यज्ञराज जोशी/हिटा
धनगढी । बाँच्नुको उद्देश्य के ? कसका लागि बाँच्ने ? आफ्ना लागि वा समाजका लागि ? मरेर छोड्ने के ? यश, कीर्ति वा सम्पत्ति ? जीवनमा आफैंलाई कतिले यी प्रश्न गर्छन् होला ? जसले आफूलाई यी प्रश्न गर्छ, त्यसै दिनदेखि ऊ समाजका लागि बाँच्छ । तिनैमध्येका एक हुनुहुन्छ, पत्रकार दीर्घराज उपाध्याय ।
यही प्रश्नले उहाँ समाजका लागि बाँच्नुभयो । र त सुदूरपश्चिममा पत्रकारिता र सामाजिक क्षेत्रमा अलग पहिचान बनाउनुभयो । फरक पहिचान बनाउनुभयो ।
अढाई दशक अघि उहाँले पत्रकारिता सुरु गर्दा देशमा माओवादीको सशस्त्र संघर्ष फैलिँदै थियो । उसले आफ्ना सेनालाई लौरोलाई हतियारका रूपमा प्रयोग गरेर तालिम दिएको दृश्य उहाँको मानसपटलमा अझै ताजै छ । माओवादीले लौरो र भरुवा बन्दुकबाट सुरु गरेको युद्ध एम १६ र एके ४७ सम्म पुग्दा उहाँ पनि पत्रकारितामा खारिइसक्नुभएको थियो ।
सशस्त्र युद्धका क्रममा राज्य र माओवादी दुवै पक्षबाट पत्रकारहरू प्रताडित भए । कुटिए । काटिए । विस्थापित भए । तर, उहाँ अविचलित रूपमा पत्रकारितामा टिकिरहनुभयो । त्यतिमात्र होइन, पत्रकारहरूको भौतिक सुरक्षा र पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनुभयो ।
जनकपुरमा पत्रकार उमा सिंह मारिँदा धनगढीमा उहाँको नेतृत्वमा पत्रकारहरू विरोधमा सडकमा उत्रिएका थिए । त्यसबेला देशभरिमा सडकमा पहिलो विरोध प्रदर्शन गर्ने नेपाल पत्रकार महासंघ कैलाली थियो । जसको उहाँ अध्यक्ष हुनुहुन्थ्यो । उहाँ पत्रकारहरूमाथि हुने आक्रमणमा कहिल्यै चुप लागेर बस्नुभएन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको बाँच्न पाउने अधिकारको रक्षाका लागि उहाँ सधैँ लडिरहनुभयो ।
कञ्चनपुरमा पत्रकार प्रकाश ठकुरी बेपत्ता पारिनुभयो । उहाँले निरन्तर ठकुरीको अवस्था सार्वजनिक गर्न राज्यलाई दबाब दिइरहनुभयो । र, ठकुरीको अपहरणमा संलग्न भनिएका माओवादी कार्यकर्ताहरूलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्न उहाँले आवाज उठाइरहनुभयो ।
माओवादी कार्यकर्ताको उपचारमा सहयोग गरेको भन्दै कैलालीको लम्कीमा पत्रकार नगेन्द्र उपाध्यायलाई सेनाले नियन्त्रणमा लिई बेपत्ता पारेपछि उहाँले खोजी सुरु गर्नुभयो । र, पछि उपाध्यायलाई सेनाले प्रहरीलाई बुझायो । प्रहरी हिरासतमा रहेका उपाध्यायलाई उहाँले आफ्नो जमानीमा मुक्त गराउनुभयो । र, सुरक्षाका लागि काठमाडौं पठाउनुभयो । यतिबेला उपाध्याय सुर्खेतमा पत्रकारितामा जम्नुभएको थियो ।
कैलालीको अत्तरियाबाट बेपत्ता पारिएका पत्रकार जगत्प्रसाद (जेपी) जोशीको केही दिनपछि मालाखेतीको सामुदायिक वनमा कंकाल फेला प¥यो । उहाँको अपहरण तथा हत्यामा संलग्नहरूको खोजी तथा कारबाहीका लागि उहाँको नेतृत्वमा कैलालीका पत्रकारहरूले थालेको आन्दोलनमा देशभरिका पत्रकारहरूले ऐक्यबद्धता जनाएका थिए । र, प्रहरी बाध्य भएर पत्रकार जोशीको अपहरण तथा हत्यामा संलग्न तीनजना व्यक्तिलाई पक्राउ ग¥यो । त्यतिमात्र होइन, सरकारले जोशीको हत्याको घटनाको छानबिन गर्न समिति बनायो । समितिले छानबिनका क्रममा ३१ लाख रुपैयाँ खर्च गर्दा मृतक जोशीका परिवारले एक रुपैयाँ पनि सहयोग तथा क्षतिपूर्ति नपाएपछि उहाँको नेतृत्वमा फेरि आन्दोलन सुरु भयो । र, सरकार मृतक जोशीका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन बाध्य भयो ।

बेहडाबाबा मन्दिर र सहदेवा, महादेवा तालको स्रोतको खोजीमा लेख लेखेकै कारण माओवादी कार्यकर्ताबाट पत्रकार लक्की चौधरी २०६५ जेठ १३ गते मन्दिर परिसरमा कुटिनुभयो । त्यसको भोलिपल्ट जेठ १४ गते उहाँको नेतृत्वमा पत्रकारहरूको सुरक्षा र दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको हाताभित्र पुगेका चौधरीमाथि पुनः आक्रमण भयो । प्रशासनभित्रै पत्रकार सुरक्षित नभएको भन्दै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा रातभरि धर्ना दिने निर्णय गर्नुभयो । सुरक्षाको माग गर्दै पत्रकारहरूले पूरै रात प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिताएका थिए भने माओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिँदै जिल्ला प्रशासन घेरेका बेला उहाँले चौधरीलाई एयरपोर्ट पु¥याउँदै काठमाडौं पठाउनुभएको थियो । त्यसपछि चौधरी कहिल्यै धनगढी फर्कनुभएन । आफ्नो ज्यान जोगाएको श्रेय अहिले पनि चौधरी उपाध्यायलाई दिनुहुन्छ ।
पत्रकार कर्ण कुँवरमाथि टीकापुरमा भएको आक्रमण, पत्रकार सुशील ढुंगानालाई सुख्खडमा भएको आक्रमण तथा पत्रकारहरूको सुरक्षाका लागि उहाँ सधैँ लड्नुभयो । कञ्चनपुरका पत्रकार महासंघका पूर्वअध्यक्ष कर्ण बोहराकी पत्नीको दुवै मिर्गाैला फेल भएपछि उपचारका लागि उहाँको नेतृत्वमा थालिएको आर्थिक सहयोग संकलन अभियानमा केही दिनमा १२ लाखभन्दा बढी रुपैयाँ संकलन भएको थियो ।
सोही कारण नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्ष हुँदा प्रेस स्वतन्त्रता, पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षा र क्षमता अभिवृद्धिका लागि निर्वाह गरेको योगदानको मूल्यांकन गर्दै उहाँलाई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उत्कृष्ट अध्यक्षका रूपमा प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहमा सम्मान गरेको थियो । उहाँ यो सम्मान पाउने पहिलो अध्यक्ष हुनुहुन्छ ।
साहित्यमा अनुराग, महिलाका सवालमा अनामिका
विद्यालयस्तरमा हुँदा उहाँ कविता लेख्नुहुन्थ्यो । वादविवाद प्रतियोगितामा विद्यालयका तर्फबाट सहभागी हुनुहुन्थ्यो । पत्रकारितासँगै साहित्य सिर्जनामा अभिरुचि राख्ने उहाँको एउटा गजल र एउटा कविता संग्रह प्रकाशित छ ।
५० को दशकमा देशभरि हवाई साहित्यको लहर थियो । उहाँ पनि त्यही लहरमा समर्पित हुनुभयो । विद्यालयस्तरको पढाइमा अनुरागका नामले गजल र कविताहरू लेख्न थाल्नुभएका उहाँले कलेज भर्ना भएपछि त्यसलाई निरन्तरता दिनुभयो । कैलाली बहुमुखी क्याम्पसमा प्रमाण पत्रमा अध्ययनरत उहाँको टिमले नवरत्न साहित्यिक त्रैमासिक पत्रिका निकाल्थ्यो । साहित्यप्रतिको रुचिले नै उहाँलाई पत्रकारितामा डोर्यायो ।
उहाँले डेढ सयभन्दा बढी व्यक्तिहरूको जीवनी, संघर्ष र सफलताको कथा लेख्नुभएको छ । जो ओझेलमा हुनुहुन्थ्यो । तिनको योगदानलाई उजागर गर्नुभयो । पाँच सय जनाभन्दा बढीको अन्तर्वार्ता लिनुभएको छ । सुदूरपश्चिमको सरकार, यहाँको सम्भावना र अवसरलाई लिएर दर्जनौँ अनुसन्धानात्मक लेखहरू लेख्नुभएको छ ।
अमेरिकामा ओझेलमा परेको बझाङी भूगोलविद् प्रा.डा. तुलसीराम जोशी, पोल्याण्डमा ख्याति कमाएका डोटीका खगोलशास्त्री गोपाल भट्ट, इण्डोनेसियामा भूमिगत मेट्रो र हाइड्रो निर्माणमा जमेका कैलालीका इञ्जिनियर टंक पन्त, न्यूयोर्कमा जमेका कैलालीका जीवन बमका बारेमा प्रेरणादायी संघर्ष र सफलताको कथा लेखेर उहाँले सबै माझ चिनाउनुभयो ।
त्यसबाहेक सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य र विभिन्न क्षेत्रमा योगदान पुर्याएका प्रा.डा. हेमराज पन्त, शिवहरि मुडभरी, डा. शिवदत्त जोशी, डा. गणेशबहादुर सिंह, डा. सुभेषराज कायस्थ, डा. विद्याप्रसाद पन्त, उमादेवी बादी, दार्चुलाका शिक्षक रामदत्त जोशी, समाजसेवी स्वर्गीय बद्रीनाथ भण्डारीलगायत दर्जनौँ व्यक्तिहरूका बारेमा उहाँले खोजमूलक र प्रेरणादायी कथा लेख्नुभएको छ ।

महिलामाथि हुने भेदभाव, हिंसा र दुव्र्यवहारले उहाँलाई पोल्थ्यो । र त धनगढीको एक पत्रिकामा तिमी पुरुषहरू किन यति हठी शीर्षकको स्तम्भमा अनामिकाका नामबाट उहाँले पाँच वर्षसम्म लेख्नुभयो । अनामिका र तिमी पुरुषहरू किन यति हठी शीर्षकको स्तम्भ ६० को दशकको सुरुवातमा धनगढीमा निकै चर्चित थियो ।
२०५५ सालको अन्त्यतिर उहाँ सेती समाचार दैनिकमा संवाददाताका रूपमा पत्रकारितामा प्रवेश गर्नुभयोे । त्यसको केही समयपछि उहाँले नयाँ सडक पत्रिकाको धनगढी संवाददाताका रूपमा नियुक्ति पाउनुभयो । २०५८ साल जेठ १९ देखि राजधानी दैनिकमा काम गर्न थाल्नुभयो । यस अवधिमा उहाँले इमेज टेलिभिजनमा पनि धनगढीबाट काम गर्नुभयो । कम्युनिकेशन कर्नरको उहाँ सुदूरपश्चिमको पहिलो संवाददाता हुनुहुन्थ्यो ।
उहाँले धनगढीबाट हिमाल खबर र नेपाल म्यागजिनमा लेख्नुभयो । विदेशका अनुभवहरूलाई नेपाल, हिमाल, कान्तिपुर र नेपाली टाइम्समा लेख्नुभयो ।
विगत डेढ दशकदेखि उहाँ सुदूरपश्चिमकै अग्रणी सञ्चारगृह पश्चिम टुडे सञ्चालकको जिम्मेवारीमा हुनुहुन्छ । उहाँकै नेतृत्वमा सुदूरपश्चिमको पहिलो ब्रोडसिट रंगीन पत्रिका, एक हजारवाट क्षमताको रेडियो पश्चिम टुडे र पश्चिम टुडे डटकम अनलाइन न्युज पोर्टल सञ्चालनमा छ ।
अमेरिकी सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा उहाँ इन्टरनेशनल भिजिटर्स लिडरसिप प्रोग्राम(आइभिएलपी) मा २०२२ अगष्ट १२–सेप्टेम्बर २ (तीन साता लामो) अमेरिका भ्रमणमा जानुभएको थियो । अमेरिकी सरकारको निमन्त्रणामा अमेरिका जाने उहाँ सुदूरपश्चिमको पहिलो पत्रकारसमेत हुनुहुन्छ ।
त्यसबाहेक अन्तर्राष्ट्रियस्तरका सेमिनार, अवार्ड, फेलोसिप, र रिपोर्टिङका लागि धनगढीबाट संसारका २० भन्दा बढी देशमा पुग्नुभएका उहाँ जहाँ गए पनि आफूलाई धनगढीयनका रूपमा चिनाउनुहुन्छ । आफ्नो पेशा र कर्मथलोप्रति इमानदार हुन जति जरुरी छ । त्यति नै त्यो पेशा र थलोलाई माया गर्नुपर्ने उहाँको भनाइ छ । ‘मैले जे पाएँ नाम, सम्मान, पहिचान र अवसर । त्यो सबै पत्रकारिता र धनगढीबाट पाएको हँँु । म त्यो कसरी बिर्सिन सक्छु,’ उहाँ भन्नुहुन्छ ।
कोभिडमा सबैभन्दा अगाडि
सन् २०२० को सुरुवातमा कोभिड-१९ को पहिलो लहरमा उहाँ आफ्ना साथीहरूसँगै भारतबाट भोकभोकै आइरहेका नागरिकहरूलाई खाना खुवाउन रातदिन नभनी सीमामा खटिनुभयो । झण्डै ३० हजारजनालाई निःशुल्क खानापानी खुवाउने कार्यको अगुवाइ गर्नुभएको थियो । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई सयौं पिपिई सेट, मास्क, सेनिटाइजर र महिलाहरूलाई हाइजेनिक पर्पल ब्याग वितरण गर्नुभयो ।
उहाँको टिमले हृयुमानिटी फाउण्डेसन नेपालमार्फत् पहाडी जिल्लामा पिसिआर मेसिन स्थापना गर्यो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल उद्घाटन गरेको पिसिआरको उद्घाटन समारोहमा देउवा र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टसहितका वक्ताहरूले त्यस कार्यको उच्च प्रशंसा गर्नुभएको थियो ।
सुदूरपश्चिमका सरकारी अस्पताल र बिरामीहरूलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन थाल्यो । सुदूरपश्चिममा अक्सिजन प्लान्ट नहुँदा उहाँको टिम अक्सिजन लिन नेपालगञ्ज, भैरहवा, चितवन हुँदै विराटनगरसम्म पुग्यो । त्यहाँबाट अक्सिजन भरेर ल्याएका सिलिण्डर धनगढीमा स्थापना गरिएको अक्सिजन बैंकबाट सर्वसाधारण र अस्पतालहरूलाई निःशुल्क वितरण गर्नुभयो ।
सामाजिक क्षेत्रमा अगुवाइ
पत्रकारितासँगै सामाजिक कार्यमा पनि उहाँ सधैँ सक्रिय रहनुभयो । रोटरी क्लब धनगढीको संस्थापक सचिव रहनुभएका उहाँले रोटरीको अध्यक्ष हँुदा थुपै्र सामाजिक कार्यको अगुवाइ गर्नुभयो । उहाँको पालामा कैलालीको गोदावरी नगरपालिका–११ वीरेन्द्रनगरमा करिब दुई करोड रुपैयाँको लागतमा खानेपानी योजनाको निर्माण सुरु भयो । त्यो योजना सम्पन्न भएपछि झण्डै एक हजार परिवारले शुद्ध पिउने पानी खान पाएका छन् ।
महाभूकम्पका बेला पनि ठूलोमात्रामा खाद्यान्न, औषधि लिएर चिकित्सकसहितको १२ जनाको टोली लिएर भोलिपल्ट उहाँ भूकम्पको केन्द्रभूमि गोरखा पुग्नुभयो । त्यसलगत्तै सिन्धुपाल्चोक र नुवाकोटमा पनि खाद्य सामग्री पठाउनुभयो । उहाँले धनगढी आसपासमा हावाहुरीले ठूलो क्षति पुर्याउँदा अमेरिका र पोर्चुगलमा रहेका साथीहरूको सहयोगमा ४४ वटा घरको पुनर्निर्माण गर्नुभएको छ ।
बझाङको केदारस्यु, अछामको कैलाशखोला क्षेत्रमा बाढीपहिरोले धनजनको क्षति हुँदा उहाँले सहयोग सामग्री पठाउनुभएको थियो । यसरी उहाँ पत्रकारितासँगै सामाजिक कार्यमा सधैँ सक्रिय रहनुभयो । अझै सक्रिय हुनुुहुन्छ । तर, पुरस्कार र सम्मानमा उहाँको कहिल्यै रुचि भएन । पत्रकारिता र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थुप्रै संघसंस्थाले उहाँलाई सम्मान दिने निर्णय गरे पनि उहाँले सम्मान थाप्नुभएन । यद्यपि सम्मानका लागि योग्य ठानेकोमा धन्यवाद दिनुभयो ।
उहाँ काठमाडौं उपत्यकाबाहिरका सशक्त पत्रकार हुनुहुन्छ । मोफसलको पत्रकारिताबिना काठमाडौंको पत्रकारिता अधुरो हुने तर्क गर्नुहुन्छ । प्रदेशमा बस्ने पत्रकार साथीहरू पनि हीनताबोध र लघुताभासमा बाँच्न जरुरी नभएको उहाँको तर्क छ । आफ्नो क्षमता अभिवृद्धि गर्न सक्याँै, मिहिनेत गर्न सक्याँै भने प्रदेशमै नाम, दाम र पहिचान भएको उहाँ बताउनुहुन्छ ।
आफ्ना लागि त जनावर बाँच्छन्, मान्छे त समाजका लागि बाँच्ने हो । सबैका लागि बाँच्ने हो । उहाँको जीवनको सार एउटै छ– खान पुगोस्, दिन पुगोस् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा