चिलिमे-त्रिशुली प्रसारण लाइन पुसभित्र सक्न निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन र सबस्टेसन निर्माण आगामी पुसभित्र सक्ने समयसीमा तय गरिएको छ । त्रिशुली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन रहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमा छोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशुली थ्रिबी हब सबस्टेसन निर्माणाधीन छन् । त्यस्तै, चिलिमे-त्रिशुली थ्रिबी हब २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी पुसभित्र काम सक्ने समयसीमा तय गरेको हो । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै टोलीले बाँकी काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले निर्माण प्रगतिको नियमित अनुगमन गर्ने भएको छ ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेनको विद्युत् खेर जाने अवस्था आउन नदिन सबै गम्भीर भएर बाँकी रहेका काम सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । दुवै आयोजनाबाट आगामी पुसभित्र विद्युत् उत्पादनको लक्ष्य राखी काम भइरहेका छन् । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यस वर्षको हिउँदको विद्युत् माग व्यवस्थापनका लागि दुर्ई आयोजनाबाट उत्पादित विद्युत्ले धेरै सहयोग गर्छ, प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसक्ने अवस्था आएमा राज्यलाई नै ठूलो घाटा हुन्छ, यसतर्फ सबै गम्भीर र संवेदनशील बनौँ ।’

ADVERTISEMENT

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानीलगायत निर्माण सामग्री मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोरोनालगायतका कारण आयोजनाको काम प्रभावित हुँदै आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्ला दुर्ई वर्षमा आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिजले कार्यसम्पादनमा केही सुधार गरेको छ । कम्पनीले पुसभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ ।

कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७६ टावरमध्ये ५६ वटाको जग हालिएको छ भने बाँकी टावरको जग हाल्ने काम भइरहेको छ । ४८ टावर खडा गरिएको छ । १० किलोमिटर तार तानिएको छ । खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत छ ।

चिलिमे-त्रिशुली थ्रिबी हब प्रसारण लाइनअन्तर्गत चिलिमे-मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशुली थ्रिबी हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गरिनेछ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ को विद्युत् जोड्न मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशुली-१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बंैक, युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?