-रमेश भारती
काठमाडौं । सरकारले २०७२ सालमा मलेसिया र खाडीका देशमा महिला घरेलु कामदार रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो । २०७२ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडीका मुलुक र मलेसिया रोजगारीमा जान रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । समितिले सो निर्देशन दिएको अहिले आठ वर्ष नाघिसकेको छ । तर, वार्षिक २० हजार महिला अहिले पनि रोजगारीका लागि प्रतिबन्धित देश पुगिरहेका छन् । समितिको उक्त निर्देशनपछि प्रतिबन्धित देशमा रहेका महिलाहरूलाई स्वदेश फर्कन सरकारले आहृवान पनि गर्यो । केही फर्किए पनि । तर, अधिकांश महिला कामदार अवैध भएर उतै बसेका छन् । उनीहरू रोजगारदाताकै देशमा शरण लिएर बस्न बाध्य छन् भने त्यसपछि पुगेका महिला कामदारहरू पनि अवैध रूपमै बसिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया र खाडीका देश घरेलु रोजगारीमा जाने महिला कामदारका हकमा श्रम स्वीकृति जारी गरेको छैन ।
श्रम मन्त्रालयले मलेसिया, साउदी, युएई, कुवेत, ओमान, बहराइन र कतारमा घरेलु रोजगारीमा जान महिला कामदारलाई रोक लगाएको थियो । तर, यिनै देश वार्षिक २० हजार महिला कामदार घरेलु रोजगारीमा विभिन्न माध्यमबाट पुग्ने गरेको श्रम मन्त्रालयकै अध्ययनमा बताइएको छ । खाडी देश र मलेसिया घरेलु रोजगारीमा गएका नेपाली महिला कामदारमाथि चरम आर्थिक, मानसिक र शारीरिक शोषण हुने गरेको भन्दै रोक लगाइए पनि अहिले नेपाली महिला कामदार घरेलु रोजगारीमा ती देश पुर्याइने गरेको श्रम मन्त्रालयले नै बताउन थालेको छ ।
प्रतिबन्ध लगाएपछि विशेष गरी खाडी देश कुवेत, ओमान, युएई, कतार, बहराइन, युएई र मलेसिया लगायतका प्रत्येक देशमा विभिन्न माध्यम भएर घरेलु रोजगारीमा वार्षिक २० हजारभन्दा बढी महिला कामदार पुगिरहेको तथ्य फेला परेको श्रम मन्त्रालयका सहसचिव रविज पोखरेलले जानकारी दिनुभयो । सरकारले प्रतिबन्ध लगाए पनि हाल खाडी देश र मलेसियामा महिला कामदार अवैध बाटो भएर गइरहेका छन् । भारत र बंगलादेश हुँदै एजेन्टमार्फत घरेलु रोजगारीका लागि खाडीका देश र मलेसियामा महिला कामदार पुग्ने गरेको उहाँले बताउनुभयो । ‘सरकारले खाडीका ६ र मलेसियासहित सातवटा मुलुकमा घरेलु श्रमिकका रूपमा महिलालाई काम गर्न जान रोक लगाएको छ । पर्यटक र विद्यार्थी भिसाका नाममा गैरकानुनी रूपमा हजारौँ महिला घरेलु श्रमिक हुन विदेश गइरहेका छन् । यसको विकल्प खोज्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘अवैधानिक रूपमा जाने कामदारहरू वैदेशिक रोजगारदाता र काम गर्ने देशबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुन्छन् । घरेलु श्रमिकलाई पनि वैधानिक र व्यवस्थित तवरले सरल र सहज बाटो बनाउनेतर्फ जोड दिनुपर्छ । घरेलु श्रमिक रोक्नु मात्र समस्याको समाधान होइन ।’
श्रम सम्झौता भएका रोजगारदाता देशसँग घरेलु महिला कामदार पठाउने विषयमा दुई पक्षीय श्रम सम्झौता वा समझदारीसमेत श्रम मन्त्रालयले गरेको छैन । आगामी दिनमा हुने श्रम सम्झौतामा भने घरेलु रोजगारी अनिवार्य समेटिनेसमेत उहाँको भनाइ छ । घरेलु रोजगारीमा जाने महिलाहरूलाई अझै जोखिमपूर्ण, तनावपूर्ण तथा अनावश्यक अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यात्मक अवस्था छ । महिला घरेलु कामदारको श्रम स्वीकृतिमा निरन्तर प्रतिबन्ध लगाउँदा विमानस्थलमा सेटिङ गर्ने गिरोह, बिचौलिया र मानव तस्करहरूलाई फाइदा पुर्याइरहेको श्रम मन्त्रालयको बुझाइ छ ।
नेपाली महिलाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङ र भारत, श्रीलंका तथा म्यानमारको अवैध बाटो हुँदै दैनिक सरदर न्यूनतम दुई सयजना, महिनामा ४२ सय र वार्षिक ५० हजार बढी गैरकानुनी रूपमा तस्करी भइरहेको महिला अधिकारवादी संस्थाहरूको अध्ययनमा समेत बताइएको छ ।
सकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन तथा विदेशमा नेपालीहरूको हक अधिकारको संरक्षण गर्न आवश्यक भए पनि महिला भएकै कारण रोजगारी र स्वतन्त्रतापूर्वक आवागमनको संविधानप्रदत्त अधिकार उपभोगमा अंकुश लगाउने कार्य न्यायोचित नभएको महिला अधिकारवादी संस्थाले समेत आरोप लगाउँदै आएका छन् ।
रोजगारदाता कम्पनीमै लुक्दै
हाल विभिन्न देशमा करिब ११ लाख महिला कामदार रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । जसमा चारदेखि पाँच लाख घरेलु महिला कामदार छन् । करार अवधि सकिए पनि करिब दुई लाख घरेलु रोजगारीमा नेपाली महिला श्रमिक विभिन्न देशमा कार्यरत रहेको श्रम मन्त्रालयकै अध्ययनमा भनिएको छ । साउदीमा ५५ हजार, मलेसियामा ५० हजार, कतारमा ४५ हजार, कुवेतमा ३०, युएईमा ३० हजार, ओमानमा १५ हजार र बहराइनमा १० हजार अवैध रूपमा बसेर घरेलु क्षेत्रमा काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले यो तथ्यांक रोजगारदाता देशमा रहेको दूतावासबाट लिएको हो ।
दुई वर्षअघि श्रम मन्त्रालयले अवैध रूपमा रोजगारदाता देशमा बसेका महिला कामदारलाई स्वदेश फर्किन पुनः श्रम स्वीकृति खुलाएको थियो । तर, पुन वैदेशिक रोजगारीमा जान नपाउन डरले धेरै महिला स्वदेश फर्किएनन् । यसरी स्वदेश नफर्किएका महिला कामदारसम्बन्धी देशमा अवैध रूपमा लुकेर रोजगारदाता कम्पनीमा शरण लिएर काम गरेर बसिरहेको श्रम मन्त्रालयको अनुमान छ । २०६७ देखि २०७१ सालसम्म गएका कतिपय घरेलु महिला कामदार नेपाल आएर पुनः जान नपाउने डर भएपछि स्वदेश फर्किएका छैन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements