अलबिदा सुवास नेम्वाङ

शालीन राजनीतिज्ञको आकस्मिक महाप्रस्थान

डिबी शर्मा
डिबी शर्मा
Read Time = 14 mins

काठमाडौं । जिन्दगीको परिभाषा असीमित भए पनि सत्यचाहिँ सीमित छन् । तीमध्ये दुई परम् सत्य हुन् जन्म र मृत्यु । जन्मसँगै तय हुन्छ मृत्यु । कहाँ, कहिले र कसरी ? फरक यत्ति हो । जन्मेपछि ढिलो चाँडो मृत्यु असम्भावी छ । मृत्यु प्राकृतिक प्रक्रिया हो । जन्मिएपछि एकदिन सबैले मर्नैपर्छ । यो मानिसका लागि मात्रै होइन सबै जैविक तत्वहरूको स्थायी, अपरिवर्तनीय समाप्ति हो । जन्मँदादेखि नै मृत्युको छाया प्राणीसँगै हुर्किरहेको हुन्छ । यी दुई परम् सत्यबीच हुन्छ जीवन । जीवन रहुन्जेल मृत्युले पछ्याइरहन्छ । हरेक क्षण मान्छेले मृत्यु जितेर जीवन जिउँछ । जुनबेला मृत्युले जित्छ त्यहीबेलै सकिन्छ जीवन ।

मंगलबार एकाबिहानै एउटा आकस्मिक खबर आयो, ‘सुवास नेम्वाङ रहेनन् ।’ सामाजिक सञ्जालको जमानामा मान्छेले ओछ्यान नछोड्दै नेम्वाङको निधनको खबर ‘भाइरल’ भयो । धेरैलाई पत्यार लागिरहेको थिएन । तर, सत्य त्यही थियो । शान्त, शालीन र भद्र राजनीतिज्ञका रूपमा धेरैले चिन्ने सादगी नेता नेम्वाङको भौतिक शरीर अब रहेन । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङले मंगलबार मध्यराति संसार छोड्नुभएको थियो । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँको मंगलबार राति १ बजे हृदयाघातबाट निधन भएको हो । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनु भएका उहाँलाई हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

काठमाडौंको बालुवाटर बस्ने उहाँलाई पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे । उहाँको ७० वर्षको उमेरमा निधन भएको हो । नेम्वाङलाई अस्पताल ल्याउनेबित्तिकै जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अस्पतालले जनाएको छ । उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको तथा बिपी र प्लस अनरेकर्डेबल भएकाले चिकित्सकले ३५ मिनेटसम्म सिपिआर गरेको अस्पतालले जनाएको छ । तर, त्यति गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि मंगलबार बिहान ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । उहाँ लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आउनुभएको थियो । नेम्वाङ नेपाली राजनीतिमा सधैँ सहमति, सहकार्य र सहअस्तित्वका पक्षधर मानिनुहुन्थ्यो ।

शालीन र सरल स्वभाव, समन्वयकारी भूमिका
पछिल्लो समय राजनीतिक दलका नेताहरूप्रतिको वितृष्ण बढ्दो छ । नेताको दुःखद निधनमा पनि मानिसहरू सहानुभूति व्यक्त गर्न हिचकिचाउँछन् । तर, नेता नेम्वाङ यस मामलामा अपवादजस्तै हुनुहुन्थ्यो । संविधानसभा अध्यक्षका रूपमा शालीन नेताको छवि बनाउनुभएका उहाँ शालीन र सरल स्वभावका कारण चर्चित हुनुहुन्थ्यो । उहाँकोे जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो । नेम्वाङ विद्यार्थी राजनीति गर्दा अनेरास्ववियुबाट २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सभापतिसमेत हुनुभएको थियो । उहाँ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । नेम्वाङ २०५६ सालयता एमालेबाट निरन्तर संसदीय चुनाव जित्दै आउनुभएको थियो । माले हुँदै नेकपा माक्र्सवादीसँग मिलेर एमाले बनेपछि उहाँ निरन्तर राजनीतिमै सक्रिय रहनुभयो । नेम्वाङ छैटौँ महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटीमा आबद्ध हुनुभएको थियो । २०७१ सालको नवौँ महाधिवेशनमा स्थायी कमिटी र २०७८ सालमा चितवनमा भएको १०औँ महाधिवेशनबाट उहाँ एमालेको उपाध्यक्ष बन्नुभयो । २०६४ सालमा इलाम-२ बाट विजयी बनेपछि नेम्वाङ संविधानसभाको अध्यक्ष बन्नुभएको थियो । पहिलो संविधानसभा विघटनपछि २०७० संविधानसभा निर्वाचनपछि नेम्वाङले सभाध्यक्ष भएर संविधान लेखनमा दलहरूबीच समन्वय र समझदारी बनाउन महत्वपूर्ण भूमिका निभाउनुभयो । कानुनी पृष्ठभूमिका नेम्वाङ २०४८ र २०५२ गरी राष्ट्रियसभामा दुईपटक सदस्य हुनुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनदेखि उहाँ प्रतिनिधिसभा इलामबाट विजयी हुँदै अउनुभएको थियो । कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हाल्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक नेम्वाङका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँले दलहरूबीच चरम बेमेल र विवाद आउँदा संविधानसभा अध्यक्ष र सभामुखका रूपमा समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ चारपटक सभामुखमा निर्विरोध चयन हुनुभयो । २०६३ वैशाख ३० मा उहाँ पहिलोपटक सभामुख बन्नुभएको थियो । त्यसपछि १ माघ ०६३ मा अन्तरिम संविधान जारी भएको तेस्रो दिन उहाँ पुनःसर्वसम्मत सभामुख बन्नुभयो । तेस्रोपटक सभाध्यक्षका रूपमा नेम्वाङ ०६५ साउन १२ मा सर्वसम्मत हुनुभयो । अन्तिमपटक उहाँ ६ फागुन २०७० मा पुनः संविधानसभा अध्यक्ष हुनुभयो । त्यो पनि निर्विरोध ।

एमालेका तर्फबाट कानुन तथा न्याय, सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएका उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत हुनुभएको थियो । नेम्वाङले जीवनमा धेरैवटा चुनाव लड्नुभयो । कुनै बेला प्राध्यापक संघको क्याम्पस इकाइदेखि सर्वोच्च बार एसोसिएसनको सचिव र नेपाल बारको महासचिवसम्म चुनाव लड्नुभयो । पाँचपटक प्रतिनिधिसभा र दुईपटक राष्ट्रियसभा गरी सातपटक त संसदीय चुनाव नै लड्नुभयो । तर, आफूले लडेको कुनै पनि चुनाव हार्नुपरेको सम्झना उहाँलाई थिएन । कुनै निर्वाचनमा पराजित नहुनुभएका उहाँले गत पुस १० मा एमालेका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको थियो । तर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग पराजित हुनुभयो ।

ADVERTISEMENT

संविधानसभाका पर्यायवाची
नेपालको संविधान भन्नेबित्तिकै उहाँको नाम अग्र पंक्तिमा आउँछ । दुई-दुई संविधानसभा निर्वाचनपछि जारी भएको सभाका अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो । संविधान जारी हुँदा पनि उहाँकै जोडबल थियो । संविधानसभा अध्यक्ष भएर उहाँले संविधानसभाभित्र पनि हमेसा सबैलाई मिलाएर जानुपर्छ भन्ने भाव राख्नुभयोे । अत्यन्त जटिल, धेरै अप्ठ्यारो समयमा पनि उहाँ कहिल्यै विचलित हुनुभएन । बरु समय लागे पनि सबैलाई मिलाएर संविधान बनाउने हो भन्ने कुरामा दृढ प्रतिबद्धता रहृयो । त्यसको फलस्वरूप सहमतिमै संविधान टुंगिएको हो ।

पूर्वसभामुख अग्नि सापकोटाका अनुसार सबै नेतालाई एकठाउँमा राख्नुपर्छ, यो व्यवस्था जोगाउन र संविधान बनाउन सहमतिमा जानुपर्छ भन्नेमा उहाँको जोड हुन्थ्यो । सहमतीय राजनीतिका लागि ‘आइकन’ नै भएको सापकोटा बताउनुहुन्छ । संविधानसभामा मात्रै होइन नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भूमिका खेल्ने व्यक्तिका रूपमा उहाँको पहिचान थियो ।

राष्ट्रिय राजनीतिमा खासगरी जनताका निर्वाचित प्रतिनिधिहरूबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भूमिका उहाँले खेल्नुभयो, त्यो स्मरणीय छ, ऐतिहासिक महत्व राख्ने खालको छ । समस्यालाई सुल्झाउने दृष्टिकोण जहिल्यै पनि राख्ने । समस्या परेको बेलामा बल्झाउने होइन, सुल्झाउने हिसाबले प्रस्तुत हुने उहाँको चरित्र थियो ।

संविधानसभाको पर्यायवाचीका रूपमा उहाँको भूमिका रहृयो । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नेम्वाङ संविधानसभाको पर्यायवाचीका रूपमा रहेको बताउनुभयो । ‘संविधानसभाको एउटा पर्यायवाचीको रूपमा चिनिने व्यक्तित्व र नेतृत्व हो । अझ उहाँको शालीन, सौम्य, बौद्धिक व्यक्तित्वचाहिँ विशेष ढंगले स्मरणीय छ,’ भुसालले भन्नुभयो, ‘हाम्रो संविधान भन्नेबित्तिकै सुवास नेम्वाङ जोडिएर आउनुहुन्छ ।’ कांग्रेस महामन्त्री गगन थापाले पनि नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताउनुभयो । नेम्वाङले त्यस बेलाको बाहृय दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

मेस्सीका ‘डाइहार्ट’ फ्यान
सफल र सरल राजनीतिकर्मीको पहिचान बनाउनुभएका नेम्वाङमा खेलकुदप्रति गहिरो लगाव थियो । खासगरी उहाँ विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबलका पारखी हुनुहुन्थ्यो । कुनै समय आफैँ पनि फुटबल खेलाडी हुनुहुन्थ्यो उहाँ । इलाम बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उहाँले स्थानीयस्तरका विभिन्न फुटबल टोलीमा कप्तानको भूमिकासमेत निर्वाह गर्नुभएको थियो । उहाँ अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीका ‘डाइहार्ट’ फ्यान हुनुहुन्थ्यो ।

उहाँलाई पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि मनपथ्र्यो । त्यसपछि स्पेन र क्लबतर्फ बार्सिलोनाको खेलका फ्यान हुनुहुन्थ्यो । नेम्वाङले बाँचुन्जेल फुटबल हेर्न छोड्नुभएन । मेस्सी बार्सिलोनामा हुँदा होस् या पिएसजी या इन्टरमियामी नेम्वाङले पछ्याइरहनु भयो ।
अन्त्यमा, संसदीय राजनीतिको एउटा मियो ढलेको छ । सरल र भद्र स्वभाव अनि तौलिएर बोल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाई सधैँका लागि अस्ताउनुभयो । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार नेम्वाङको हँसिलो अनुहार अब देख्न पाइने छैन । देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा उहाँले खेलेको भूमिका स्मरणीय रहनेछ । नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जानसक्ने नेताको छवि बनाउनुभएका नेम्वाङले देश र जनताका लागि पुर्‍याएको योगदानको मूल्यांकन इतिहासले गर्ने नै छ । नेम्वाङप्रति हिमालय टाइम्स परिवार भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?