काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरू कार्यान्वयनमा नेपाललाई सहयोगका साथै वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न नेपाल सरकार र १६ विकास साझेदार सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारको सहकार्यमा अर्थ मन्त्रालयद्वारा शुक्रबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्न संयुक्त वक्तव्य अनुमोदन गरिएको छ ।
कार्यक्रममा सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजी क्षेत्रका सरोकारवालाले समेत नेपालका ग्रिड प्राथमिकतामा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरेका थिए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो, ‘नेपालमा हामीले आपत्हरू सहन सक्ने, हाम्रो वातावरणको संरक्षण गर्ने र हाम्रा जनताको जीवनस्तर उकास्न सक्ने हरित, थप उत्थानशील र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई मनन गरेका छौँ, नेपालमा विकास र रोजगारीलाई गति दिन, जीविकोपार्जनलाई बलियो बनाउन र दिगोरूपमा नेपाली जनताको समृद्धिलाई बढावा दिन नयाँ ग्रिड रणनीतिक कार्ययोजना एक नीतिगत माध्यम हुन सक्छ ।’ ग्रिड रणनीतिक कार्ययोजनाका लागि प्राप्त हुने बाहृय लगानीअन्तर्गत अनुदान र अन्य सहुलियतपूर्ण वित्तीय लगानी जस्तै सहुलियतपूर्ण ऋण र कार्बन वित्त जस्ता नवीनतम् वित्तीय लगानी रहेका छन् । बाहृय वित्तीय लगानी नेपालको सार्वजनिक बजेटको पूरकका रूपमा रहनेछ, जसले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई समेत लाभान्वित गराउने लक्ष्य लिएको छ ।
ग्रिड रणनीतिक कार्ययोजनाले १० प्राथमिकता प्राप्त कार्य पहिचान गरेको छ । जसअन्तर्गत थप उत्थानशील पूर्वाधार, खाद्य प्रणालीका लागि भूमि, जल र वनलाई अझ बढी उत्पादनशील, दिगो र एकीकृतरूपमा व्यवस्थापन, मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित गर्ने, शहरी विकासलाई हरित बनाउने, खानेपानी र सरसफाइ विस्तार गर्ने, वायु प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापन गर्ने, नवीकरणीय ऊर्जालाई बढावा दिने, यातायातको दिगोपना र उत्थानशीलता अभिवृद्धि गर्ने, विपद् जोखिम व्यवस्थापन सुदृढ बनाउने र आघातप्रति थप उत्तरदायी बनाउन सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषय समावेश छन् ।
विश्व बैंककी कार्य सञ्चालन प्रबन्ध निर्देशक अन्ना जेर्डले भन्नुभयो, ‘नेपाललाई थप दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा विश्व बैंक गर्व गर्छ । नेपालको ग्रिडसम्बन्धी अवधारणाले विकास र वृद्धिलाई केन्द्रमा राखेको छ । त्यो वृद्धिले चरम गरिबी घटाउँछ, संरचनात्मक असमानता कम गर्छ, वातावरण संरक्षण गर्छ र विकास प्रक्रिया दिगो र उत्थानशील बनाउँछ । यसले बस्नयोग्य पृथ्वीमा गरिबीमुक्त समाज स्थापना गर्ने विश्व बैंकको नयाँ लक्ष्य र दूरदृष्टि हासिल गर्न मुख्य अवयव प्रदान गर्छ ।’
ग्रिड रणनीतिक कार्ययोजनाका लगानी प्राथमिकताले नेपालको विकास सफलताका कथाहरूलाई आधार बनाउने, सम्बन्धित क्षेत्रका कामकारबाहीलाई तीव्रता दिने, निजी क्षेत्रको लगानी परिचालन गर्न मद्दत गर्ने र एकै समयमा उत्थानशीलता र समावेशीकरणसहितको दिगोपना प्रदान गर्ने लक्ष्य लिएका छन् । जसले अझ धेरै मानिसका लागि थप रोजगारी सिर्जना गर्न र उनीहरूका जीविकोपार्जनको उत्थानशीलता निर्माण गर्न वातावरण, जलवायु, जल, खाद्य सुरक्षा अभिवृद्धि गर्न र थप समावेशी र दिगो अर्थतन्त्रका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विकास साझेदारमा हाल एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, नेपालस्थित अष्ट्रेलियाली राजदूतावास, बेलायती राजदूतावास, नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल, फिनिस राजदूतावास, फ्रान्सेली राजदूतावास, स्विस राजदूतावास, कोरियाली राजदूतावास, जर्मन राजदूतावास, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), शाही नर्वेजियन राजदूतावास, अमेरिकी राजदूतावास, संयुक्त राष्ट्रसंघ नेपाल र विश्व बैंक रहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts