काठमाडौं । सगरमाथासहित विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२औँ दिनमा आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जेन शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । तेन्जेन र क्रिस्टिनले बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेसँगै उक्त कीर्तिमान कायम गर्नुभएको हो । उहाँहरूले आठ हजार ६११ मिटरको केटु हिमाल बिहीबार बिहान १०ः४५ बजे सफल आरोहण गरेको काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले जानकारी दिनुभयो । तेन्जिङ उहाँकै कम्पनीमा गाइडका रूपमा कार्यरत हुनुहुन्छ ।
योसँगै उहाँहरूको नाममा संसारकै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनेको छ । क्रिस्टिनले १४ वटै हिमालहरू तेन्जेन शेर्पासँगै आरोहण गर्नुभएको हो । यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाउनुभएको थियो । तेन्जेन संखुभासभा जिल्लाका हुनुहुन्छ भने क्रिस्टिन नर्वेकी नागरिक हुनुहुन्छ ।
विश्वकै १४औँ अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गर्नुभएको थियो । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब चार दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि पर्नुभएको छ । आरोहणअघि उहाँ क्रस-कन्ट्री स्कीकी खेलाडी हुनुहुन्थ्यो । तेन्जेन र क्रिस्टिनले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चोयु, शिशपाङ्मा, नंगा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गर्नुभएको छ ।
पत्रकार श्रेष्ठद्वारा केटु हिमालको आरोहण
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटु हिमालको सफल आरोहण गर्नुभएको छ । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटुको सफल आरोहणसँगै उहाँले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । पूर्णिमा एटके एक्सपिडिसन्सबाट अन्य सहयोगीसहित माउन्ट केटु चढ्न पाकिस्तान पुग्नुभएको थियो । यसअघि उहाँले नेपालमा रहेका आठ हजार मिटर उचाइका सातवटा हिमाल आरोहण गरिसक्नु भएको छ । आठ हजार ६११ मिटर अग्लो केटु हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा