काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले विभिन्न मितिमा उच्च अदालतमा दर्ता भएका रिट निवेदनलाई एकैसाथ राखेर हेर्न आदेश दिएको हो । बिहीबार १० जना प्रतिवादीको रिट सुनुवाइका लागि पेसीमा तोकिएको थियो । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसी, टेक नारायण पाण्डे, सानु भण्डारी, आङ्टावा शेर्पा, डा. इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीले छुट्टाछुट्टै मितिमा दायर गरेका रिट निवेदन सुनुवाइका लागि पेसीमा चढाइएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध केसी र पाण्डेले साउन १२ गते र बाँकी आठ जनाले साउन १७ गते उच्चमा रिट दायर गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत १८ जना पक्राउ परेका छन् । यस प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएका थिए ।
यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन पाँच लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । बाँकी १६ जनालाई केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको छ । त्यसपछि यही प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई असार २८ गते पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको थियो ।
तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत थिए । उक्त मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएको खुलेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी प्रकरणमा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले भिआइपीहरूसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको आरोपमा १८ जना पीडितले प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले एक करोड ८५ लाख ९२ हजार बढी रकम ठगी भएको भनी छुट्टाछुट्टै किटानी जाहेरी दिएका थिए । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ । हाल पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts