वासिंटन । अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले जनाएको छ । स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीको लाभ भएको छ, श्रम साखिंयकी विभाग (बीएलएस) ले भनेको छ, ‘कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको कारण कार उत्पादन क्षेत्रका करिब ३५ हजार रोजगारी गुमेका छन् ।’
अमेरिकी रोजगारदाताले सेप्टेम्बरमा दुई लाख ९७ हजार रोजगारीहरू थपेका थिए । अगष्टमा पनि आर्थिक वृद्धि दर घटेपछि रोजगारी संख्या एक लाख ६५ हजारमा झरेको थियो । यी संशोधनको साथ, अगस्त र सेप्टेम्बरमा संयुक्त रूपमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा एक लाख एक हजार संख्या कम थियो ।
गत अप्रिलमा ३.४ प्रतिशतको न्यून विन्दुमा पुगेको बेरोजगारी दर ०.५ प्रतिशत बिन्दुले बढेको छ, जसले श्रम बजारको वृद्धिदर सुस्त भएको संकेत गर्छ । अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले केही दिनअघि भन्नुभएको थियो, ‘श्रम बजार अझै कडा छ तर आपूर्ति र मागको अवस्था राम्रो सन्तुलनमा आउँछ’, पावेलले भन्नुभयो, ‘मुद्रास्फीति घटाउन सम्भावित वृद्धिदरभन्दा कम हुने र श्रम बजारको अवस्था नरम हुने सम्भावना छ ।’
बिएलएसको प्रतिवेदनले श्रम शक्तिको सहभागिता दर ६२.७ प्रतिशत रहेको देखाएको छ, जुन सेप्टेम्बरको ६२.८ प्रतिशतको तुलनामा केही कम थियो र महामारी पूर्वको स्तर ६३.४ प्रतिशतभन्दा कम थियो । अक्टोबरमा, निजी गैरकृषि पेरोलमा सबै कर्मचारीहरूको लागि औसतप्रति घण्टा कमाई सात सेन्ट, वा ०.२ प्रतिशतले बढेर ३४ं अमेरिकी डलर पुगेको छ । पछिल्लो १२ महिनामा प्रतिघण्टा औसत आम्दानी ४.१ प्रतिशतले बढेको छ । रासस/एएफपी ।







Breaking news with related posts