काठमाडौं । ओखलढुंगाबाट काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूका बीच सम्बन्ध सम्पर्क गर्ने र अपसी सरसहयोगको वातावरण स्थापित गर्ने उद्देश्यले समिति गठन गर्नका लागि तदर्थ समिति गठन भएको छ । शनिबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यकक्षमा भेला भएका ओखलढुंगाका पत्रकारहरूले पत्रकार तथा प्रज्ञासभा सदस्य चेतनाथ धमलाको संयोजकत्वमा मनोज भर्राई, जानुक बराल, युवराज पहाडी, जीवन शर्मा, टीकादास श्रेष्ठ र शिव विश्वकर्मा सदस्य रहेको तदर्थ समिति चयन गरेको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहाल, गोपाल बुढाथोकी तथा अग्रज पत्रकारहरू बाला अधिकारी, चेतनाथ धमला, तुलसीहरि कोइराला, विनोद दाहाल, रामनाथ घिमिरे, सविन धमला, नारायण घिमिरे, जीवन शर्मा, सलोजा दाहाल लगायतका पत्रकारहरूको उपस्थिति रहेको थियो । अनौपचारिक रूपमा आयोजित उक्त भेलाको सुरुमा उक्त भेलाको उद्देश्यमाथि नेपाल पत्रकार महासंघका उपसभापति बाला अधिकारीले प्रकाश पार्नुभएको थियो भने प्रा. पुरुषोत्तम दाहाल तथा गोपाल बुढाथोकीले केही सुझावहरू दिनुभएको थियो । प्रा. दाहालले ओखलढुंगा जिल्लाको गौरवमय इतिहास भएका कारण पहिले प्राथमिक क्षेत्र निर्धारण गरेर काम गर्न सक्नुपर्ने सुझाव दिनुभयो । यो संस्था दलीय अनुबन्धबाट अनुबन्धित हुनुहुँदैन र पत्रकारिताले सकेसम्म सत्यको निकट पुग्ने प्रयास गर्न सक्नुपर्छ उहाँले भन्नुभयो ।
उक्त अनौपचारिक कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष गोपाल बुढाथोकीले निश्चित उद्देश्यले संस्था जन्माउने भएका कारण पहिले संस्थाको उद्देश्य प्रष्ट पारेर संस्था स्थापना गर्न सुझाव दिनुभयो । पत्रकारले सत्यको उजागर गर्ने हो, पक्ष र विपक्षमा लागेर समाचार दिने होइन । त्यसैले हामीले गरेका राम्रा कामको हामीभन्दा पछिल्लो पुस्ताले पनि अनुकरण गर्न सकोस् उहाँले भन्नुभयो । कार्यक्रमका अन्त्यमा तदर्थ समितिका संयोजक चेतनाथ धमालाले आफूले विधान निर्माणदेखि कार्यसमितिको चयनसम्मको जिम्मेवारी इमानदारितापूर्वक पूरा गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts