काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतसँग भेटवार्ताका लागि आउनुभएका माथिल्लो त्रिशुली १ आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ-इस्ट पावर (कोइन)का सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई यस्तो आग्रह गर्नुभएको हो ।
वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागिसमेत सहज रहेको उल्लेख गर्दै उहाँले थप केही महत्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।
‘म कोरिया फर्केपछि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आग्रह गर्नेछु । त्यसको उदाहरणका रूपमा माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना हो भन्ने विश्वास दिलाउँछु ।’
दुई देशबीचको द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताउनुभयो । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनालाई सहज रूपमा अघि बढाउन सरकारतर्फबाट पूर्ण सहयोग रहने र समयसीमाभित्रै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभयो । उक्त आयोजना दुई देशबीचको मैत्री सम्बन्ध थप विस्तार गर्ने एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै उहाँले थप ठूला आयोजनामा लगानी गर्न कोरियाली लगानीकर्तालाई अनुरोध गर्नुभयो । उहाँले निर्माणाधीन माथिल्लो त्रिशुली १ आयोजना जस्तै अन्य ठूला र महत्वपूर्ण आयोजनामा लगानी गर्न आग्रह गर्नुभएको थियो । माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनालाई आफू वन तथा वातावरणमन्त्री रहँदा वनसँग सम्बन्धित विषयलाई सहजीकरण गरेको र शीघ्र निर्णय गरिदिएको स्मरण गर्दै मन्त्री बस्नेतले तोकिएको समयमा आयोजना सम्पन्न गर्न सरकार र मन्त्रालयतर्फबाट आवश्यक सहजीकरण हुने विश्वास दिलाउनुभयो ।
सो अवसरमा आयोजनाको मुख्य लगानीकर्ता कोइनका सभापति एवं प्रमुख कार्यकारी अधिकृत किमले नेपालको अपार जलस्रोत प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाई बढी भएको ऊर्जा छिमेकी देशमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सक्ने बताउनुभयो ।
उहाँले कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि आग्रह गर्ने विश्वाससमेत दिलाउनुभयो । किमले भन्नुभयो, ‘म यहाँबाट फर्केपछि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न थप आग्रह गर्नेछु । त्यसको उदाहरणका रूपमा माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना हो भन्ने विश्वास दिलाउँछु ।’ उहाँले माथिल्लो त्रिशुली १ लाई तोकिएकै समयमा सम्पन्न गराउन आफूहरूले सक्दो पहल गर्ने मन्त्री बस्नेतसमक्ष विश्वास दिलाउनुभएको थियो । मंगलबार शिलान्यास गरिएको आयोजनाको भौतिक प्रगति २२ प्रतिशत रहेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माणाधीन छन् ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । आयोजना २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा