काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पनि तिहार केन्द्रित पुष्पमेला सुरु भएको छ । मंगलबार मेला उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फूल बिरुवाले बजार पाउँदैन भनेर फूल तथा नर्सरी व्यवसायीले चिन्ता गर्नु नपर्ने बताउनुभएको छ । नेपालमा बजार नभए अन्तर्राष्ट्रिय बजार खोज्न सकिने उहाँको भनाइ थियो । फलफूल तथा पुष्प व्यवसाय छोटो समयमा आत्मनिर्भर व्यवसाय बनेको भए पनि सरकारले भने कुनै अनुदान नदिएको र निजी क्षेत्रबाटै नर्सरी तथा पुष्प व्यवसायको संरक्षण गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले प्रशंसासमेत गर्नुभयो ।
आयोजक नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नेपालको समग्र नर्सरी क्षेत्रमा झण्डै १० अर्बभन्दा बढी लगानी रहेकाले संघले सरकार, राष्ट्रिय तथ्यांक कार्यालयसँग सहकार्य गरी देशैभरिका पुष्प तथा फलफूल नर्सरी, कृषि वन नर्सरी र जडीबुटी नर्सरीको तथ्यांक संकलन गरेर व्यवसायीले भोग्नुपरेको नीतिगत, कानुनी, प्रक्रियागत र व्यावहारिक समस्याको पहिचान गर्दै दीर्घकालीन समस्याको समाधान गर्न संघ अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल, बिरुवालगायत कृषि तथा वन जडीबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटबिरुवा प्रदर्शनीमा राखिएको मेला संयोजक रविनकुमार गौतमले जानकारी दिनुभयो । कार्यक्रममा जयबहादुर खड्कालाई दीर्घकालीन नर्सरी व्यवसायी सम्मान र इन्द्र महर्जनलाई बृहत् उत्पादक नर्सरी व्यवसायी सम्मान २०८० प्रदान गरिएको थियो । नर्सरी अफ द एक्स्पो प्रतियोगितामा प्रथम हुने मिलन नर्सरी, द्वितीय हुने अल ट्रपिकल प्लान्ट हाउस र तृतीय हुने गुहृयेश्वरी नर्सरीलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । पाँच दिनसम्म सञ्चालन हुने तिहार फ्लोरा एक्स्पो २०८० मा ५० लाखको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts