क्यान्सर सचेतनाका लागि पदयात्रा हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर भन्ने नाराका साथ पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१औँ वार्षिकोत्सवका अवसरमा क्यान्सर रोगसम्बन्धी सचेतना जगाउने उद्देश्यका साथ भदौ ३० गते पदयात्रा कार्यक्रम आयोजना गर्ने भएको हो । संस्थाका अध्यक्ष महेश श्रेष्ठले भन्नुभयो, ‘क्यान्सर रोगबाट बच्ने उपाय र विधिबारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यको व्यवस्थापनमा सहयोगका साथै देशव्यापी अभियानका रूपमा क्यान्सर रोगबाट बच्न अपनाउनुपर्ने सावधानी र उपचारमा सहयोग प्रदान गर्ने कार्यक्रमको लक्ष्य छ ।’

आयोजकका अनुसार इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा आयोजना हुने पदयात्रा काठमाडौंंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकु, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्युरोड गेट, रानीपोखरी, दरबार मार्ग हुँदै सात किलोमिटरको यात्रापछि खुल्लामञ्चमा नै समापन हुनेछ । सो अवसरमा विभिन्न किसिमका स्वास्थ्य परीक्षण पनि गराइनेछ ।

ADVERTISEMENT

पदयात्राबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डाइग्नोसिस सेन्टर स्थापना गरिने संस्थाले जनाएको छ । पाँच हजारजनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरूप संकलित रकम संस्थाको निर्माणाधीन भवनमा क्यान्सर डाइग्नोसिस सेन्टरको पूर्वाधार निर्माणमा लगानी हुनेछ । पदयात्रामा सहभागी हुनेले प्रतिव्यक्ति एक हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टिसर्ट, क्याप र फुड प्याकेज पाउनेछन् ।

कार्यक्रमको पेमेण्ट पार्टनर आइएमई पेमा लगइन गरेर पदयात्रामा सहभागी हुन टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ । समाज सेवाको अभियानमा सहभागी भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आमनागरिक, सम्बद्ध संघसंस्थालगायतलाई आग्रह गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुने कार्यक्रमलाई सेरो ल्याब ग्रुपले शीर्ष प्रायोजन गरेको छ भने ३ दर्जन बढी संस्थाले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज