ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दीर्घकालीन खाद्य सुरक्षाका लागि रासायनिक मल प्रयोग घटाउँदै लैजानुपर्ने बताउनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले विश्व अर्गानिकतर्फ आकर्षित भइरहेको सन्दर्भमा नेपाल पनि विस्तारै त्यसैतर्फ जानुपर्ने बताउनुभएको हो । आत्मनिर्भर हुन चैते धानलाई अभियानकै रूपमा लैजान सकियो भने अपुग १३ लाख मेट्रिकटन धानमध्ये सात/आठ सय मेट्रिकटन धान एकै वर्षमा बढ्ने उहाँको भनाइ थियो ।
कृषि विभाग र एफएओद्वारा संयुक्त आयोजित विश्व खाद्य दिवस कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले किसान लक्षित अनुदानमा जोड दिनुपर्ने बताउनुभयो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले खाद्य सुरक्षाको प्रत्याभूतिका लागि उत्पादन प्रणालीमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, एफएओ नेपालका आवासीय प्रतिनिधि केन सिमिजू, खाद्यका लागि कृषि अभियानका डा. कृष्ण पौडेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलगायतको पनि उपस्थिति रहेको थियो ।
यसैबीच विश्व खाद्य दिवसका अवसरमा नौजना किसानलाई जनही १० हजार नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा बर्दघाट नवलपरासीका मौरीपालक किसान शिवप्रसाद पाण्डे, रूपन्देहीका च्याउ किसान गंगाधर शर्मा, डडेल्धुराका तरकारी उत्पादक किसान दत्तराज अवस्थी, संखुवासभाका मसलाबाली किसान दिनेश राई, चितवनका केराखेती किसान शंकर सुवेदी, झापाका धान किसान खिरबहादुर श्रेष्ठ, बाजुराका रैथाने कृषि उपज उत्पादक किसान देउमल भण्डारी, नुवाकोटका माछापालक किसान शंकर गुणी र रूपन्देहीका पशुपालक किसान सन्दिप खनाल रहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता