सङ्ख्यालाई बोधगराउने चिहृनविशेष अङ्क हुन् । ‘अङ्कयति चिहृनयतीति अङ्कः’ भनी वाचस्पत्यम्मा परिभाषा गरिएको छ । संसारी व्यवहार चलाउन अङ्कको महत्वपूर्ण भूमिका रहन्छ । सङ्ख्यालाई बोध गराउने अङ्क भिन्न भिन्न लिपिका भिन्न भिन्न चिहृन हुन्छन् । लिपि वा चिहृन जुनसुकै भए पनि सबैले सङ्ख्यालाई नै बोध गराएका हुन्छन् । अङ्कको सङ्ख्या नौ रहेको छ । विश्वभरि नै व्यवहार नौ अङ्कबाट चल्ने गर्दछ । शून्य (०) लाई अङ्कको कोटिमा राखिएको छैन । ‘खंब्रहृम’ (यजुर्वेद) भनी शून्यलाई ब्रहृम वा अनन्त भनी परिभाषित गरिएको छ । अङ्को दायँतर्फ शून्य राख्दा दश-सय हजार आदि क्रमशः शून्यले द्योतन गर्दछन् भने बायाँतर्फ राख्दा कुनै मूल्य बोध हुँदैन । केवल अङ्कमात्र रहन्छ ।
यसरी शून्यले अङ्कको दायाँतर्फ रहँदा अनन्त द्योतन गर्ने भएकाले शून्यलाई अङ्कको कोटिमा राखिएको छैन केवल अङ्को सङ्ख्यावृद्धिको अनन्त सूचकका रूपमा प्रयोग गरिएको छ । १,२,३,४,५,६,७,८,९ अङ्क हुन् । यसैले ज्योतिषशास्त्रमा अङ्क भनेको नौ भन्ने अर्थ लाग्छ । यसरी अङ्क नौ नै हुनुमा पनि अनन्तको द्योतन पाइन्छ । नौ अङ्मा नै संसार पूर्ण रहने भएकाले यसको महिमा विशेष रहेको छ । संसारका हरेक विषयवस्तु यही नौ अङ्मा परिपूर्ण भएका छन् यसैले नौ अङ्कलाई विशेष रूपमा लिइन्छ । शाब्दिक रूपमा ब्रहृमशब्द नौ अङ्मा परिपूर्ण हुन्छ । वर्णमालाक्रम अनुसार ब+र+ ह+म=२३+२७+३३+२५=१०८ हुन्छ । यसरी १०८ का पनि तीन अंकको योग गर्दा १+०+८=९ हुन आउँछ । यसरी नौ अङ्कले पूर्ण ब्रहृमको द्योतन गर्दछ ।
ज्योतिषशास्त्र नवग्रहले परिपूर्ण भएको छ । जसअन्तर्गत सूर्य, चन्द्रमा, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु पर्दछन् । यो ब्रहृमाण्डलाई १२ भागमा विभाजन गरी १२ वटा राशिको संज्ञा दिइएको छ । प्रत्येक राशिमा नक्षत्रका नौवटा अक्षर रहने गर्दछन् ।
नवदुर्गा भगवती नौ स्वरूपमा परिपूर्ण हुनुहुन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनीति, कालारात्री, महागौरी र सिद्धिदात्री नवदुर्गाका नौ स्वरूप हुन् । यसैले नवरात्रमा भगवतीका नौ स्वरूपको उपासना गर्ने विधान छ । यसैगरी नौ थरी कालीका बारेमा तन्त्रशास्त्रको ‘महाकाल संहिता’ मा उल्लेख गरिएको छ : दक्षिणकाली, भद्रकाली, श्मशानकाली, कालकाली, गुहृयकाली, कामकलाकाली, धनकाली, सिद्धिकाली र चण्डिकाली । यसैगरी दशैँको फूलपातीमा पनि नौ प्रकारै फूल भगवतीलाई अर्पण गर्नुपर्दछ । जसलाई नवपत्रिकका भनिन्छ । जसअन्तर्गत केरा, कचू, हलेदो, जयन्ती, बेल, दारिम, अशोक, कर्कलो र धान पर्दछन् (भविष्यपुराण) ।
श्रीस्वस्थानी माता पनि यिनै १०८ शक्तिमा परिपूर्ण हुने भएकाले श्रीस्वस्थानीको प्रसादमा १०८ वस्तु अर्पण गर्नुपर्छ भनिएको हो । जहाँ १०८ रोटी, १०८ बेलीपुष्प, १०८, अक्षता, १०८ यज्ञसूत्र आदि वस्तु अर्पण गर्नुपर्छ भनी निर्देश गरिएको छ । यसरी १०८ वस्तु अर्पर्ण गर्नु भनेको व्रतलाई परिपूर्णता प्रदान गर्नु हो, जसको कारण पनि उही १+०+८=९ मा नै परिपूर्णता मिल्ने गर्दछ । यसैले यसैगरी श्रीमद्भागवतमा पनि नवधाभक्तिको चर्चा गरिएको हो । जसमा श्रवण, कीर्तन, विष्णु स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य भाव, सख्यभाव, आत्मनिवेदन पर्दछन् ।
यसै गरी महादेवका पनि मुख्य १०८ नाम र स्वरूप रहेका छन् । शिव (कल्याण स्वरूप), महेश्वर (माय स्वरूप), (शम्भु (आनन्द स्वरूप), पिनाकी (धनुषधारी स्वरूप), शशिशेखर (चन्द्रमा जस्तै दीप्त स्वरूप) आदि । यसरी भगवान् १०८ (१+०+८=९) स्वरूपले परिपूर्ण अर्थात् पूर्ण ब्रहृम महेश्वर हुनुहुन्छ । नवचक्राङ्ग शिवजीकै नाम हो । जसले पनि परिपूर्ण ईश्वरको द्योतन गर्दछ ।
संस्कृत भाषामा ५४ वटा अक्षरहरू छन् । जसका आफ्नै शिवपक्ष र शक्तिपक्ष रहन्छ । जसको कूल योग १०८ अक्षरहरू हुन आउँछ । संस्कृतमा नव=नौ हुन्छ । नवशब्दको तीनै पुरुषमा एउटै रूप हुने गर्दछ । नव पुरुषाः (पुं) । नव गावः (स्त्री) । नव फलानि (नपुं) । अन्य अङ्कमा एउटै रूप चल्दैन । जस्तै एक पुरुषः । एका नारी । एकम् पुष्पम् हुन्छ । यहाँ एक, एका र एकम् तीनवटा एकका रूप प्रयोग गर्नुप¥यो तर नव शब्द तीनवटै लिङ्गमा एउटै नव नै छ । नव अर्थात् नौ अङ्क निरञ्जन निराकार परब्रहृम रहेकाले त्यहाँ कुनै भेद नरहेको कुरा शब्द, अङ्क, अर्थ र प्रयोगले पनि पुष्टि गर्दछन् ।
सीताराम शब्दको प्रयोगमा पनि पूर्ण ब्रहृमकै द्योतन रहेको छ । राममा ५४ र सीतामा ५४ गुणले सीताराम १०८ परिपूर्ण हुन्छ । र्=२७, आ=२, म्=२५ । २७+२+२५=५४ । यसैगरी स=३२, ई=४, त=१६, आ=२ । ३२+४+१६+२=५४ । सीता+राम=५४+ ५४=१०८=१+०+८=९ पूर्णाङ्ग=ब्रहृम अर्थात् ईश्वर पनि हो । सनातन धर्ममा सम्पूर्ण वेद जन्ने विद्वान्लाई श्री श्री १०८ वा १००८ को उपाधि दिने चलन छ । सम्पूर्ण वेदका वेत्ता ज्ञानी पुरुषलाई श्री श्री १०८ वा १००८ ले विभूषित गरिन्छ । सन्त महन्तलाई पनि यस्तो पदवी दिने चलन रहेको छ । जसले पनि परिपूर्णताको नै द्योतन गर्दछ ।
ज्योतिषशास्त्र नवग्रहले परिपूर्ण भएको छ । जसअन्तर्गत सूर्य, चन्द्रमा, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु पर्दछन् । यो ब्रहृमाण्डलाई १२ भागमा विभाजन गरी १२ वटा राशिको संज्ञा दिइएको छ । प्रत्येक राशिमा नक्षत्रका नौवटा अक्षर रहने गर्दछन् । जस्तै मेष राशि हुने व्यक्तिको नाम चु चे चो ला, ली, लु ले लो, अ यी नौ अक्षरबाट उठ्ने गर्दछ । यसरी १२ राशिका प्रत्येक ९ वटा अक्षरले १२× ९=१०८ सङ्ख्याको द्योतन हुन्छ । जो परिपूर्णताको द्योतक हो । यसैगरी नक्षको सङ्ख्या २७ रहेको छ । एक नक्षत्रमा चार चरण हुने गर्दछन् । यसरी हेर्दा २७ नक्षत्रमा २७× ४=१०८ हुन आउँछ । अर्थात् भनौँ ज्योतिषशास्त्रमा पनि ९ अङ्कले नै परिपूर्ण छ । हाम्रो नामका अक्षर पनि यिनै १०८ अक्षरमध्येबाट नै हुने शास्त्रीय व्यवस्था रहेको छ ।
आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’ हरू हुन्छन् । हाम्रो शरीर नौवटा प्वालले पूर्ण छ । ती हुन् : दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिंग । यिनै नौ प्वालले हम्रो शरीर पूर्णरूपमा चल्ने गर्दछ ।
अङ्कणितमा १, २ र ३ को अङ्कलाई त्यति नै अङ्कको शक्ति प्रदान गरी गुणन गर्दा १०८ हुन्छ । जस्तैः १ लाई १ शक्ति दिँदा १, २ लाई २ शक्ति दिँदा ४, ३ लाई ३ शक्ति दिँदा २७ यसरी प्राप्त फल १, ४ र २७ लाई गुणा गर्दा १०८=१+०+८=९ हुन्छ । नवमांशको पनि निर्धारण यसै परिपूर्णताका आधारमा गरिएको छ । प्रत्येक राशिको नवौँ भाग नवमांश हुन्छ । अष्टोत्तरी दशावर्षको निर्धारण पनि यसै आधारमा गरिएको हो । जहाँ पूर्ण वर्ष १०८ निर्धारण गरिएको छ । हामीले जप गर्ने मालामा रुद्राक्षको सङ्ख्या वा दानाको सङ्ख्या पनि १०८ नै हुने गर्दछ । जसको अर्थ पनि उही परिपूर्णतासँग नै गाँसिएको हुन्छ । त्यसैले नित्य १०८ मन्त्रको जप गर्नुपर्छ भनिएको हो । किनकि १०८ सङ्ख्या परिपूर्णको द्योतक हो ।
आयुर्वेदका अनुसार, जीवित प्राणीलाई जीवन प्रदान गर्ने १०८ वटा ‘मर्म विन्दु’ हरू हुन्छन् । अतः आयुर्वेद पनि १०८ ले नै परिपूर्ण भएको पाइन्छ । यसै गरी हाम्रो शरीर नौवटा प्वालले पूर्ण छ । ती हुन् ः दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिङ्ग । यिनै नौ प्वालले हम्रो शरीर पूर्णरूपमा चल्ने गर्दछ । यसैगरी हाम्रो शरीरमा ७२ हजार नाडीमध्ये १०८ नाडी हृदयमा रहने गर्दछन् । यसै गरी ‘श्रीयन्त्र’ मा भएका रेखाहरू ५४ ठाउँमा प्रतिच्छेदन हुन्छन् । जसमा आआफ्नै शिव र शक्ति गुण हुन्छ । ५४ शिव र ५४ शक्तिले परिपूर्णता प्राप्त हुने अङ्क पनि १०८ नै हो ।
काव्यशास्त्रमा पनि नौ रसकै चर्चा गरिएको छ । शृङ्गार, हास्य, करुण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भूत र शान्त नौ रसले नै साहित्य जगत् परिपूर्ण भएको छ । रसले परिपूर्ण हुन नौवटै स्थायी भाव पनि रहने गर्दछन् । यसैगरी ‘भरत’ ले ‘नाट्य शास्त्रमा १०८ करण (खुट्टाका चाल) बताएका छन् । अतः नाट्शास्त्रलाई पूर्णताका निम्ति पनि १०८ सङ्ख्याकै प्रयोग भएको पाइन्छ ।
हाम्रो यो विश्व ब्रहृमाण्ड नै ९ अङ्कमा परिपूर्ण छ । यिनै अङ्कमा हाम्रा व्यावहारिक कार्य सम्पन्न हुने गर्दछन् । अङ्कभित्र आध्यात्मिक र भौतिक दुवै पक्ष सन्निहित छन् । यसैगरी हामीले हरेक देवी देवताको पूजामा पनि १०८ वस्तुको प्रयोग गर्नुको रहस्य पनि यही अङ्को आध्यात्मिक पक्षसँग सम्बन्ध रहेको छ । १०८ भन्नु नै ९ हो । जो हरेकमा परिपूर्ण छ । ९, १०८ र १००८ भन्नु कुरो एउटै नै हो । जसको एउटै अर्थ परिपूर्णता वा ईश्वर भन्ने हुन्छ । ज्योतिश्चक्र, नक्षत्र, राशि, काव्य शास्त्र, तन्त्र, आदिमा पनि १०८ को विशेष महिमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा