कतिपय मान्छेले हात बगलीमा घुसारेर बस्छ तर दूधको तर खाने बेलामा उही नै पहिलो हुने सौभाग्य पाउँछ । कतिपय मान्छेले भैँसीको सम्पूर्ण स्याहार गरेर बस्छ तर उसको मुखमा दूधको थोपो पर्ने सम्भवना पनि रहन्न । डा.यज्ञप्रसाद अधिकारी नेपालको लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेका कसैका निमित्त पनि नौलो नाम होइन र डा.यज्ञ दूध खानै नपाएका पनि होइनन् साथै तर मारेर बसेका पनि होइनन् । उनको जीवनी हेर्ने हो भने मुलुकमा प्रजातन्त्र स्थापनाका लागि उनको जे जति योगदान रहृयो त्यो प्रशंसनीय छ र उनले मुलुकबाट जे लिए त्यो बीचको तुलना गर्नुपर्ने देखिँदैन ।
आफू र आफ्नो परिवारले मुलुक लुटौँला भनेर उनी संघर्षमा होमिएका थिएनन्, त्यसैले अहिले बिरामी भई घर कम्पाउण्डभित्रै कैद भइरहँदा पनि देशकै बारेमा सोचेर बसिरहेका छन् । प्रजातन्त्र उनको अभीष्ट थियो त्यसैले नेपालमा स्थापित लोकतन्त्रबाटै सन्तुष्ट छन् तर लोकतन्त्रमा धमिरा लगाउन खेलिएका खेलहरूबाट भने आजित हुने गरेका छन् । प्रजातान्त्रिक पार्टी भएका कारण विद्यार्थीकालदेखि नै कांग्रेसको समर्थनमा रहे तर यो पार्टीका कतिपय नेताहरूका क्रियाकलापबाट डा.यज्ञ आत्तिएका छन् । पार्टीका संस्थापक बीपी कोइराला, सुवर्णशमशेर, किसुनजी, गणेशमानजीहरूको उद्देश्य एउटा थियो तर कांग्रेस अर्कै बाटोमा हिँड्न थालेकोमा डा.यज्ञ चिन्तित छन् ।
ब्रेन स्ट्रोक र ब्रेन हेमरेजबाट डा.यज्ञ अहिले थलिएका छन् र पनि देशको अवस्था हेरेर आफ्ना निकटका मित्रहरूसँग चिन्ता व्यक्त गरिरहन्छन् । बोली प्रष्ट हुनसकेको छैन र पनि मुलुकको लोकतन्त्र कस्तो हुनुपर्दछ भन्नेमा उनी प्रष्ट छन् । अस्वस्थताका कारण हिँड्न डुल्न गाह्रो भएको छ र कसैको सहाराविना हिँड्दा आफू जसरी लर्खराउँछन्, देशको लोकतन्त्र नेताहरूका आचार र व्यवहारका कारण कतै त्यसैगरी लर्खराउन थालेको त होइन भनेर उनलाई भेट्न जानेहरूसँग गुनासो गरिरहन्छन् । आफ्नो भन्दा देशकै चिन्ता भए जस्तो लाग्दछ ।
यज्ञ निष्क्रिय भएको भए जहाँ चुनाव लड्यो त्यहीँ विजय प्राप्त गर्दैनथे होलान् । नेतृत्व क्षमता नभएको भए दुई दुईवटा क्याम्पसको स्ववियु सभापति हुने अवसर निश्चय नै पाउँदैनथे । मिलनसार थिएनन् भने क्याम्पसका विद्यार्थीहरूले अत्यधिक मत दिएर पक्कै आफ्नो नेता बनाउँदैनथे होलान् ।
डा.यज्ञलाई नचिन्नेहरूले एउटा सामान्य प्राध्यापक पदबाट अवकाश प्राप्त व्यक्तिका बारेमा किन यति कलम चलाएको होला भन्ने पनि लाग्न सक्ला । पद, धन र शक्तिको बोलवाला भएको यो समयमा चितवनमा स्वास्थ्यलाभको आशा गर्दै आराम गरिरहेका यज्ञका बारेमा लेख्दा नेताको आशीर्वाद पाउन बिहान बेलुकै दैलो दैलोमा स्वस्ति गर्न दौडनेहरूका लागि यो लेख बकम्फुसे लाग्न पनि सक्दछ तर संघर्षबाट खारिएका र देश र जनताका लागि रगत पसिना बगाएकाहरूको स्मरण गर्ने बानी नबसाल्ने हो भने उन्नतिको मार्ग पहिल्याउन मुस्किलै पर्दछ । जसले योगदानको कदर गर्न सक्दैन, त्यो आजको कांग्रेस जस्तै हुन जान्छ ।
विसं २०१० मा पर्वत जिल्लामा जन्मेका डा. यज्ञप्रसाद अधिकारी विद्यालय तहमा अध्ययन गर्दागर्दै नै विसं २०२६ मा पर्वतकै एउटा स्कुलको विद्यार्थी संघको सभापति भएका थिए । प्रवीणता प्रमाणपत्र तह अर्थात् आई.ए.पढ्न चितवन आए, त्यहीँको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बने २०३१ सालमा । पढ्दै जाँदा एम्.ए.पढ्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुर पुगे, विसं २०३६ मा त्यहीँ स्ववियुको सभापति भए । अर्थात् विद्यार्थी आन्दोलनबाट पुनःस्थापित पहिलो स्ववियु निर्वाचनमा भाग लिए र विजयीसमेत भए ।
यज्ञ निष्क्रिय भएको भए यसरी जहाँ चुनाव लड्यो, त्यहीँ विजय प्राप्त गर्दैनथे होलान् । डा.यज्ञमा नेतृत्व क्षमता नभएको भए दुई दुईवटा क्याम्पसको स्ववियु सभापति हुने अवसर निश्चय नै पाउँदैनथे । यज्ञ मिलनसार थिएनन् भने क्याम्पसका विद्यार्थीहरूले अत्यधिक मत दिएर पक्कै आफ्नो नेता बनाउँदैनथे होलान् । यज्ञमा वाक्कला थिएन भने पनि चुनाव लडेपिच्छे विजयप्राप्त गर्ने अवस्था आउँदैनथ्यो । यज्ञ अधिकारी संगठन कुशल नेता थिएनन् भने पनि नेविसंघको पक्षमा लहर ल्याएर विजयी सभापति हुन सक्दैनथे होलान् ।
यी कुराहरूबाट के प्रष्ट हुन्छ भने डा.यज्ञप्रसाद अधिकारी सबैको प्रिय थिए र सर्वगुणसम्पन्न नभए पनि समकालीनहरू मध्येमा अधिक् गुणले भरिपूर्ण थिए । अहिले ओछ्यान परेकै बेलामा पनि उनीसंग सम्पर्क गर्ने हो भने उनमा रहेको क्षमता, विनयशीलता र उनको राजनीतिक, प्राज्ञिक र सांगठनिक योग्यताका बारेमा जानकारी पाउन सकिन्छ । आज यस्तो योद्धा बेखबर चितवनमा सुतेर बसिरहेका छन् तर उनले जहाँजहाँ योगदान दिए, त्यहाँका मै हूँ भन्नेहरूले त्यति वास्ता गरेको देखिँदैन । बीपी कोइराला विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउँदा त्यो नीतिलाई प्रष्ट्याउने पर्चाहरू नेपालमा बाँडिएको थियो । त्यही पर्चा बाँड्ने क्रममा काठमाडौंमा डा.यज्ञ पक्राउ परे र नौ महिना जेल जीवन बिताए । विसं २०४२ मा नेपाली कांग्रेसले आहृवान गरेको सत्याग्रहमा सक्रिय भएका कारण तत्कालीन सरकारले उनलाई गिरफ्तार गरेर गौर जेलमा महिनौं थुनेर राखेको थियो ।
राजनीति गरेरमात्रै खान पुग्ने अहिलेको जस्तो अवस्था पहिला थिएन । शायद यस्तै अवस्था भएको भए पनि जनताको कर चुसेर खाने अहिलेका नेताहरूको जस्तो प्रवृत्ति डा.यज्ञमा पलाउँथ्यो कि पलाउँथेन भन्ने व्यावहारिक रूपमा हेर्न त पाइएन तर उनका स्वभाव र आनीबानीहरू नियाल्दा निश्चय नै यस्ता हुन्थेनन् । त्यही गाँस, बास र कपासको जोहो गर्नु पर्ने र मुलुकमा प्राज्ञिक योगदान पनि दिनुपर्दछ भन्ने सोचाइले राजनीतिका साथै पढाइमा समेत अब्बल यज्ञ अधिकारी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन क्षेत्रमा प्रवेश गरेका थिए ।
विसं २०४२ देखि पढाउन थालेका यज्ञ अधिकारीले बनारसको बनारस हिन्दू विश्वविद्यालयबाट नेपाली कांग्रेसको विदेश नीति सम्बन्धमा विद्यावारिधि (पिएचडी) गरे । प्राज्ञिक खुड्किलो उक्लँदै जाँदा सेवा प्रवेश गरेको १८ वर्षमै उच्चशिक्षा क्षेत्रको उपल्लो उपाधि प्राध्यापक प्राप्त गर्न सफल भएका थिए । दर्जनौं पुस्तकमा योगदान गरेका र अनेकौं अनुसन्धानमूलक लेखहरूका साथै साधारण लेखहरू प्रकाशन गरेर मुलुकको शिक्षाक्षेत्र र राजनीतिक क्षेत्र दुवैमा उल्लेख्य योगदान गरेका यज्ञ अधिकारी अहिले कसैले नचिनेका र चिन्न नपर्ने मान्छे झैँ जीवन बिताइरहेका छन् ।
गाँस, बास, कपास र आफ्नो परिवारको मात्रै चिन्ता हुन्थ्यो भने विसंं २०४६ मा त्रिभुवन विश्वविद्यालयको जागिर खाइसकेका थिए, ढुक्कले बस्थे । उनलाई प्रजातन्त्र नभई नहुने व्यवस्था हो भन्ने लागेको थियो, जागिरै धरापमा राखेर जनआन्दोलनमा होमिए ।
डा.यज्ञ धेरैले चिन्न पर्ने मान्छे पनि होइनन् तर कतिपयले कदापि बिर्सनै नहुने मान्छे पनि हुन् । नेपाली कांग्रेस पार्टीले डा.यज्ञ र उनीजस्ता कांग्रेसमा जीवन बिताएका शयौं मान्छेहरू छन्, त्यस्तालाई बिर्सन नहुने हो तर कसैलाई पनि सम्झन सकेजस्तो कसैले पनि अनुभव गर्न सकेका छैनन् । कांग्रेसले आयोजना गरेका कार्यक्रमहरूमा समाजवादका बारेमा पढाउँदै हिँडे, कांग्रेसको जग बलियो बनाउने काम गरे तर आजको कांग्रेसलाई थाहा छ कि छैन ? लोकतन्त्रवादीहरूका मानसपटलमा डा. यज्ञको सक्रिय स्वरूप जहिल्यै आइरहनुपर्ने हो तर कतिमा त्यो छ भन्न सकिँदैन । त्रिभुवन विश्वविद्यालय, जहाँ डा.यज्ञले प्राज्ञिक योगदान गरे, त्यसले पनि सम्झनु पर्ने हो, के गरेको छ उसैलाई थाहा होला ।
विसं २०७५ वैशाख १९ गते डा.यज्ञलाई पहिलो पल्ट ब्रेन स्ट्रोक भयो । उपचारको क्रम चल्दाचल्दै त्यसको नौ महिना पछि पुनः ब्रेन हेमरेज भयो, जुन नेपालको प्राज्ञिक र लोकतान्त्रिक क्षेत्रका लागि दुर्भाग्य नै हो भन्नुपर्दछ । तीन महिनामा बल्लबल्ल तोते बोली फुट्यो । पहिलो बोली भनेको आमालाई कसले हेरेको छ ? भनेछन् र दोस्रोमा शेरबहादुरले देशलाई राम्रो गरेनन् भनेका थिए । जन्म दिने आमा र जन्मभूमि दुई कुरालाई सम्झे । मुलुकले डा.यज्ञको सक्रियता अझै खोजिरहेका बेला दैवले भने उनलाई चार दिवारभित्र सीमित बनाइदिएको छ ।
