काठमाडौं । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भन्नुभयो, ‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारी लगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।’
जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उहाँको भनाइ छ । त्यसैगरी, मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’-क्रिस्टल क्वार्ज) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । ‘त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त संघीय मामिला तथा संघीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ’, उहाँले भन्नुभयो ।
यस्तै, बैठकले काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना रिपोर्ट (डिपिआर) संशोधन गरेको छ । द्रुत मार्गको डिपिआर परिवर्तन भएसँगै करिब दुई अर्ब लागत घट्ने बताइएको छ । परराष्ट्रमन्त्री एनपी साउदले भन्नुभयो, ‘द्रुत मार्गको डिपिआर संशोधन गर्ने निर्णय भएको छ । डिपिआर संशोधनले एकदेखि डेढ किलोमिटर लम्बाइ घटेको छ भने सुरुङको संख्या बढ्ने भएको छ । त्यस्तै, लागत पनि करिब दुई अर्बले घट्ने भएको छ ।’
डिपिआर परिवर्तन गरिएपछि द्रुत मार्गका केही घुम्ती कम भएर सिधा हुने भएको हो । द्रुत मार्गको लम्बाइ ७२.५ किलोमिटर छ । यसको निर्माण सुरु भएको ६ वर्ष पूरा भइसकेको छ भने भौतिक प्रगति २५.५४ प्रतिशत मात्रै भएको छ । ०८१ मंसिरसम्म काम सक्ने भनिए पनि उक्त समयभित्र काम नसकिने देखिएपछि ०८३ चैतसम्म मन्त्रिपरिषद्बाट निर्णय गराएर आयोजनाको म्याद थप गरिएको छ । यसैबीच परियोजनाको डिपिआर संशोधन गरिएको हो ।






