काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल बिमक संघ (एनआइए) बीच जलविद्युत् आयोजनाको प्रिमियमबारे छलफल भएको छ । प्रिमियम विवादका कारण अधिकांश आयोजनाको बिमा नवीकरण हुन सकेको छैन । सोही सन्दर्भमा आयोजित कार्यक्रममा बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले पुनर्बिमा कम्पनीले नेपाली हाइड्रोपावरको पुनर्बिमा गर्नै नमान्दा समस्या आएको बताउनुभयो । ऊर्जा क्षेत्रको विकास होस् भन्ने चाहना हुँदाहुँदै पनि अहिलेको प्रिमियमा बिमा गर्दा लागत पनि उहाँले दाबी गर्नुभयो । इप्पान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले गर्ने व्यवसायमा नाफा खोज्नुपर्ने तर कति नाफा राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिमा कम्पनीले एकातिर प्रिमियम बढाउने र अर्कोतिर जोखिम क्षेत्र घटाउँदै जाने कुरा स्वीकार्न सकिन्न, हामी बढी प्रिमियम तिर्न पनि तयार छौँ तर भनेको बेला दाबी भुक्तानी पाउने, धेरैभन्दा धेरै कुराको जोखिम बहन गर्ने पोलिसी ल्याउनुस् ।’
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नयाँ प्रिमियमदर स्वीकार्य नहुने बताउनुभयो भने इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले ६० लाखको गाडी किनेर व्यवसाय गर्ने व्यवसायीले दुर्घटनामा मान्छे नै मारे पनि ढुक्कसँग बस्न सक्ने गरी सम्पूर्ण जोखिम बिमा कम्पनीले लिए जस्तै जलविद्युत्मा पनि सबै जोखिम ट्रान्सफर गर्न चाहेको बताउनुभयो । यसअघि प्रतिहजारको दुई रुपैयाँमात्र रहेको जलविद्युत् बिमाको प्रिमियमदर अहिले साढे सात रुपैयाँसम्म बनाउने प्रस्ताव बिमा प्राधिकरणमा गरिएको नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताउनुभयो । एकैपटक साढे सात रुपैयाँ प्रिमियम पुर्याउँदा जलविद्युत् प्रवद्र्धकलाई पनि मर्का पर्ने भएकाले त्यसलाई साढे पाँच रुपैयाँ कायम गरेर जान सकिने बताउनुभयो ।
प्रवद्र्धकहरूले भने समितिको प्रतिवेदनअनुसार बढे पनि घटे पनि प्रिमियम तिर्न तयार रहेको भन्दै अहिलेकै अवस्थामा पोलिसी नवीकरण नगर्ने बताएका थिए । उक्त छलफलमा बिमाको वैज्ञानिक प्रिमियम कायम गर्न दुवै पक्षबाट तीन/तीनजना र दुईजना विज्ञ सदस्यसहितको समिति बनाउने सहमति भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements