कोशी प्रदेशको मुख्यमन्त्रीमा थापाको ‘कमब्याक’

‘रेफ्री’लाई सत्तामा उक्लिने सिँढी बनाइयो

डिबी शर्मा
डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । सभामुख संसद्को ‘रेफ्री’ मानिन्छ । सभामुखको भूमिका सदनमा ‘रेफ्री’को जस्तो निष्पक्ष र तटस्थ हुनुपर्छ । सभामुखले सदनमा सबै राजनीतिक दलहरू र सदस्यहरूप्रति समदूरी र समान व्यवहार कायम राख्नुपर्छ । तर, कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतम यी सबै कुरालाई लत्याउँदै दलीय हैसियतमा प्रकट हुनुभयो । गत असार २१ गते सभामुख गौतम दलीय हैसियतमा हस्ताक्षर गरेर सत्ताको खेलमा सामेल हुनुभयो र सरकार बनाउन अघि सर्नुभयो । उहाँसहितको समर्थनमा प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभयो । तर, सर्वोच्च अदालतले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै थापाको नियुक्ति बदर गरिदियो ।

सभामुखको हस्ताक्षरकै कारण थापा मुख्यमन्त्री बनेको २२ दिनमै बाहिरिनुपर्‍यो । सर्वोच्चले ‘सभामुख पदमा निर्वाचित भइसकेपछि कुनै पनि प्रकारको राजनीतिक पक्षधरता कायम गर्न नहुने’ ठहर गरेको थियो । ‘सभामुखले प्रदेशसभामा ‘रेफ्री वा अम्पायर’ प्रकृतिको भूमिका निर्वाह गर्नुपर्दछ,’ सर्वोच्चले आदेशमा भनेको थियो,’ सभामुख वा सभाध्यक्षलाई निष्पक्ष र तटस्थ राख्ने अभिप्रायले नै नेपालको संविधानको धारा १८६मा अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने तर मतबराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिने व्यवस्था गरिएको हो ।’

‘रेफ्री वा अम्पायर’को भूमिकामा रहनुपर्ने सभामुख दलीय हैसियतमा सरकार बनाउन अघि सरेपछि विवादमा तानिनुभयो । उहाँले सर्वोच्चको आदेशसँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठे पनि एक साता चुप लागेर बस्नुभयो । एकसाता नबित्दै राजीनामा दिएर फेरि दलीय हैसियतमा सरकार गठनमा सामेल हुनुभएको छ । उहाँसहितकै समर्थनमा थापा फेरि कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका बेला कोशीमा भइरहेको राजनीतिक परिघटनाले संघीयताविरोधी मतलाई थप मलजल गरेको छ । कोशी प्रदेश अरू प्रदेशभन्दा सरकार फेरिरहने प्रदेशसमेत बनेको छ । अघिल्लो कार्यकालमै कोशी प्रदेशले तीनजना मुख्यमन्त्री जन्माएको थियो । पछिल्लो कार्यकालमा पनि एक वर्ष नपुग्दै कोशीले तीनपटक मुख्यमन्त्री परिवर्तन गरिसकेको छ ।

ADVERTISEMENT

पदमुक्त भएको एकसाता नबित्दै फेरि मुख्यमन्त्री नियुक्त
सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको एकसाता नबित्दै कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको छ । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार पुनः थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । गत असार २१ गते प्रदेशसभा सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गर्नुभएका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएको छ । ९३ सदस्यीय कोशीमा बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन चाहिन्छ । माओवादीबाट गौतम सभामुख पदमा रहुन्जेल सत्ता गठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उहाँलाई राजीनामा गराइएको हो । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसद छन् । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराहृन ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आहृवान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?