गभर्नरलाई सिबिफिनका सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत् सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष छलफल गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाहृय स्थितिमा सुधार देखिएको भए तापनि आर्थिक क्रियाकलाप अपेक्षितरूपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायका बारेमा छलफल भएको बताइएको छ । सो अवसरमा सिबिफिन अध्यक्ष गोल्यानले राष्ट्र बैंकमार्फत् हालै मात्र जारी चालु आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाहृय स्थितिमा उल्लेखनीय सुधार भए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराउनुभयो ।

वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापले गतिशीलता प्राप्त गर्ने विषयमा जोड दिँदै उहाँले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालु पुँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा लिखित सुझाव पत्र पेश गर्नुभयो ।

ADVERTISEMENT

त्यसैगरी अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेस समिट आयोजना हुन लागेको जानकारी गराउँदै समिटमा राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्र नामक बहुपयोगी अध्ययनमूलक पुस्तक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा गभर्नर अधिकारीले बाहृय परिसूचकमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको भन्दै आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपाय अपनाउँदै जाने बताउनुभयो ।

राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै उहाँले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्ष उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको औंल्याउनुभएको सिबिफिनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?