गाँस, बास, कपास र आफ्नो परिवारको मात्रै चिन्ता हुन्थ्यो भने विसंं २०४६ मा त्रिभुवन विश्वविद्यालयको जागिर खाइसकेका थिए, ढुक्कले बस्थे । उनलाई प्रजातन्त्र नभई नहुने व्यवस्था हो भन्ने लागेको थियो, जागिरै धरापमा राखेर जनआन्दोलनमा होमिए । तानाशाही सरकारले गिरफ्तार ग¥यो, वीरगञ्ज जेलमा हाल्यो । नेपालमा प्रजातन्त्र पुनःस्थापित भएपछि मात्रै छुटेका थिए । यदि पञ्चायत व्यवस्था लम्बिएको भए अहिले उनको नामका अगाडि प्राडा.सम्भवतः जोडिएको हुँदैनथ्यो ।
तिनै संघर्षशील यज्ञ दाइका साथमा अहिले उनकी धर्मपत्नी भुवन अधिकारी छन् र उनैले रेखदेख गरिरहेकी छन् । पत्नीप्रति कृतज्ञ हुँदै डा.यज्ञ भन्छन्- आज म जस्तो अवस्थामा छु, पत्नीका कारणले छु । उनी मेरी जीवनदाता हुन् । डा.यज्ञले नेपाली कांग्रेसलाई पनि यस्तो भन्ने अवसर पाएको भए कस्तो हुन्थ्यो होला ? उनले जीवन बिताएको त्रिभुवन विश्वविद्यालयप्रति पनि यसैगरी कृतज्ञ हुने अवस्था सिर्जना भए कति राम्रो हुन्थ्यो होला ? उनको जीवनमा यसरी भन्ने दिन आउला जस्तो लक्षण कतैबाट पनि देखिँदैन ।
वर्तमान राष्ट्रपति उनी अस्पतालमा छँदा पुगेछन्, रामचन्द्र पौडेलको नाम लिइरहन्छन् । अर्जुन नरसिंह, ज्ञानेन्द्र कार्की, एन्.पी. सावद, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि आदिले भेटेको सम्झना गर्दछन् । बद्री पाण्डे त दुई चोटि आए भनेर बारम्बार भन्दछन् । गरेको केही होइन तर पनि भेट्दैमा यति कृतज्ञ हुने बानी उनको छ भने नेपाली कांग्रेसले यो दुःखमा केही मलम दलिदिने हो भने उनको हृदयले कांग्रेस र कांग्रेसका नेताहरूलाई कति शुभकामना दिन्थ्यो होला । स्वच्छ मनले दिइने शुभकामना कांग्रेसलाई चाहिँदै चाहिँदैन कि जस्तो लाग्दछ ।
कांग्रेसले गरौं भने यस्ता पीडितहरूलाई धेरै गर्न सक्दछ । डा.यज्ञ त केही मात्रामा भए पनि सक्षम थिए र औषधि खर्च धानेका छन् । औषधि नपाएर मर्नु न बाँच्नुको दोसाँधमा कांग्रेसमा रगत पसिना बगाएका धेरै छन् । मकवानपुरका रघुरमण न्यौपानेले पनि क्यान्सर रोग झेल्नुपरेका कारण अर्थव्यवस्था मिलाउन हम्मेहम्मे परेको छ । यस प्रकृतिका समस्यामा आठ लाख सदस्य भएको कांग्रेसले प्रत्येक सदस्यबाट दुई–दुई रुपैयाँमात्रै उठाएर दिने बानी गरे पनि एक जनालाई सोह्र लाख पर्दथ्यो र राहतको महसुस गर्न पाउँथे । दुःख पर्दा साथ दिने हुन नसके नयाँ पुस्ताले कांग्रेस नै किन रोज्लान् र ?
डा.यज्ञ जस्ता नेकपा एमालेमा पनि होलान् । राप्रपामा पनि सो पार्टीको नीति अनुसार चल्ने इमानदार मान्छेहरू पक्कै छन् । नयाँ खुलेका राजनीतिक दलहरूमा पनि देश, जनता, लोकतन्त्र, संविधान भन्नेहरू कोही न कोही भइहाल्छन् । नेपालको पछिल्लो परिदृश्य हेर्दा यस्ता मान्छेहरू राजनीतिक नेताहरूको आँखामा पर्नै छाडेका छन् । सुन तस्कर, हत्याको आरोप लागेकाहरू राजनीतिक दलहरूका प्रिय बनिरहेको देखिन्छ । आशा गरौं, राजनीतिक दलहरू सुध्रिएर असलहरूको कदर गर्ने दिन आउनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements