हिन्दु धर्मावलम्बीको मान्यता, जीवनशैली, दृष्टिकोण, जीवन र जगतप्रतिको धारणा विशेष प्रकारको छ । हामी हिन्दुहरू तीर्थ, व्रत, स्नान-ध्यान, जप, पाठ, पूजा, दानजस्ता कर्मलाई जीवनको अभिन्न कर्मका रूपमा अनादिकालदेखि मान्ने परम्परामा हुर्केका छौं । ती कर्मले वर्तमान र भविष्यमा के दिन्छन् वा दिँदैनन् भन्ने विषयमा प्रश्न, आशंकाविना हामी त्यस्ता कर्मबाट आध्यात्मिक र आत्मिक शान्ति तथा सन्तुष्टिको अनुभूति गर्ने छुट्टै परम्परा र मान्यता छ । हामी हिन्दु परम्परागत मान्यता र मूल्यप्रति आशंका गर्दैनौं । धार्मिक मान्यतानुसारका कर्म हामी निःसंकोच गर्छौं ।
तर, हिन्दु आफ्नो मान्यता-मूल्यानुसार जे-जे आध्यात्मिक कर्म गर्दछन् त्यसलाई दासता र दबाबको रूपमा बुझ्दैनन् । त्यस्ता निर्देशित कर्मबाट आनन्द प्राप्त हुने हाम्रो अनौठो मान्यता र परम्परामात्रै होइन त्यो चारित्रिक विशेषता भन्दा हुन्छ । ऋषिमुनिहरूको जन्म र कर्मथलोका आराधना, उनीहरूको कर्मप्रति सम्मानमात्रै होइन त्यस्ता महामानव जन्मेको, हुर्केको, खेलेको र पुराण, उपनिषद् जस्ता धार्मिक पुस्तक लेखेका ठाउँका अतिरिक्त नदी ताल-तलैया, पर्वत आदि हाम्रा लागि विशेष तीर्थस्थल हुन् । तिनै पवित्र भूमिको दर्शन र ऋषिहरूको स्मरणलाई हामीले धार्मिक कार्यको रूपमा मान्दै आएका छौं ।
धार्मिक तीर्थयात्राको ठगी धन्दा नेपालबाटै बसको गुणस्तर र बसमा हुने सुविधाको विज्ञापनबाट सुरु हुन्छ । कतिले हाम्रो बस ठूलो र आरामदायी छ भन्छन् । अन्त्यमा मानिस कम भएकाले बस सानु लैजानु प¥यो भन्छन् । ती सबै ठग्नका लागि हुने बनावटी कुरा हुन् ।
ती ऋषिहरूका पराक्रम उदाहरणीय काम साथै ठाउँप्रति हिन्दुहरूको अगाध आस्था छ । त्यस आस्थालाई हेर्न जानेहरूको घुइँचो हामीले देखेका, सुनेका भोगेका विषय हुन् । उदाहरणको रूपमा कृष्ण जन्मभूमि, राम जन्मभूमि, सीता जन्म भूमि, बुद्ध जन्मभूमि, व्यास जन्मभूमिमा हिन्दुहरू तीर्थाटन गर्न जाने परम्पराको विकासको इतिहास हाम्रो सनातन धर्म, संस्कृति र परम्पराजस्तै पुरानो छ ।
हिन्दुहरूको मन-मस्तिष्कमा स्वतःस्फूर्त विकसित विषय हुन् । यस्तो आस्था, विश्वास र मान्यताले विश्वभरका हिन्दु आफ्नो आर्थिक र शारीरिक क्षमतानुसार तीर्थाटन गर्दछन् । तीर्थयात्रुहरूको संख्यालाई व्यवस्थित गर्ने विषयमा विश्वमै धेरै हिन्दुहरूको बसोवास हुने भारत-नेपालजस्ता देशले व्यवस्थित गर्ने दिशामा उल्लेख्य काम गर्न नसकेका कारण तीर्थस्थल व्यवस्थित हुन सकेका छैनन् ।
व्यवस्थित हुन नसक्नु/नगर्नु जस्ता कारण थुप्रै तीर्थयात्रीहरूले तीर्थाटन गर्ने क्रममा ठगिनु, लुटिनु, हेपिनुपर्ने जस्ता काम हुँदै आएको विषय अत्यन्तै चिन्ता र चासोका रूपमा सरकारले नलिएको हुँदा यो क्षेत्र सरकारको प्राथमिकता छैन भन्नु अन्यथा हुँदैन । आधुनिक पर्यटन उद्योगलाई प्राथमिकतामा राख्ने सरकारले पर्यटनको जननीको रूपमा चिनिने धार्मिक पर्यटनलाई प्राथमिकता नदिनुभनेको दुर्भाग्य हो । जीवनको उत्तरार्धमा हुने ज्येष्ठ नागरिकहरूको यात्रालाई व्यवस्थित बनाउने विषयमा चासो र चिन्ता नलिने सरकारहरू वास्तवमा प्रजातान्त्रिक हुनै सक्दैनन् ।
धार्मिक तीर्थयात्राको ठगी धन्दा नेपालबाटै बसको गुणस्तर, बसमा हुने सुविधाको विज्ञापनबाट सुरु हुन्छ । कतिले हाम्रो बस ठूलो छ । आरामदायी छ भन्छन् । अन्त्यमा मानिस कम भएकाले बस सानु लैजानु पर्यो भन्छन् । ती सबै ठग्नका लागि हुने बनावटी कुरा हुन् । यस्तो ठगी धन्दा मौलाउनुका पछाडि फेरि हाम्रो धर्म र मान्यता कम जिम्मेवार छैन किनकि धर्म गर्न आएका छौं किन विरोध गर्ने भन्ने आममनोविज्ञानका कारण नेपाली र भारतीय व्यवसायीहरूले शोषण, अत्याचार निर्वाध गर्न पाएका छन् । हामीले पैसा तिरेका छौं । सुविधा हाम्रो अधिकार हो भन्ने भावना तीर्थयात्रीहरूमा पटक्कै नहुँदा उसको निगाहमा रमाउने प्रवृत्तिले यस क्षेत्रमा शोषण र अत्याचार हुर्केको हो ।
तीर्थयात्रा गराउने प्रायः सबै सरकारका सम्बन्धित निकायमा दर्ता नगरिकन सञ्चालन गर्ने हुँदा सरकारको नियन्त्रणबाहिर छन् । दर्ता हुँदा र नहुँदा के फरक पर्छ ? त्यसको हेक्का सम्बन्धित तीर्थयात्रीलाई हुनुपर्छ । सरकारले दर्ता नभएका तीर्थयात्राको काम गर्ने एजेन्सीहरूलाई विनादर्ता यस्तो काम गर्न पूर्ण प्रतिबन्ध गर्नुपर्छ । तीर्थयात्रा गर्नुपूर्व तीर्थयात्रा गराउने एजेन्सीहरूको विषयमा जानकारी लिने विषय महत्वपूर्ण हुन्छ । भारतीय अवस्था बारे अनभिज्ञ हुनु । नेपाली व्यवसायीहरूको भारतीय दलालसँगको कनेक्सनका कारण नेपाली तीर्थयात्रीहरू पलपल ठगिन र लुटिन बाध्य छन् ।
निःशुल्क सेवा दिने धर्मशालाहरूमा पनि नेपाली व्यवसायी आफैंले पैसा उठाउने र लुट्ने काम भएको कुरा गयाको पशुपति धर्मशाला ज्वलन्त प्रमाण बन्यो । यो प्रायःसबै नेपाली व्यवसायीबाट हुने लुटको खेती हो । जुनसुकै शहरमा पस्नुपूर्व दलालहरू बसमा प्रवेश पाउँछन् । हाम्रो प्रबन्धकहरूसँग भारतीय दलालहरूको गहिरो सम्बन्ध भएकाले तिनीहरूले होटल हो तर धर्मशाला जस्तै सस्तो छ भनेर लैजाने गर्दा रहेछन् । जब हामी होटलमा पुग्छौं, होटलको मालिक अब हाम्रो अज्ञानता र प्रबन्धकसँगको लामो दलाली सम्बन्धका कारण तीर्थयात्रीहरू प्रत्येक बासमा लुटिन्छन् । बासमा होटलवालाले लुट्छन् भने खानाको प्रत्येक गाँसमा प्रबन्धक र उसका कामदारले लुट्छन् ।
प्रबन्धकले पचास जना तीर्थयात्रीहरूका लागि मुस्किलले पाँच किलो तरकारी न्यून गुणस्तरको ल्याएर ऊ अब सराबको नसामा कुन कुनामा लठ्ठिन्छ हामीलाई थाहै हुँदैन । उसका बारेमा केही प्रश्न गर्ने बित्तिकै उसका कामदारहरू सुरक्षा कवज बन्छन् । सचेतना नहुँदा एउटा सराबीले सबैलाई लुट्दा पनि निरीह हुनुपरेको अवस्था तीर्थयात्राको तीतो सम्झना कहिल्यै नभुल्ने घटना बन्यो । गयामा त संयोगबस लालमोहरिया नामधारी पण्डासँग प्रत्यक्ष कुराकानीको अवसर भएकाले त्यो धर्मशालामा मुफ्त बस्ने व्यवस्था छ भन्ने कुरा खुल्यो तर हाम्रो व्यवस्थापक आफैंले हाम्रो कोठाको पाँच सय भारु आफैंले लिएको कुरा सार्वजनिक भएपछि लालमोहरियाले हाम्रै व्यवस्थापकसँग सो रकम फिर्ता लिएर हिँड्ने बेलामा अरूलाई नभन्नु भन्दै हामीलाई मात्रै फिर्ता गरे । तर, प्रबन्धक अझै पनि आफ्नो गल्ती स्वीकार्ने पक्षमा छैनन् । सराबको सुरमा के बोल्छन् ? के गाली गर्छन् उनलाई थाहै छैन ।
मथुरामा राति सुत्ने बेलामा गालीगलौच गरेका कारण हामीले यात्रालाई स्थगित गर्ने र प्रबन्धकलाई भारतीय अधिकारीको जिम्मा लगाउने निष्कर्षमा पुगेको बेलामा प्रबन्धक आएर गोडा समातेर माफ मागे । उनको लागेको बानी हरिद्वार पुग्दा फेरि क्रियाशील भयो । तीर्थयात्रीहरूमा भारतीय भूगोल र ठगी धन्दाबारे ज्ञान नहुँदा ठग्ने मानिस र सच्चा मानिसबीचको विभेद गर्ने क्षमता नहुँदा क्षणक्षणमा तीर्थयात्रीहरू ठगिएको देख्दा र बुझ्दा यस्ता तीर्थाटन गराउने एजेन्सीसँगको विश्वास सधैंका लागि आकाश भएको छ ।
जब गयामा निःशुल्क धर्मशालाको पैसा उठाएको प्रमाण फेला पर्यो त्यसपछि हाम्रो व्यवस्थापकले कतै पनि धर्मशालामा लगेनन् । भन्न थाले मलाई धर्मशाला थाहा छैन । धर्मशालाहरूमा सराब खान प्रतिबन्ध भएकाले हाम्रो प्रबन्धक धर्मशालाको नाम नै सुन्न चाहँदैनन् । आफूले चिनेका हरिहर क्षेत्र र गयाको पशुपति धर्मशालाको बासपछि कुनै पनि दिन हाम्रो ठेकेदार धर्मशालाहरूमा लैजान तयार भएनन् । होटलहरू अहिले मन्दीको मारमा परेका कारण ४०/५० जना यात्रु ग्राहकको रूपमा पाउने विषय वास्तवमा ठूलो हुन्छ । त्यसरी ग्राहक लगिदिएबापत कमिसन उसको दैव नहर छ । चेतनाको विकास र आफ्नो हक के हो ? हामी कुन-कुन तरिकाले ठगिँदैछौं भन्ने कुराको न्यूनतम ज्ञान नभका कारण सबै तीर्थयात्री ठगिने र लुटिने अवस्थाको अन्त्य राज्यपक्षबाट पहल हुनु पर्दछ ।
सरकारले आफ्ना व्यवसायीबाट भएको शोषण र भारती दलालहरूसँगको गलत सम्पर्कद्वारा हुने विभिन्न प्रकारका शोषणको प्रकृतिलाई अन्त्य गर्न तीर्थयात्रामा देखिएका समस्या, समाधानका उपाय निकाल्न विज्ञ-विशेषज्ञको अध्ययन-अनुसन्धान गर्ने समिति बनाउनुपर्छ ।
चित्रकुटको शहरी क्षेत्र प्रवेश गर्नुपूर्व एकजना मुन्द्रे दलालको प्रवेश हाम्रो गाडीमा भयो । मैले भने हामीहरू सफा धर्मशालामा बस्न चाहन्छौं । के त्यस्तो धर्मशाला यहाँ छैनन् ? उनको उत्तर नकारात्मक आउने थाह थियो । त्यस्तै आयो । एउटा होटल जो चलनचल्तीमा नै छैन । त्यसको भित्र गाडी छिर्यो । भित्र दुर्गन्धित कोठामात्रै थिए । ती सबैको हजार बाह्र सयभन्दा कम हुन्न भन्यो । त्यहाँ ढुँडी गन्हाएर बस्नै सकिन । बाहिर कोठा खोज्न जान्छुभन्दा यो ठाउँ छोड्दा खतरा हुने संकेत गरे । बाहिर जान हतोत्साही बनायो । मैले बाहिर जाने निधो गरेपछि के भन्यो भने बाहिर जाने व्यक्ति यहाँ साथीहरूसँगको भोजनमा हाम्रो परिसरमा पस्न पाइन्न ।
मैले सोधे के हामी तिम्रो बन्दी हौं भन्दा लाज नै नमानीकन त्यो त हो नि भन्यो । मलाई फकाउन मेरो लागि मात्रै रेट कम गर्छु भन्यो । मैले बाहिर जाने निधो गरे । बाहिर निस्केँ । बाहिर दलालहरूको घेराबन्दी रहेछ । एकजनाले त भौतिक आक्रमणको डर देखायो, मैले भने उत्तरप्रदेशमा पुलिस छैन । पुलिसको सुरक्षा लिन जाऊँ भनेपछि हच्कियो । यस्तो मनस्थितिमा एकजना बीमा व्यवसायीसँग भेट भयो ।
उनले एक किलोमिटर पर बंगालीहरूको धर्मशाला छ । त्यहाँ आवास र भोजन पनि निःशुल्कमात्रै छैन गुणस्तरीय छ भने । जैनहरूको धर्मशाला भेटियो । भित्र पसेँ । सोधपुछ भयो । अत्यन्तै सफा वातावरण । कोठा सफा पनि सस्तो रहेछ । गर्मीमा कुलरको पनि व्यवस्था हुँदा त्यो बसाइ अहिलेसम्मकै सुविधा सम्पन्न बन्यो । म बाहिर निस्कँदा पहिलेको होटलले पालेका गुण्डाहरूले मलाई बाहिर जान रोके । त्यसको कारण ऊ नभएर हाम्रो ठेकेदारसँगको भारतीय दलालहरूको कनेक्सनको परिणाम र परिणति थियो ।
सरकारले आफ्ना व्यवसायीबाट भएको शोषण र भारती दलालसँगको गलत सम्पर्कद्वारा हुने विभिन्न प्रकारका शोषणको प्रकृतिलाई अन्त्य गर्न तीर्थयात्रामा देखिएका समस्या समाधानका उपायहरू निकाल्न विज्ञ-विशेषज्ञहरूको अध्ययन-अनुसन्धान गर्ने समिति बनाउनुपर्छ । यस्ता व्यवसायीहरूले ज्येष्ठ नागरिकको स्वास्थ्य रेखदेख गर्ने स्वास्थ्यकर्मी र अक्सिजन सिलिन्डर साथमा लैजानुपर्छ । खाना गुणस्तरीय खुवाउने व्यवस्था बारे राज्यले गृहकार्य गर्नुपर्छ । भारतीय लालमोहरिया नामका पण्डितहरूको शोषण, अत्याचार र दमनका सम्बन्धमा राज्यले भारत सरकारमार्फत समाधान खोज्नुपर्छ ।
केदारनाथ जान निःशुल्क पास बन्छ तर त्यो पासका लागि १५० देखि तीन सय रूपैयाँसम्म असुल्छन् । यस्ता समग्र घटनाक्रमले तीर्थयात्रा ज्येष्ठ नागरिकलाई ठग्ने धन्दा बन्दै आएको विषयलाई सरकारले अविलम्ब समाधान खोज्नुपर्छ । छिमेकी भारतको केन्द्र र राज्य सरकारले लाखौं लाख हिन्दूहरूलाई निःशुल्क तीर्थयात्रको व्यवस्था गर्न सक्छन् भने नेपालले तीर्थयात्रालाई सुव्यवस्था पनि किन गर्नसक्दैन ?

सारै उपयोगी लेख।