नेपालीहरूले प्राथमिकताका साथ मनाउने मुख्य पर्वहरू भनेका दशैँ, तिहार हुन् । तर, यसवर्ष यी पर्वहरूमा विगत वर्षमा जस्तो हर्षोल्लास छैन । कारण हो दशैँको पूर्वसन्ध्यामा इजराजयलमा भएको हमासको आक्रमणमा परेर नेपाली युवाको निधन र तिहारको पूर्वसन्ध्यामा पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प । यी कारणबाट मर्महात बनेको नेपाली जनजीवन फेरि पनि दुःख सुखबीच पर्व मनाइरहेको छ ।
हाम्रो पात्रोमा शरद ऋतु पर्वै पर्वले भरिएको ऋतु हो । हिन्दु धर्म मान्नेहरूको बाहुल्य भएको नेपालमा नेपालीहरूको महान् पर्व दशैँ पछि अर्को महान् पर्व तिहार नेपालीहरूको घर आँगनमा आइसकेको छ । राष्ट्रिय पर्वको रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । यो अत्यन्त महत्वपूर्ण र उल्लासमय पर्व भनेर नेपालीहरूबीच रहिआएको छ । तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व पाँच दिनसम्म मनाइने भएकोले तिहारलाई ‘पञ्चक’ भनेर पनि भन्ने गरेको पाइन्छ । डाँडापाखाभरी ढकमक्क फुलेका फूलहरू, खेतभरी झुलेका धानका बालाहरू, बारीमा झुलेका कोदो, लटरम्म फलेका अम्बा (बेलौंती), सुन्तला, जुनार, मौसम, ज्यामिर, भोगटे, बयर, मेवाजस्ता फलहरूले यो मौसम मा फूल, माला, झिलिमिली बत्ती र देउसी-भैलोको लागि बढी प्रसिद्ध छ । तिहार नेपालीहरूको लौकिक सामाजिक पर्व हो ।
दशैँका १५ दिनपछि आउने सबैभन्दा ठूलो पर्वमा तिहार एउटा हो । कातिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी जम्मा पाँच दिनसम्म मनाइने पर्व हो, यमपञ्चक अर्थात् तिहार । सामाजिक, धार्मिक, पारिवारिक हिसाबले मनाउने तिहार पर्वमा काग, कुकुर, गाई, गोरु र भाइको पूजा गरी मनाइन्छ । तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौला फसल उमारेर अन्नरूपी सम्पत्ति घरमा ल्याउने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन ।
यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैँ अनि त्यसको १५ दिनपछि आउने तिहार दुबै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा-आराधना गरिन्छ । सम्पत्तिको देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाका धेरै देशमा विशेषगरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार) मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।
नेपाली हिन्दु पात्रोनुसार कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर तिहारको पहिलो दिन कागलाई शुभसमाचार सूचक गर्नको लागि पूजा गरिन्छ । दोस्रो दिन घरको रक्षक र यमको दूतको रूपमा कुकरलाई पूजा गरिन्छ ।
नेपाली हिन्दु पात्रोनुसार कातिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर तिहारको पहिलो दिन कागलाई शुभसमाचार सूचक गर्नका लागि पूजा गरिन्छ । दोस्रो दिन घरको रक्षक र यमको दूतको रूपमा कुकरलाई पूजा गरिन्छ । तेस्रो दिन धनधान्यकी स्वरूपको रूपमा लक्ष्मीको पूजा र त्यही दिन गाई तिहारको लक्ष्मीको प्रतीकको रूपमा गाईको पूजा गरिन्छ । लक्ष्मीपूजादेखि तिहारभरि हरेका घरघरमा रमझमका साथ दीपावली गरिन्छ । चौथोदिन गोवद्र्धन पूजा अर्थात् कृषि उत्पादनका द्योतकको रूपमा गोरुको पूजा हुन्छ । तिहारका दिन नेवार जातिले म्हः पूजा पनि गर्ने हुुनाले तिहारको अर्को विशेषता छ ।
लक्ष्मीपूजाको दिनदेखि भाइतिहारको रातिसम्म देउसी-भैलो खेल्दै नाचगान गर्दै विभिन्न कहावत धर्मशास्त्रमा आवद्ध भएका शब्दहरू झिकेर घर–घरमा बडो रमाइलोकोसाथ देउसी खेल्छन् । पाँचौं दिन दिदीबहिनीहरूले आ-आफ्ना दाजुभाइलाई यमराजको प्रार्थनासाथ दाजुभाइको दीर्घायूको कामना गर्दै भाइतिहार मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर विभिन्न मिठाई फलफूल र उपहार दिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिने गर्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानीपोखरीस्थित महादेवको मन्दिरमा गएर पनि टीका लगाउने गर्छन् । यो मन्दिर भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खुला हुन्छ । तर, यो वर्ष भने भूकम्पले यो मन्दिरलाई पनि छोडेको छैन । भूकम्पका कारण क्षति पुगेको छ यो मन्दिरमा पनि ।
तराईमा भरद्वितीयाः तिहारजस्तै मैथिल र भोजपुरी समाजमा दाजुभाइ-दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेका भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व धार्मिक विधि अनुरूप हर्षोल्लासका साथ मनाइन्छ । दीर्घायू तथा सुख, समृद्धिको कामना गर्दै मैथिल र भोजपुरी समाजमा दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो–भरद्वितीया । कार्तिक शुक्ल पक्षद्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो । यसदिन मैथिल र भोजपुरी समाजमा घरको आँगनमा पिठारको (चामलको पीठो) अर्पणा बनाइ त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पीर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दछन् ।
पूजाको क्रममा दाजुभाइले दुबै हात अञ्जलि बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिनुरूप मन्त्रोउच्चारणसहित दाजुभाइलाई तीन-चोटी पूजा गर्दछन् । पूजा सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने प्रचलन छ । यसरी विभिन्न समुदायमा विभिन्न रूपमा यो पर्व मनाउने गरेको पाइन्छ ।
शास्त्रले तिहारका सम्बन्धमा विभिन्न प्रसंग जोडेको छ तर पनि मुख्यतया उज्यालो पर्वको रूपमा, धन धान्यकी देवी लक्ष्मी माताको पूजा अर्चना स्तुति गर्ने, धन सम्पतिको रक्षा गर्ने, मृत्यु देवता यमराज र उसकी बहिनी यमुनाको प्रसंगबाट दाजु बहिनी सुमधुर सम्बन्ध, प्रेम, स्नेहलाई बढो बलियोसँग जोडेको पाइन्छ तिहारले । यसका साथै काग, कुकुर र गाई आदिको पूजा गरी जनावर र प्रकृतिसँग मानव सम्बन्ध देखाउने पर्वको रूपमा तिहारले प्राकृतिक, सामाजिक र धार्मिक महत्व बोकेको छ ।
तिहारमा जुवातास खेलेर मनोरञ्जन लिनेहरूको संख्या पनि बढ्दै गएको छ । त्यसरी खेलेको जुवातासले कसैको घरवार नै गुमेको घटनाहरू पनि सुन्न पाइन्छ । तिहारमा जुवातास जस्ता विकृति रूपी कार्य बढी हुन थालेका छन् । यसले गर्दा संस्कृतिले विकृत रूप लिँदैछ ।
घर आँगन सफा गरी चिटिक्क सजाइ लक्ष्मी माताको पूजा अर्चना गरेमा धन सम्पत्तिको आर्जन तथा रक्षा हुने विश्वास रही आएकोले लक्ष्मी पूजाको दिनले बडो महत्व राखेको छ । भाइ टीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र दुवो, मखमली माला लगाई तेलको घेराले शत्रु छेकी पूजा अर्चना गरी ओखर फुटाई शत्रु नाश र उत्तरोउत्तर प्रगति र दीर्घायूको कामना गर्दछन् । दिदीबहिनीहरूले आफ्ना दाजुभाइको मृत्युलाई समेत टार्न सक्छन् भने दिदीबहिनीको पनि दाजुभाइले संरक्षण गर्न सक्छन् भन्ने सन्देश यो दिनले दिएको छ । यस्तो स्वच्छ पवित्र मनकामनासहित मनाउने तिहारमा सजिएका घर आँगन, गल्लीहरू दीपावलीको झिलिमिली, घरघरमा सेलरोटीको बासना, गल्ली गल्लीमा चोकचोकमा भेटिने देउसी भैलो समूहको नाचगान, मादल मजुराको गुञ्जाएमान धुनले तिहारलाई साँच्चै नै अति रमाइलो र उल्लासमय बनाउँछ ।
आफ्नो पहिचान भनेकै त्यो समाजले अपनाउने र मनाउने संस्कार, संस्कृति र परम्परा हो । त्यसैले आफ्नो भाषा संस्कृति र संस्कारको धारण, प्रबद्र्धन र विकास गर्नु आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । यसले गर्दा नै हाम्रो भाषा, संस्कृति, परम्परा र सभ्यताले पुस्तौंसम्म जीवन्तता पाउँछ । तिहार दाजु बहिनीको माया र स्नेहको उदाहरणको रूपमा मनाउँदै आएको कुरा हिन्दु ग्रन्थहरूमा लेखिएको पाइन्छ, तथापि यस्ता पर्वहरू एउटा धर्म र जाति विशेषमात्रैले नभई कुनै न कुनै रूपले सम्पूर्ण नेपाली पर्वको मान्यता पाएको देखिन्छ । एउटा राष्ट्रिय पर्वको रूपमा संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपालीहरूले यो पर्वलाई मनाएको पाइन्छ ।
नेपालीहरूको तिहारको अर्को फरक पक्ष भनेको भैली अनि देउसी हो । तिहारमा देउसी खेल्दै हिँड्ने चलन छ हाम्रो । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरू भट्याउनेको पछिपछि देउसिरे भन्ने हुन्छन् । यसलाई ठाउँ अनुसार भइलो पनि भन्ने गरिन्छ । उज्यालोको पर्वको रूपमा रहेको तिहार दाजुभाइ दिदीबहिनकीको पर्व पनि हो । भाइटीका अर्को यसको महत्वपूर्ण पक्ष रहिआएको छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा समबन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।
पछिल्लो समय हाम्रा चाड पर्वहरूमा केही विकृति देखा पर्न थालेका छन् । यसको परम्परागत महत्वभन्दा पनि जुवातास खेल्ने, खान पनि गरी झै–झगडा गर्ने जस्ता तिहार पर्वको नाममा विकृति बढ्दो छ । तिहारको बेलामा सरकारले पटका बिक्रीवितरण गर्न र पड्काउन रोक लगाए पनि लुकिछिपी यस्ता गतिविधि झन् बढी नै भएको पाइन्छ । जसले जिउधनको क्षति भएको पाइन्छ । पटकाले धेरैको आखाँको ज्योति गुमेको कानको श्रवण शक्ति गुमेका समाचारहरू विगत वर्षका ताजै छन् । तिहार पर्व खासगरी देउसी भैलो खेल्ने मुख्य पर्व हो, तर पटका पड्काएर त्यसको मज्जा लिन तिहारमा पटकाको माग र व्यापार धेरै हुने गरेको छ । सरकारले पटकाजन्य पदार्थमा कडाई गर्ने भनेता तापनि यसमा पूर्णरूपमा बन्देज लगाउने काम भने गर्न सकेको छैन् ।
पटकासँग पर्व र धर्मको कुनै सम्बन्ध छैन, चाडपर्वको नाममा यो विकृतिमात्र हो, यसलाई प्रोत्साहन गर्ने काम गर्नुहुँदैन, सबै मिलेर यसकार्यलाई निरुत्साहित गर्नुपर्छ । त्यस्तै तिहारलाई मिठाइको पर्व पनि भन्निछ तर हामीले खाने मीठाई कतिको स्वस्थकर छन् ? अनुगमनका क्रममा अधिकांश खुवामा पिठो÷स्टार्च मिसाइएको पाइएको बताइन्छ, सडेगलेको मीठाई बिक्रीवितरण गर्न राखेको, भण्डारण गरेको, मिति समाप्त भएको खाद्य रंग प्रयोग गरेको, मिठाइ बनाउने स्थान फोहरजस्ता कुरा देख्न र सुन्न पाइन्छ त्यसैले चाड पर्व खुशीखुशी मनाउँ, यसका विकृतिलाई बढवा नदिऊ । यसका लागि तपाईं हामी आफैं सचेत हुनु जरुरी छ ।
तिहारमा जुवातास खेलेर मनोरञ्जन लिनेहरूको संख्या पनि बढ्दै गएको छ । त्यसरी खेलेको जुवातासले कसैको घरवार नै गुमेको घटना सुन्न पाइन्छ । समयको परिवर्तनसँगै तिहार मनाउने संस्कृतिमा पनि परिवर्तन हुँदै आएको छ । तिहारमा जुवातास जस्ता विकृति रूपी कार्य बढी हुन थालेका छन् । यसले गर्दा संस्कृतिले विकृत रूप लिँदैछ । तिहारको जस्तै विकृत रूप दशैँमा पनि देखियो भने महिलाहरूको महानपर्व तीजमा पनि देखिएको छ । यसैगरी नयाँ वर्ष, क्रिसमस, भ्यालेन्टाइन डे लगायत पनि समाजमा तहल्का नै पिट्दै छ । युवायुवतीहरू विदेशीहरूको नक्कल गर्दै भ्यालेन्टाइन डे मनाउन थालेका छन् । आफ्नो संस्कृतिलाई बचाई राख्नुपर्छ । समयनुसार परिवर्तन पनि गर्दै जानुपर्छ । तर, संस्कृति रूपान्तरणको नाममा विकृति नबनाउ । देशलाई परको यो संकटको बेलामा संयमित भएर चाड पर्वहरू मनाऊँ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts