रमेश भारती/हिटा
काठमाडौं । कोशी इन्टरनेसल प्रालिबाट रोजगारीका लागि युएई जान लागेका काभ्रेका भगिरथ सापकोटाले करिब दुई लाख रुपैयाँ तिरेको बताउनुभयो । फ्री भिसा र फ्री टिकटका विषयमा कुरा गर्यो भने एजेन्ट र म्यानपावरले डिमाण्ड नै छैन भनेर तर्किने गरेको उहाँले बताउनुभयो । ‘खोई २०७२ सालयता साउदी, कतार र ओमानको रोजगारीमा गएर आएँ । तर, सबै देश जाँदा दुई लाख रुपैयाँभन्दा बढी नै लागत खर्चका नाम पैसा तिरेको छु । पैसा एजेन्ट म्यानपावर लिन्छन् ।’ उहाँले भन्नुभयो, ‘सरकारले खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकट लागू गरेको छ भन्छन् । तर, आफूले त्यो सुविधा लिन पाएको छैन । म्यानपावरले फ्री भिसा र फ्री टिकटको कुरा गर्दा विदेश नजानु भन्छन् ।’
देशभित्र रोजगारी पाइँदैन म्यानपावरले भनेजति पैसा लिएर युएई होटलमा काम गर्न जान लागेको उहाँले जानकारी दिनुभयो । यस्तै, फ्री भिसा र फ्री टिकटमा लागू भएको देश कतार एक लाख ९० हजार तिरेर जान लागेको काठमाडौंमा भेटिएका कैलालीका दिनेश चौधरी बताउनुहुन्छ । सरकारले लागू गरेको फ्री भिसा र फ्री टिकट कामदारका हकमा लागू नभएको चौधरीको गुनासो छ ।
फ्री भिसा र टिकट सरकारी कागतमा मात्र सीमित रहेको उहाँले बताउनुभयो । ‘कतार जान काठमाडौंसम्म आउँदा साढे दुई लाखभन्दा धेरै खर्च हुन्छ । म्यानपावरले लागत खर्च भनेर दुई लाख लिएको छ । अब नगए के नगर्नु देशमा रोजगारी छैन । विदेशिनुपर्ने बाध्यता छ ।’ उहाँले भन्नुभयो, ‘कतार जान फ्री भिसा फ्री टिकट रे त भनेर एजेन्टलाई सोधेको उसले जुन म्यानपावरले पठाउँछ त्यहीँबाट जाऊ भनेर हप्कायो । खोइ सर हाम्रो हकमा होइन होला फ्री भिसा र टिकट लागू भएन ।’ चौधरी जबपिलेसम्याट म्यानपावरबाट वैदेशिक रोजगारीका लागि कतार जाने लागेको बताउनुहुन्छ ।
सापकोटा र चौधरी त काठमाडौंमा भेटिएका प्रतिनिधि पात्र मात्र हुनुहुन्छ उहाँ जस्ता वार्षिक १० हजार कामदार फ्री भिसा र टिकटका नाम ठगिने गरेको वैदेशिक रोजगार विभागले नै जनाएको छ । मलेसिया र खाडीका देश जाने कामदारलाई फ्री भिसा र फ्री टिकटका बारेमा जानकारी भए पनि उनीहरू धेरै पैसा तिरेर सरकारले फ्री भिसा र फ्री टिकट लागू गरेका देश जान्न बाध्य छन् । सरकारले वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा २०७२ सालदेखि फ्री भिसा र फ्री टिकट लागू गरेको थियो । श्रम मन्त्रालयले लागू गरेको फ्री भिसा र टिकटका विषयमा वैदेशिक रोजगारीमा ती देश जाने श्रमिक प्राय जानकार छन् । कतार, मलेसिया, साउदी, यूएई, कतार कुवेत, बहराइन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम मन्त्रालयले आठ वर्षअघि लागू गरेको थियो ।
सरकारले लागू गरेका फ्रि भिसा र फ्रि टिकटका विषयमा सबैै कामदार जानकारी भए पनि उनीहरू चर्को रकम तिरेर विदेशिने बाध्य रहेका छन् । वैदेशिक रोजगारीमा जान नपाउने डरले आफूले तिरेको पैशाका बारेमा कामदार नखुलाउने गरेको वैदेशिक रोजगार विभागका कर्मचारीहरू नै बताउँछन् । सरकारले फ्री भिसा र फ्री टिकटका विषयमा रोजगारदाता देशसँग पनि छलफल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । सरकारले तोकेभन्दा बढी पैसा लिने म्यानपावरसँग घटनाको प्रकृति हेरेर कानुनी कारबाही अघि बढाउने गरेको उहाँले बताउनुभयो ।
‘रोजगारीको खोजीमा रहेका कामदारले विदेश जानुअघि लाखौँ तिर्न पनि तयार हुन्छ । समस्यामा परेपछि मात्र यति रकम एजेन्ट र म्यानपावरलाई तिरेको भन्दै विभागमा आउने गरेका छन् । समस्या रोजगारीको खोजीमा जाने कामदार पनि छ ।’ उहाँले भन्नुभयो, ‘विभागले फ्री भिसा र फ्री टिकटका नाममा धेरै पैसा लिने म्यानवार र एजेन्टलाई कारबाही गर्दै आएको छ । धेरै रकम म्यानपावरलाई बुझाए पनि सरकारले तोकेको रसिद मात्र कामदारले लिने भएका कारण कतिपय मुद्दामा कारबाही गर्न समस्या हुन्छ ।’ फ्री भिसा र फ्री टिकट नै लागू भएको देश जाने कामदार ठूलो रकम ठगिएको उजुरी लिएर दैनिक विभाग धाउने गरेको विभागले जनाएको छ । फ्री भिसा र फ्री टिकट नै लागू भएको देश कामदार पठाउने मासिक तीन सयभन्दा बढी म्यानपावरले बढी रकम लिएको उजुरी आउने गरेको विभागले जनाएको छ । उजुरी परेका म्यानपावरको काम कारबाही रोकेर छानविन हुने गरेको विभागको भनाइ छ ।
चार लाख लागत खर्च लिए पनि १० हजारको रसिद
सरकारले २०७२ सालमा मलेसिया, कतार, साउदी, युइई ओमान, बहारइन र कुवेत जाने कामदारको हकमा फ्रि भिसा र फ्री टिकट लागू गरेको थियो । खाडीका देश र मलेसिया जाने कामदारले प्रतिव्यक्ति देशैपिच्छे ८० हजारदेखि चार लाखसम्म तिर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक अध्ययनमा भनिएको छ । युएईको सुरक्षा गार्डमा जाने कामदारसँग म्यानपावरले पाँच लाखसम्म उठाउँदै आएका छन् । यसरी कामदारसँग उठाएको पैसा एजेन्टले ३० प्रतिशत लिने गरेको पाइएको समेत मन्त्रालयकै अध्ययनमा उल्लेख छ । सरकारले तोकेभन्दा धेरै पैसा म्यानपावरले कामदारसँग लिए पनि १० हजारको मात्र रसिद दिने गरेको स्वयंम उनीहरूले बताउँदै आएका छन् । युएईको सुरक्षा गार्डमा जाने कामदारसँग म्यानपावरले पाँच लाखसम्म उठाउँदै आएका छन् । यसरी उठाएको पैसामा एजेन्टले ३० प्रतिशत लिने गरेको केही म्यानपावरहरूले बताउँछन् । वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिकले एजेन्टलाई राहदानी बुझाउने गरेका छन् । कामदारले म्यानपावर र एजेन्टसँग राहदानी फिर्ता माग्दा प्रतिराहदानी ३० हजारसम्म माग्ने गरेको पीडितले विभागमा उजुरी गर्दै आएका छन् । हाल, वार्षिक वैदेशिक रोजगारीका नाममा साढे एक अर्ब ठगी हुँदै आएको विभागको तथ्यांकमा छ । वैदेशिक रोजगारीमा क्रममा ठगिएको भन्दै दैनिक करिब दुई सय कामदार समस्या लिएर धाउने गरेको विभागले जानकारी दिएको छ ।
रोजगारीको खोजीमा अथवा वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर कम्पनीसम्म आइपुग्नु अघि नै एजेन्टलाई पेस्की बुझाउने गरेको पाइएको छ । रोजगारीका खोजीमा रहेका कामदारले प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँका दरले एजेन्टलाई बुझाउने गरेको पाइएको छ । वैदेशिक रोजगार जाने कामदारसँग कति पैसा तिरेर जान लागेको भनेर विभागबाट अनुगमन खटिएको टोलीले सोध्दा वास्तविक जानकारी नदिने गरेको विभागले जनाएको छ ।






