घरेलु उद्योग संघ काठमाडौं रजत वर्षमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । घरेलु तथा साना उद्योग संघ काठमाडौं आइतबारदेखि रजत वर्षमा प्रवेश गरेको छ । सो अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योग बचाउने सरकारको मुख्य दायित्व भएको बताउनुभयो ।

साना उद्योग प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै उहाँले यस्ता उद्योग बचाएरमात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो ।

साना उद्योगलाई दिगो बनाउने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताउनुभयो । मौद्रिक नीतिमा समेत लघु, घरेलु तथा साना उद्योेगका विषय नसमेटिएकाले बैंकको दबाबले गर्दा उद्योगी उद्योग छाडेर हिँड्ने अवस्थामा पुगेको उहाँको गुनासो थियो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरूले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योेगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइँदा जटिल अवस्था सिर्जना भएको बताउनुभयो ।

ADVERTISEMENT

घरेलु तथा साना उद्योग संघ काठमाडौंका अध्यक्ष पदमकुमारी कार्कीले ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौंँ’ नारालाई महासंघका जिल्ला र पालिकास्तरबाट अभियानकै रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

देशकै अर्थतन्त्रको जगका रूपमा रहेका साना उद्योगका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसबाट व्यवसायी वञ्चित रहेको उहाँको गुनासो थियो । कार्यक्रममा महासंघका सल्लाहकार वासु गिरी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर रेग्मी, महासंघ बागमती प्रदेश संघका अध्यक्ष तारा चौलागाईं, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, घरेलु उद्योग कार्यालय काठमाडौंका प्रमुख मेघनाथ रिजाल, काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठ, महासंघ केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, संघका उपाध्यक्ष ईश्वरबहादुर गुरुङलगायतको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज