काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेड एकआपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एकीकृत कारोबारको शुभारम्भ गर्दै मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताका रूपमा कार्य गर्दा संस्थागत दायित्वसमेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेको बताउनुभयो । बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहं भूमिका हुने भएकाले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्न मर्चेन्ट बैंकरलाई उहाँले आग्रह गर्नुभयो ।
साथै नियामकीय निकाय बोर्डले आफ्नो अभिभावकीय भूमिकासमेत खेल्दै मर्चेन्ट बैंकर बजार विस्तारका सम्बन्धमा नयाँ वित्तीय औजारका लागि एक कदम अघि बढेमा बोर्ड दुई कदम अघि बढ्न तयार रहेको अध्यक्ष हमालले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीका रूपमा स्थापित भएकोमा सोही अनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
ढकालले नियामकीय निकाय बोर्डलाई मर्चेन्ट बैंकरहरूले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षणसमेत गराउनुभयो । ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलगायत बैंकका कर्मचारी, बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts