१६ औँ योजनाका लागि सिएनआईका सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ । १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेश गर्दै सिएनआईले यस्तो सुझाव दिएको हो ।

सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई सुझाव हस्तान्तरण गर्दै १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रवद्र्धन गरिनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी गुणस्तरीय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गरिनुपर्ने, निर्यात प्रवद्र्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्नुपर्ने, रोजगारमूलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव रहेका छन् ।

ADVERTISEMENT

सुझाव ग्रहण गर्दै योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औँ योजनालाई उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित बनाउन खोजिएको बताउनुभयो । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना सोही विषयमा केन्द्रित हुने उहाँको भनाइ थियो । नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औँ योजना तर्जुमा गर्दा सिएनआईले मिहिनेतका साथ अध्ययन गरेर दिएको सुझाव महत्वपूर्ण हुने पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सिएनआईले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको जनाएको छ । सो अवसरमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोयनारायण ज्ञवाली, सिएनआई उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज