को मरेर कसलाई फाइदा भयो ?

प्रा. डा. कुलप्रसाद कोइराला
प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

नेपालको राजनीतिक इतिहासभन्दा पनि देशकै इतिहासतिर एक नजर लाउँदा हिंसा, हत्या, मारकाट, युद्ध, आक्रमण आदिबाट नेपालको नक्सांकन भएको देखिन्छ । संस्कृतमा एउटा भनाइ छ ‘प्रथम ग्रासे मक्षिका पातः’ अर्थात् पहिलै गाँसमा झिँगो । साइतमा निक्लेका बेला कता जान लाग्नुभयो ? नभन्नु साइत बिग्रन्छ भनेर हाम्रा पुर्खाले ‘टाढै ?’ सम्म भन्न अनुमति दिएको देखिन्छ । अहिले हामीले भ्रष्ट भनेर कतै कसैको चरित्र या कमाइतिर संकेत गर्नु हुँदैन । अर्थात् भ्रष्टाचार सत्तामा जाने या गएका व्यक्तिको सदाचार नै हो । मैले ३७ वर्ष १० महिना जागिर खाएँ ।

भ्रष्टाचार नगर्दा या गर्ने मौका नपाउँदा हिजोको अवस्थाभन्दा विशेष भनेको विश्वविद्यालयले नियमानुसार महिनावारी दिने निवृत्तिभरण अहिले म पाउँछु । मजस्ता प्राज्ञहरू यो देशमा धेरै छन् र ती मेरै अवस्थामा रहेका छन् तर देशको भान्सामा या भणारमा पुगेका तल्लोभन्दा तल्लो तहका मान्छेको पनि आर्थिक या खानेलाउने बस्ने अवस्थामा अक्कास जमिनको भिन्नता देखिन लाग्यो । आकाशबाट आउँदैन, कतैतिरको पहाड भत्किएर पहिराका रूपमा द्रव्यकाञ्चन आउँदैन । भनेपछि राज्यका ढिकुटीमा डुँडुलो डुबाउन नपाउने हो भने त अवस्थामा भिन्नता आउँदो रहेनछ ।

राजा र नेतामा फरक के हुन्छ भने नेता जनताका माझबाट चुनिएर आउँछ राजा वंशगत र जन्मका आधारमा हुन्छ । एउटै राजाका सबै छोरा राजा हुँदैनन् । राज्य भाइभाइमा अंश लाएर राज गर्ने प्रचलन पनि थियो ।

डा.वीरेन्द्र मिश्र दर्शनका प्राध्यापक हुन् । उनी निर्वाचन आयुक्त पनि भए तर पनि उनले दुःख गरेर महोत्तरीको भात खाने खेत बेचेर, ऋणपान गरेर जुन घर बनाएका थिए त्यसै घरमा साधारण किसिमले बसेका रहेछन् । अस्ति म उनका घर गएको थिएँ । नेपालको आधुनिक राजनीतिक क्षेत्रमा त कसैलाई मारेर आफूले फाइदा लिने काम पनि राम्ररी नै फष्टाएको खेतीका रूपमा देखिन्छ ।

तानाशाही सरकारले उसका विरुद्ध बोल्न दिँदैनथ्यो । थुन्थ्यो, केही नचले मारिदिन्थ्यो । हाम्रा शहीद त्यही प्रक्रियाले जन्माएका वीर व्यक्ति हुन् । जनतालाई दबाउने शासनमात्रै होइन वैचारिक विविधताका कारणले पनि देशमा खैलाबैला मच्चिनु राजनीतिको स्वभाव हो । राजनीति एक प्रकारले भन्दा हिंसाहत्याको पर्याय पनि हो । यसलाई विवेकशील शासकले अहिंसक पनि बनाउन सक्छन् । बीपी बारम्बार प्रश्न गर्नुहुन्थ्यो राजनीतिमा हत्या आवश्यक छ ? अति आवश्यक नभई हिंसा हत्या गरिनु हुँदैन ।

संसारको राजनीतिक इतिहासमा राजा जनकमात्रै यस्ता शासक भए जसले राजदण्ड समातेर पनि कसैलाई दण्डित गरेन । जो सदेह जीवित हुँदै विदेह कहलायो । उनकै सम्धी दसरथ चाहिँ एक नम्बरका स्त्रैण राजा थिए । राजा र नेतामा फरक के हुन्छ भने नेता जनताका माझबाट चुनिएर आउँछ राजा वंशगत र जन्मका आधारमा हुन्छ । एउटै राजाका सबै छोरा राजा हुँदैनन् । राज्य भाइ भाइमा अंश लाएर राज गर्ने प्रचलन पनि थियो । दलमर्दन शाहले एकीकृत राज्यमा आफ्नो भाग खोज्दा पृथ्वीनारायण शाह र दलमर्दनका बीचमा निकै ठूलो झगडा भएको इतिहास सबैले पढेका होलान् नभए पनि माधव घिमिरेको ‘राष्ट्रनिर्माता’ त पक्कै पढेका होलान् ।

राजराजेश्वरी, बहादुर शाह र रणबहादुरका बीचको लोम हर्षक द्वन्द्व पनि त सर्वविदित नै छ नि । यसरी भाइमा भाग लाग्न छाडेपछि मारेर या डाँडो कटाएर सत्तामा धोती फेर्ने प्रचलन आयो । पाँडे खलक, थापा खलक र दरबारका राजारानीलाई मुछेर मारामार गरेर सत्ता हत्याउने काम त नेपालको इतिहासमा पाँडे र भीमसेन थापाका बीचमा पनि सारै स्वादले चलेको थियो । जीवनभरि भीमसेनलाई ठेगान लाउन नसकेका पाँडे र अंग्रेज मिलेर भीमसेनको दारुण अन्त्य गराएको कुरो त सबैले जानेबुझेकै कुरो हो । बाबुराम आचार्यको ‘फेरि यस्तो नहोस्’ पुस्तक पढौँ । राजदरबारमा पनि सुन्दरीका निमित्त विवाहितलाई बेदख्ली गरेर ल्याइतेका खलकलाई राजगद्दी दिने काम अति सज्जन राजा रणबहादुर शाहले गरेकै हुन् ।

उनी कति सज्जन थिए भने विद्यावतीलाई टिबी भएर मरेपछि देशका मठमन्दिरमा रहेका मूर्तिमा मान्छेको तातो विष्टा दल्ने आदेश मात्रै दिएनन् आफैं अघि सरेर पनि दल्ने काम गरे कस्ता महान् राजा ? राजसंस्थाको गुणमात्रै देख्ने विधवा मैथिल ब्राहृमणीका कोखबाट जन्मेका खलकको प्रशस्ती गाउँदै आएका छन् र हामी सबै पनि त्यही ड्याङका मुला हुँदै हौं । यस अर्थमा बढ्दो वंशाणु र बग्दो खोलाका पानीमा के के मिसिन्छ के के ? मेरो वंशाणु (रक्त) शुद्ध छ भनेर ठ्याँ गर्नु प्रगल्भतामात्रै हो । रणोदीप शमशेरलाई मारेर वीरशमशेरले राज्य पाए । देवशमशेरलाई धपाएर चन्द्रशमशेर आएको इतिहास भएका मुलुकमा उपजीव्य इतिहास चाहिँ हाम्रा पुराणहरू नै हुन् ।

श्रीमद्भागवतमा चरित्रनायक बनाइका श्रीकृष्ण पनि गज्जबको शैलीमा विरोधी दमन गर्दथे । १७ पटक हारेर भाग्नुपरेको रिस भीमसेनसँग कुस्ती खेलाएर जरासन्धलाई मारेर साधेका थिए । सत्र पल्ट घुम्ने मेचका वरिपरि घुमाएर हराएको हरायै गर्ने प्रचण्ड र शेरबहादुर देउवासँग विचरा लुरे रामचन्द्रले भने चरण दर्शन गरेर आलंकारिकै भए पनि पदमा जान विवश हुनुपरेको त हामीले पनि देखेको भोगेको र महसुस पनि त गरेकै हौं । फुपू पनि थरीथरीका हुँदारहेछन् । एउटी फुपूका छोरालाई १०० वटा गाली माफ गरेर जब १०१ भयो अनि च्वाट्टै गर्दन छिनाइदिए कृष्णले । विचरो शिशुपाल भानिजभाइ भएर के पायो ?

