प्रवेश अनुमति पत्रका लागि चीन सकारात्मक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । रसुवागढी हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागले जनाएको छ । विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै विभाग महानिर्देशक झलकराम अधिकारीले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘चीनतर्फ कस्टम अथोरिटीसम्म कुरा लैजाने गरी नेपालस्थित चीनको राजदूतावासका सेकेण्ड सेक्रेटरीसँग बुधबार नै अध्यागमन विभागमा छलफल गरेको छु, उनीहरू यस विषयमा सकारात्मक छन्, चाँडै समस्याको समाधान हुनेमा हामी आशावादी छौँ ।’

गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्रसम्बन्धी कार्यविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको थियो । सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था भए पनि हालसम्म चालक, सहचालक तथा व्यवसायीले चीन प्रवेश अनुमति पत्र पाएका छैनन् ।

ADVERTISEMENT

चालकहरूले चीन प्रवेश अनुमति पत्र नपाउँदा नौ सय ६६ ट्रक कन्टेनरका चालकहरूले काठमाडौंबाट १३२ किलोमिटर दूरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पुर्‍याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दूरीमा रहेको केरुङ लैजान १५ हजार तिर्नुपर्ने व्यवस्थाको मजदुर संगठन र व्यवसायीले विरोध गर्दै आएका छन् । चालकलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउनअघि र लकडाउनपछि संगठन र जिल्ला प्रशासन कार्यालय रसुवा, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानाकर्षण गराएको थियो भने साउनको ३ गते अध्यागमन विभागलाई ज्ञापनपत्र बुझाउँदै समस्याको समाधानका लागि आग्रह गरिएको थियो । सरकारले २०७६ सालमै जारी गरेको कार्यविधि कार्यान्वयनका लागि हालैमात्र चीनका अधिकारीसमक्ष पुगेको र कुरा सकारात्मक रहेको कुराले आशावादी रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभएको छ । महँगो पैसा दिएर अपरिचित व्यक्तिको जिम्मा लाएर हाम्रा लाखौँको सवारीसाधन केरुङ पठाउनुपर्ने दिनको अन्त्य हुनेमा आशा गरेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताउनुभएको छ ।

उल्लेखित समस्याबाट चालक पीडित रहेकाले समस्या समाधानसँगै चालकको भौतिक सुरक्षामा समेत सरकारले चासो राख्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार चीनको भूभागमा विभिन्न बहानामा त्यहाँ पुग्ने नागरिकमाथि दुव्र्यवहार हुने, प्रशासनिक झमेला सिर्जना गर्ने कार्य बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?