अघोषित लोडसेडिङविरुद्ध आन्दोलनको चेतावनी

Read Time = 5 mins

विराटनगर । सरकारले अघोषितरूपमा लोडसेडिङ सुरु गरेको भन्दै प्रदेश १ का व्यावसायिक छाता संगठनहरूले आपत्ति जनाएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै विद्युत् आपूर्ति सुचारु नगरिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । विगत केही दिनदेखि पूर्व सूचनाबिना नै औद्योगिक क्षेत्रमा १२ घण्टाभन्दा बढी विद्युत् आपूर्ति अवरोध हँुदै आएकोमा गत दुई दिनदेखि २४सै घण्टा विद्युत् आपूर्ति ठप्प भएको उनीहरूले बताए ।

विगत दुई वर्षदेखि कोरोना महामारीबाट थला परेको उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नुपरेको वित्तीय संकट तथा बढ्दो व्याजदरले मरणासन्न पुर्‍याएको अवस्थामा बिनासूचना विद्युत् अवरोधले उद्योग कलकारखाना सञ्चालन गर्न नसक्ने अवस्था रहेको भन्दै आगामी मंगलबारसम्म विद्युत्को व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलन सुरु गरिने उनीहरूले बताएका छन् ।

उद्योग सञ्चालनमा अक्सिजनको भूमिकामा रहेको विद्युत्को निरन्तर आपूर्तिलाई नेपाल विद्युत् प्राधिकरणको प्रतिष्ठामै प्रश्नचिहृन लाग्ने गरी कुनै पनि तालिका सार्वजनिक नगरी पटक-पटक आपूर्ति बन्द गरिँदा उत्पादनका क्रममा रहेका कच्चा पदार्थहरू खेर जानुका साथै श्रमिकको व्यवस्थापनमा समेत कठिनाइ भएको बताइएको छ । यस्तै अवस्था कायम रहेमा अति आवश्यक वस्तुलगायत सम्पूर्ण उत्पादन प्रक्रिया नै ठप्प भई आपूर्ति शृखंला अवरोध हुने भन्दै समस्या समाधानका लागि उद्योग संगठनहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

ADVERTISEMENT

लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग गर्दै उद्योग सञ्चालन प्रक्रियामा सहजीकरणको माग गरिएको छ । त्यस्तै स्वदेशी विद्युत् उत्पादन क्षमताको अधिकतम उपयोगका लागि नेपालका विद्युत् उत्पादक कम्पनीले प्राधिकरणसँग सम्झौता गरेको परिमाणभन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा थप विद्युत् उत्पादनलाई प्रोत्साहित गरी स्वदेशी उत्पादनलाई अधिकतम उपयोग गर्दै विद्यमान संकट समाधान गर्नुपर्ने, विद्युत्को न्यायोचित वितरणका लागि औद्योगिक क्षेत्रमा मात्रै विद्युत् अवरुद्ध नगरी पिक आवरमा उद्योग एवं गार्हस्थ्य सबै क्षेत्रमा समानुपातिक र न्यायोचित वितरण गर्नुपर्ने पनि तीन संगठनहरूको माग रहेको छ । त्यसैगरी विद्युत् आपूर्ति बन्द भई कलकारखाना नै ठप्प भएको समयमा विद्युत् डिमान्ड शुल्क लगाउनु उपयुक्त नभएकाले उक्त समयको डिमान्ड शुल्क खारेज गर्नुपर्ने, सरकारले विद्युत् आपूर्ति अवरोध हुँदा औद्योगिक क्षेत्रमा पुगेको क्षति मध्यनजर गर्दै कूटनीतिक पहल गरी यथाशीघ्र आपूर्ति नियमित गराउन पहल गर्नुपर्ने माग गरिएको छ ।

पूर्वका व्यावसायिक संगठनहरूले अघिल्लो महिनादेखि नै लोडसेडिङ तालिका उपलव्ध गराउन माग गर्दै आएका थिए । तर, प्राधिकरणले भने छिट्टै उद्योगका लागि नियमित विद्युत् आपूर्ति व्यवस्थापन गरिने भन्दै लोडसेडिङ तालिका सार्वजनिक गरेको थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महँगोमा विद्युत् खरिद गरेरै भए पनि उद्योगमा नियमित विद्युत् आपूर्ति गरिने आश्वासन दिँदै आउनुभएको थियो तर पछिल्लो समय भारतमै चरम विद्युत् संकटका कारण विद्युत् आयात नै प्रभावित भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?