काठमाडौं । आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ ।
पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु दुबो आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजन कालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्नेः
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः ः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ ।
तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ ।
पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ । हाम्रो पात्रोबाट







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts