‘अर्थतन्त्रबारे नकारात्मक टिप्पणी नगरौँ’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्व बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ । देशभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारीको सहभागिता रहेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनुभएको हो ।

आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानले स्वागत गरेको उल्लेख गर्दै मन्त्री महतले संरक्षण नीतिबाट आतंकित हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ । यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उहाँको विश्वास थियो ।

ADVERTISEMENT

गत वर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यस वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले राजस्व संकलन बढ्ने दाबी गर्दै अर्थमन्त्री महतले भन्नुभयो, ‘कर तिर्नेको संख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ । उनीहरूले कर तिर्न पनि सक्छन् । उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ । निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्नुहुँदैन, अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ । विस्तारै ब्याज घटिरहेको छ, सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैँ नकारात्मक भन्नुहुँदैन । हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ ।’ मन्त्री महतले निजी क्षेत्रलाई नकारात्मक कुरामात्र नगर्न आग्रह गर्नुभयो । अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उहाँको भनाइ थियो । मन्त्री महतले भन्नुभयो, ‘पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ । त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ ।’ उहाँले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्न निर्देशनसमेत दिनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘कर तिर्नुपर्ने भए पनि विभिन्न बहाना बनाएर करको दायरामा नआएकालाई छुट दिनुहुँदैन, यसो गर्न दियो भने अरू करदाता पनि भाग्न सक्छन्, हाम्रोमा सानोतिनोलाई लछारपछार पार्ने तर जो अनेक चलखेल गर्छ, उसलाई के गर्ने हो या होइन भन्ने छ । करको दायरामा ल्याउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?