन्न फलाउन हलो जोत्ने गोरुको पूजा गरिन्छ । गोरुलाई सफा बनाएर सिङ खुरमा तेल लगाएर माला लगाई फूलले पूजा गरी फलफूल, रोटी, पिठो जस्ता खानेकुरा खान दिने चलन छ । दीप प्रज्ज्वलन र देउसी भैलोलाई निरन्तरता दिइन्छ ।
(ङ) भाइटीका
तिहारको अन्तिम दिन एवं सबैभन्दा महत्वपूर्ण दिनको रूपमा उल्लासका साथ भाइटीका मनाउने चलन छ । भाइटीका तिहारको विशेष दिन हो । यमपञ्चकको पाँचौं दिन इन्द्रादि दश दिक्पालले बली राजाका लागि आफ्नो राज्य छाड्ने कथन रहेको छ । यस दिन दीप, कलश, गणेश, अष्टचिरञ्जीवी, यमराज, नवग्रह, लोमश, यमुना, हनुमान, विभीषण, परशुराम, ब्रहृमा, विष्णु, रुद्रादि आदिको पूजा गर्ने चलन छ । दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने, मीठामीठा परिकार, दक्षिणा वस्त्र प्रदान गर्ने, आदर सत्कार गर्ने, स्नेहको भाव व्यक्त गर्ने जस्ता कार्य हुने गर्दछन् । यस पर्वले दाजुभाइ र दिदीबहिनी बीचको सुमधुर सम्बन्ध स्थापना गर्ने कार्य गर्दछ ।
दिदीबहिनीले दाजुभाइलाई सेरलोटी, फलफूल, मीठाइ, ओखर, विमिरो, मखमली, सयपत्री एवं दुवोको मालाका साथ दाजुभाइको सुख, समृद्धि, आरोग्य एवम् दीर्घजीवनको कामना व्यक्त गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ । सयपत्री कहिल्यै रङ नउड्ने, मखमली कहिल्यै नओइलाउने, दुवो सधैँ हरियो रहने भएकोले मखमली, सयपत्री र दुवोको मालाको प्रयोग हुने गरेको छ । एकै पटकमा ओखर फुटाउनुपर्ने, काँडाबाट पार गरेर अमृतमय बाटोमा लान सकूँन भनेर कटुस फोर्ने, २१ वटा दुवोको मुन्टा लिएर तेल र पानीले तीन वा सातपटक छेक्नुपर्ने जस्ता अनेकन सांस्कृतिक एवं वैज्ञनिक कारणहरू फेला पार्न सकिन्छ । नौवटा ग्रहमध्ये राहु र केतुले राम्रो फल नदिने भएकोले सातवटा ग्रहलाई मानेर सात रङको प्रयोग भएको पाइन्छ ।
सूर्यले रातो रङ, चन्द्रमार शुक्रले सेतो, मंगलले कलेजी, बृहस्पतिले पहेँलो, शनिले निलो र बुधले हरियो रङको प्रतिनिधित्व गरेका छन् । त्यस्तै कतै सप्तऋषिहरूको नामसँग सप्तरङ्गी टीकालाई जोडेर हेर्ने गरिन्छ । टीका लगाएपछि दिदीबहिनीहरूले दाजुभाइलाई ढाकाटोपी लगाइदिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीकामाला लगाइ आफ्नो गक्ष अनुसारको दक्षिणा, उपहार दिदीबहिनीको पाउमा राखेर ढोगिदिन्छन् ।
अयोध्यावासीले भगवान् श्रीरामको विजयोत्सवमा खुशी भएर रामको प्रशंसा गरेको ‘देवश्रीराम’ (हाम्रा राम देउता हुन्)बाट देऊ श्रीराम/देउसिरे/दिउसी सुरु भएको भन्ने मान्यता छ । सोही परम्परालाई अनुसरण गर्दै घरघरमा देउसी रे खेल्दै हिँड्ने चलन छ । विष्णु भगवान्ले पाताल पुर्याएका बली राजा तिहारको समयमा घुम्न आउने विश्वसका साथ वा बलीराजा नआएर हामीलाई बलीराजाले पठाएर आएका भन्दै देउसीरे र भैली गीत गाएर देउसी भैलो खेल्ने गरिन्छ । (लेखक रिलायन्स स्कुलमा नेपाली विषयको विभागीय प्रमुख हुनुहुन्छ ।)







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts