अबोधप्रश्नहरूका माझमा !

Read Time = 16 mins

कहिलेकाहीँ प्रश्नहरू असजिलो ठाउँलाई छोएर आउँछन् । बालबालिकाहरूका प्रश्नहरू यस्तै जटिल हुन्छन् । आफूलाई थाहै नभएका कतिपय कुराहरू बालबालिकाले सोध्छन् त्यस्तो बेला हामीले गोलमटोल उत्तर दिएर उनीहरूलाई अल्मल्याउँछौं । तर, तिनका प्रश्नले हाम्रो मनमस्तिष्कलाई हल्लाइरहेका हुन्छन् । सायद यस्तै प्रश्नलाई यक्षप्रश्न भनिन्छ ।

मेरो आवासबाट मूल सडकमा निस्कने साँघबाटोमा एउटा प्रतिष्ठित राजनीतिक पार्टीको वडा कमिटीको कार्यालय छ । त्यस ठाउँमा सधैं बिहान पाँच सात जनादेखि दशबीस जनाजति मानिसहरूको भेला हुन्छ । मैले आफ्नी दश वर्षकी नातिनीलाई त्यही बाटो भएर विद्यालय पु¥याउनु पर्छ । सधैं त्यस पार्टी कार्यालयमा जम्मा भएका मानिसहरूको जमघटलाई देखेकी चार कक्षामा पढ्ने मेरी नातिनीले एकदिन अचानक प्रश्न गरी ‘बाबा यहाँ सधैं यति धेरै मानिसहरू किन जम्मा हुन्छन् ?’ मैले सहजै उत्तर दिएँ ‘यो कुनै राजनीतिक पार्टीको पार्टी कार्यालय हो । यहाँ जम्मा भएका यी मानिसहरू पार्टीका कार्यकर्ता र नेताहरू हुन् ।’ अनि उसले सोधी ‘यहाँ यिनीहरूले के काम गर्छन् ?’ मैले भने ‘यिनीहरूले यहाँ देशका कुरा गर्छन् ।

राजनीतिका कुरा गर्छन् । विकाशका कुरा गर्छन् । अनि समाजसेवाका कुरा गर्छन् ।’ अनि उसले सोधी ‘यिनीहरूले यहाँ बसेर कुरा गरेको पैसा पाउँछन् ?’ मैले भनेँ ‘राजनीति र समाजसेवा भनेको निशुल्क काम हो पैसा पाइने काम होइन । अनि नातिनीले सोधी ‘त्यसो भए यिनीहरूले के खान्छन् त ? यिनीहरूसँग पैसा कसरी हुन्छ ? यिनीहरूले यहाँ कुरा गरेर देशको विकाश हुन्छ त ?’ मैले भनेँ ‘कुरा गर्नु नै राजनीति गर्नेहरूको काम हो ।’ अनि ‘यिनीहरूलाई पैसा कहाँबाट आउँछ ? यिनीहरूले काम नगरेरै कुरा गरेका भरमा पैसा पाउँछन् त ?’ यस्तै यस्तै उसका प्रश्नहरू केही जटिल हुँदै गए । मैले उत्तर दिन नसक्ने गरी प्रश्नहरू गहिरिएपछि मैले प्रसङ्ग बदलेँ ।

मैले बुझेको कुराभन्दा बालकको मनमा उठेका जिज्ञासा बढी महत्वपूर्ण लागे । आजका बच्चाहरू यसरी प्रश्न गर्न सक्ने पनि भएका छन् । घरमा चुलो बल्नको निम्ति घर मालिकहरूले केही आम्दानीमूलक काम गर्नैपर्छ । काम गर्नु भनेको गफ गर्नु होइन । यदि एक ठाउँ जम्मा भएर बसेको भरमा पैसा आउने भए मानिसले अनेक प्रकारका दुःख गर्नैपर्ने थिएन । यसरी आउने पैसा सायद परिश्रमको पैसा होइन ।
यदि ती मातापिताका बालबच्चाले पनि मेरी नातिनीले जस्तै यसरी एक ठाउँ जम्मा भएर कमाइएको पैसाको स्रोत खोज्ने सामथ्र्य राखे भने सायद समाजको संरचनामा केही परिवर्तन हुने छ । परिश्रमविनाको आम्दानी शुद्ध हुँदैन भनेर आफ्ना अभिभावकलाई सोध्ने सामथ्र्य राख्ने सन्तान बनाउनको निम्ति अभिभावकमा नैतिक बल सुरक्षित रहन पर्छ । दायाँबायाँ गरेर आयआर्जन गर्ने अवस्थामा रहेका पितामाताले आफ्ना सन्तानका यस्ता प्रश्नको सही उत्तर दिन सक्दैनन् ।

हामीले बुझेअनुसार राजनीति र समाजसेवा कुनै वैतनिक जागिरको नाम होइन । तर, हाम्रो देशमा धेरैजसो जागिर नभएका मानिसहरूको काम यही समाजसेवा र राजनीति रहेको छ । जो हेर्‍यो सामाजसेवी र राजनीतिकर्मी । जागिर खाने वा पेशा व्यवसाय गर्नेको भन्दा समाजसेवी, राजनीतिकर्मीको जीवनशैली उच्चस्तरको देखिन्छ ।

त्यो दिनको कुरा त्यसै समाप्त भयो । तर मेरो मनमा त्यसपछि जिज्ञासाहरू बढ्दै गए । त्यहाँ सधैंजसो जम्मा हुनेहरूमा पूर्वसांसदहरू, नगरका पूर्वमेयरहरू, वडा अध्यक्षहरू, सदस्यहरू र अन्य केही कार्यकर्ताहरू हुने गर्छन् । देश यसरी नै चलेको छ । काम गर्नेहरूभन्दा बसेर, कुरा गरेर खानेहरूको जमात बढी छ । हामीले बुझेअनुसार राजनीति र समाजसेवा कुनै वैतनिक जागिरको नाम होइन । तर, हाम्रो देशमा धेरैजसो जागिर नभएका मानिसहरूको काम यही समाजसेवा र राजनीति रहेको छ । ऊ हे¥यो सामाजसेवी, ऊ हेर्‍यो राजनीतिकर्मी । जागिर खाने वा पेशा व्यवसाय गर्नेको भन्दा समाजसेवी, राजनीतिकर्मीको जीवनशैली उच्चस्तरको देखिन्छ ।

राम्रो लगाएको देखिन्छ सायद लवाइ अनुसारको मिठो पनि खाएकै हुनुपर्छ। यहाँ उपस्थित हुने गरेका भद्रभलाद्मीहरू पनि निकै सम्भ्रान्तदेखि पुगिसरी आउने खालकै देखिन्छन् । यस्तो वैभवपूर्ण जीवन कसरी बाँच्न पाइन्छ समाजसेवामा लागेर ? भन्ने प्रश्नको यथार्थ उत्तर खोजियो भने सायद मेरी नातिनी र धेरैका नातिनातिनाले सोध्ने यस्ता अबोध तर यक्षप्रश्नको उत्तर आउने छ ।

त्यसो त सबै राजनीतिकर्मी वा समाजसेवी यही सेवाबाट धनी भएरै जीविकोपार्जन गरिरहेका छन् भन्ने होइन । आफ्नो अथाह सम्पत्ति राजनीतिमा सिध्याएका अनगिन्ती दृष्टान्तहरू छन् । खास गरी नेपालको राजनीतिमा पञ्चायती कालमा धेरै राजनीतिक व्यक्तिहरूले आफ्नो सम्पत्ति सकेर, दुःख खपेर, जेलनेल भोगेर राजनीति गरेको इतिहास हाम्रा सामु ताजा छ । सेवाभावबाट अभिप्रेरित आदर्श, निष्ठा र इमानदारीको राजनीति गरुन्जेल त्यागको अवस्था देखापथ्र्यो तर लोकतन्त्र आएपछिको राजनीति प्रायः नाफामूलक व्यवसाय बन्दै गइरहेको छ । राजनीति र समाजसेवामा लागेकाहरू रातारात करोडपति बनेका र अप्रत्यासित आयआर्जनबाट आश्चर्यजनक आर्थिक उन्नति गरेका अनगिन्ती घटनाहरूले भने समाजसेवा र राजनीतिप्रति वितृष्णा बढाएको अवस्था छ ।

कतिपय पैत्रिक सम्पत्ति वा अन्य धेरै कारणले धनी भएका मानिसहरू पनि यो सेवामा भेटिन्छन् तापनि प्रायःले समाजसेवाबाटै आफ्नो जीवनस्तर उठाएका दृष्टान्तहरू छन् । यो मुद्दा नयाँ होइन अनधिकृत आर्जनका कुरा आजको समयका सबैभन्दा जल्दाबल्दा समस्या हुन् । राष्ट्र हल्लिने गरी हुने गरेका यस्ता घटनाहरूले आजको समयलाई प्रश्नको दायरामा ल्याएका छन् । हामी यी धेरै कुराले चिन्तित छौं । देशमा दिनदिनै भ्रष्टाचार, तस्करी, घोटाला र बेइमानी गरिएका समाचार सुन्दासुन्दा दिक्क लागेको अवस्था छ । के कुरा मात्रै गर्नु नै समाजसेवा वा राजनीति गर्नु हो ? समाजसेवा वा राजनीति गर्नेहरूले के खान्छन् ? यिनीहरूलाई पैसा कहाँबाट आउँछ ? माथिका यी तीनवटा प्रश्न साँच्चै गहकिला प्रश्न हुन् ।

ADVERTISEMENT

हामीले देखेको र जानेको राजनीति गर्नु भनेको कुनै किताव पढ्नु वा लेख्नु होइन । कुनै कार्यालय खडा गरेर अफिसियल काम गर्नु होइन । कुनै ठाउँमा गएर भौतिक काम गर्नु पनि होइन । कुटो कोदालो चलाउनु, खेतबारी जोत्नु, ढुङ्गा, गिटी फोर्नु, इटा बोक्नु, बालुवा खन्नु त झनै होइन । हामीले थाहा पाए अनुसार राजनीति गर्नेहरूको काम मानिस जम्मा गरेर गफ गर्नु, भाषण गर्नु, नारा जुलुस गर्नु, बन्द हड्ताल गर्नु, चुनावमा भाग लिनु, चुनाव जितेर सत्ता र प्रतिपक्षको ओहदामा पुग्नु, सुकिलामुकिला लुगा लगाएर दुई-चारजना कार्यकर्ता अगिपछि लगाएर हिँड्नु, ठेक्कापट्टा मिलाएर कमाइधमाइ गर्नु, गाडी, घोडा चढ्नु, झण्डा हल्लाउनु यस्तै यस्तै काम हुन् भन्ने सामान्य बुझाइ छ ।

खास राजनीतिको काम केहो ? र खास राजनीतिकर्मीले के कस्तो काम गर्छ ? भन्ने कुरा देश र जनताले बुझ्न पाएका छैनन् । राजनीति गर्नु भनेको केही पनि परिश्रम नगरेर भनसुनका भरमा वा तालमेल मिलाएका भरमा घरमै बसीबसी पैसा कमाउनु र सुखसयलको जीवन यापन गर्नु हो भन्ने भाष्य तयार हुँदै गएको अवस्थामा हाम्रा बालबच्चाले राजनीतिकर्मीको काम सोध्नु वा उनीहरूको आयआर्जजनको स्रोत सोध्नुअत्यन्त स्वाभाविक कुरा नै भयो । त्यसै गरी पैसा नकमाएसम्म खान पाइँदैन । पैसा कमाउन कुनै देखिने काम गर्नुपर्छ । राजनीति त्यस्तो कमाइ हुने काम होइन त्यसैले पैसा केवापत प्राप्त हुन्छ ? भन्ने जिज्ञासा हुनु पनि त्यत्तिकै स्वाभाविक भयो ।

त्यसो त जोगी हुन कसैले पनि राजनीति गरेको हुँदैन । राजनीति वा समाजसेवा करकापको काम त होइन । नगरौं भन्दा नगर्न पाइन्छ । जनताको आँखामा समाजसेवाको अभिनय गर्नेहरू किन यति लालायित हुन्छन् त यसतर्फ ? भनेर सोच्ने हो भने सजिलै उत्तर आउँछ उनीहरूको अन्तर्निहित चाहना भिन्दै छ । आज राजनीतिमा वा समाज सेवामा लागेकाहरू ठूलाठूला स्वार्थ लिएर आएका हुन्छन् । बाहिर समाजसेवाको ढ्वाङ भित्रभित्रै बेइमानीको धन्दा चलाउनेहरूबाट यी क्षेत्रहरू बद्नाम हुँदै गएका छन् । जोगी हुन त कुनै समाज चाहिँदैन । राजनीति पनि चाहिँदैन ।

समाजसेवा वा राजनीति गरेर जनताको हितमा निःशुल्क काम गरको छु भनेर समाजसेवीले पनि आडम्बर नगरौं अनि सरकारले पनि यस्ता कामको रकमकलम तोकिदिएर श्रमको सम्मान गर्ने वातावरण बनाऔं । यसो गरियो भने राजनीति वा समाजसेवाका नाउँमा अनियमित किसिमले काम गर्ने गराउर्ने अवस्था कम होला ।

कोही कसैले अरू कसैका लागि आफ्नो काम बिताएर किन सरिक हुनु ?उसका पनि बालबच्चा हुन्छन् । उसले पनि खानुपर्छ, लाउनुपर्छ, बस्नुपर्छ भन्ने शाश्वत यथार्थ पनि हामीलाई थाहा छ । अरूको भलो गर्न हिँड्नले आफूले पनि त खानुपर्छ । कुरा अत्यन्त जायज हो । कुरा आउँछराजनीति गर्नेहरूको पेशाको सुरक्षा हुन आवश्यक छैन ? के समाजसेवा भनेको निःशुल्क गर्न सम्भव छ ? खाली पेटमा समाजसेवा सम्भव छ ? त्यसो हुन सम्भव छैन ।

अब बरू एउटा निकास निकालौं समाजसेवा वा राजनीति गरेर जनताको हितमा निःशुल्क काम गरको छु भनेर समाजसेवीले पनि आडम्वर नगरौँ अनि सरकारले पनि यस्ता कामको रकमकलम तोकिदिएर श्रमको सम्मान गर्ने वातावरण बनाऔं । यसो गरियो भने राजनीति वा समाजसेवाका नाउँमा अनियमित किसिमले काम गर्ने गराउने वा बेइमानी गर्ने अवस्था बरू कम होला ।

अब हामीले बुझ्नुर्ने कुरा के हो भने यी पेशा र सेवामा रहेका मानिसहरूले पनि जागिरे व्यक्तिसरह घोषित रूपमै आफूले सेवा गरेवापतको पारिश्रमिक पाउनुपर्छ । धार्मिक उद्देश्यले मठ-मन्दिर, पाटीपौवा बनाउन अगि सर्ने धार्मिक अभियन्ताहरूले मन्दिर बनाउँदा मन्दिरको भौतिक गुणस्तर कमजोर बनाएर, भगवान्का मूर्ति वा प्रतिमा निर्माण गर्न छुट्याइएको रकमबाट कमिसन घुस खान नपरोस् । समाजसेवा गर्ने सामाजिक अभियन्ताले सामाजिक रूपान्तरणको अभियान चलाउँदा एनजिओ, आइएनजिओमार्फत आएको रकमबाट बिल मिलाएर आफ्नो खर्च धान्न नपरोस् । जनताको सुविधाको निम्ति बाटोघाटो वा पुलपुलेसा बनाउन बजेट निकासा गराउने राजनीतिकर्मीले पनि पुल वा बाटोको गुणस्तर घटाएर आफ्नो घरखर्चको रकम निकाल्न नपरोस् ।

त्यही काम गरेवापत प्राविधिकले नियमसम्मत पारिश्रमिक पाउँछ । फाइल सदर गर्ने हाकिमले नियमानुसारको पारिश्रमिक पाउँछ । काम गराउने ठेकेदार, मिस्त्री वा ज्यामीले नियमानुसारको पारिश्रमिक पाउँछन् तर त्यही योजना पार्ने जनप्रतिनिधिले विल मिलाउनुपर्छ । त्यसो त राजनीतिक नेतृत्व पाएका स्थानीय, प्रादेशिक र संघीय नेतृत्वका जनप्रतिनिधिलाई सरकारले भत्ताको व्यवस्था पनि गरेको छ तर त्यस्तो सुविधा पाउने नेतृत्व थोरै छन् समाजसेवा गर्ने समाजसेवी र जनसेवा गर्ने जनसेवक बढी छन् । त्यसैले यी पेशा वा सेवामा रहने मानिसले पनि सामाजिक, धार्मिक वा राजनीतिक अभियोग व्यहोर्न नपरोस् भन्नेतर्फ देशले सोच्नेबेला आएकै हो भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?