ADVERTISEMENT

यता अर्की फुपूका छोरा पाण्डवलाई भने जस्तै आपत्विपत् परोस् तुरुन्त उपस्थित भएर संरक्षण गरेको गरेकै गरे तिनले पनि । उही फुपूले पाएको अवैध जेठो छोरो कर्णलाई मार्न अनेकौं तालका छल गरेको छ । नाता पनि त एकै कहाँ हुँदोरहेछ र हो ? रेडियो नेपाल स्थापना गर्ने तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला एकै आमाका साहिँला र कान्छा सन्तान थिए । छ पटक प्रधानमन्त्री बन्दा पनि गिरिजाप्रसाद कोइरालाले रेडियो नेपालको प्रांगणमा तारिणीप्रसादको सालिक राख्न लाएनन् । दाजुभाइमा पनि गज्जब हुँदोरहेछ । बीपी तारिणी पहिल्यै स्वर्गे नभएका भए गिरिजाप्रसाद छ/छ पटक प्रधानमन्त्री हुन्थे र ?

डा.शेखरलाई डा.शशांकले १४धौं महाधिवेशनमा साथ दिएका भए आज पार्टी सभापति डा.शेखर हुनेथिए । भाइ फुटे गँवार लुटे उखान यहाँ चरितार्थ भएको छ । पटक-पटक एउटै मालामुनि देखिएका दुई भाइ र एक बहिनी महाधिवेशनमा तीनतिर पुगे । यिनीहरू फुट्नाले शेरबहादुरका तालुमा आलु फलेको हो । यी नफुटेका भए विमलेन्द्रले डा.शेखरलाई सघाउँथे प्रकाशमानका स्वार्थले शेरबहादुर जित्ने थिएनन् । यसरी हेर्दा मार्नेमात्रै होइन फुटाएर पनि झिल्ली झार्न सकिँदो रहेछ । प्रचण्ड र ओली फुटाएर झिल्ली झार्ने कुशल खेलाडी हुन् तिनलाई पनि शेरबहादुरले छक्का छुटाइदिए ।

अहिले यसो हेर्दा त सबैले भन्दा धेरै मस्ती गर्नेमा त मदन भण्डारी मर्नाले माधव नेपाल, केपी ओली र विद्या भण्डारीपछि सुशील मर्नाले उदाएका शेरबहादुर जसले घर फुटाएर पनि झिल्ली झारेका झार्‍यै पो रहेछन् ।

उपर्युक्त प्रकारका परम्परामा आफ्नै बाबु थुनेर अञ्चलाधीश बनेका लीलाराज विष्ट पनि धन्य छन् । पछि लीलाराज विष्ट, पद्यमसुन्दर लावती र राजा मिलेर सरोज कोइराला, शिवचन्द्र मिश्र, मिथिलेश दुवे, कामेश्वर, कुशेश्वर, केशव कोइराला, महेश कोइराला, लीला, ठगी, खगेन्द्र, गोकर्ण, वीरनाथ कर्माचार्य, तेजबहादुर अमात्य, मच्छेन्द्र पाठक, योगेन्द्रमान शेरचन आदिलाई मारेर प्रजातन्त्र रोकी राजापञ्च शासनलाई दीर्घजीवी बनाएका थिए भने कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मारेर बीपीलाई थर्काउने काम पनि गरेकै हुन् ।

कसले गरेको हो, राजा वीरेन्द्रका सन्तान सखाप पारेर ज्ञानेन्द्रलाई फाइदा भएको थियो थेग्न सकेनन् । यसरी तमाम नेता र उदीयमान व्यक्तित्वका मान्छे मारेर पञ्चले ३२ वर्षभन्दा धेरै मोजमस्ती गरेथे भने अहिलेसम्म हत्यारा पत्ता लाउन नचाहेर नलागेका मदन भण्डारी र जीवराज आश्रितको मृत्युले माधवकुमार नेपाल लगातार १५ वर्ष महासचिव भए भने केपी ओली र विद्या भण्डारीलाई पनि वर्णनातीत फाइदा भएको कुरो घाम जत्तिकै छर्लंग छ ।

यदि मदन र जीवराज आश्रित जीवित रहिरहेका भए यी माथि मैले नाम लिएका महानहरू कुन दुलामा बसिरहेका हुन्थे कसले अनुमान गर्ने ? व्यक्तित्व नभएका अरिंगालमात्रै जम्मा गरेर ७०/७२ को उमेरपछि पनि आफैं साँढे बन्न ओलीजीले वातावरण तयार पार्नुभयो । उहाँ गज्जबको चरित्र भएको मान्छे हुनुहुन्छ । आर्थिक अपचलनप्रति शून्यसहनशीलता भनेर खरब भ्रष्टाचार गराउनुहुन्छ र संरक्षण गर्न थाल्नुहुन्छ । तित्राका झैँ बोल्न पाए हुन्छ उहाँलाई तालतुक मिल्नै पर्दैन त्यो वाक्कलाले सबैलाई लाटो बनाउनुभयो । एक पैसा चोर्नु पनि चोर्नु लाख, करोड, अर्ब, खरब लुड्याउँनु पनि भ्रष्टाचारै हो । सर्टिफिकेट चोरोस् या कुखुरो चोरोस् दुवै चोरै होइनन् र ?

अहिले यसो हेर्दा त सबैले भन्दा धेरै मस्ती गर्नेमा त मदन भण्डारी मर्नाले माधव नेपाल, केपी ओली र विद्या भण्डारीपछि सुशील मर्नाले उदाएका शेरबहादुर जसले घर फुटाएर पनि झिल्ली झारेका झार्‍यै पो रहेछन् । एउटी जजमाने बाहुनकी स्वास्नीलाई ‘बज्यै गोठमा गाई कति छन् ?’ भनेर सोध्नेलाई ‘अहिले १९ वटा छन् एउटा मरे २० वटा हुन्थे’ भन्थी रे । अब फेरि विधान संशोधन गरे भने शेरबहादुर पनि खड्गप्रसाद शर्माकै स्थानमा हुने छन् । आखिरी फाइदा त कि मारेर कि फुटाएर कि मरेर नै हुँदोरहेछ ।

राजनीतिमा यस्तै हुन्छ कि कसो हो ? शेक्सपियरको हृयाम्लेट पढौं कि रुसको कम्युनिज्म या चिनियाँ कम्युनको उदय हेरौं मारकाट बेगर सत्ताका भत्तामा नाम कसैको लेखिएको देखिएन । अनि विचरा हाम्रा राचपौ सम्माननीयले उपचारको बाहना बनाएर पचास पचपन्न लाख हत्याउनु यी सबैका अगाडि त बाजे कर्म नै होइन र ? लौ जसो जसो बराजै, उसै उसै स्वाहा है त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. मारेर र मरेर फाईदा लिनेहरुको फेरिस्त भन्दा लेखकले बाँचेर देश र समाजलाई फाइदा पु-याउने उत्तम र उदाहरणीय व्यक्तित्वहरुको बखान र चर्चा भएको आलेख अर्को बुधबार प्रकाशित हुने अपेक्षाका साथ शुभकामना दिन्छु।लोभी,स्वार्थी,ज्यानमारा भ्रष्टाचारीहरुको नाम पढ्न हेर्न र सुन्न पनि नचाहने अहिलेको अवस्थामा यस्ताका विषयमा उछित्तो काढ्नको लागि भने नलेखी सुख्ख पनि छैन।नियमित बुधबार प्रकाशित हुने जननकारी मुलक पठनीय लेखका लागि विद्वान लेखकलाई हृदयत: धन्यवाद दिन्छु।जयहोस्।